मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा


१९ पुस २०७६, शनिबार


मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताए । सडक क्षेत्रमा परेका व्यक्तिलाई मुआब्जा दिन र सो ठाउँमा काटिएको जग्गा जग्गाधनी पुर्जाबाट हटाएपछि फिर्ता दिने गरी लिएको पुर्जा एक दशक बितिसक्दा पनि फिर्ता नदिएको उनले गुनासो गरे । उनले भने, ‘सडक क्षेत्रमा परेको जग्गाको कित्ताकाटका लागि दिएकाले जग्गाधनी पुर्जा एक दशकदेखि पाएको छैन ।’

‘सडक डिभिजनले जिल्ला मालपोत कार्यालयमा बुझाएको खबर मात्र पाएका छु, लालपुर्जा भने दिएको छैन’, रौलेले भने । उनीजस्तै सडकमा परेर काटिएको जग्गाको लालपुर्जा सोही ठाउँका रामप्रसाद उपाध्यायले समेत नपाएको बताए । ‘डिभिजन सडकले मुआब्जाका लागि लालपुर्जा चाहियो भनेर दियौँ, तर काहाँ छन् कुनै पत्ता छैन’, उपाध्यायले बताए।

साँफे–मार्तडी राजमार्ग सडक छेउमा रहेको जग्गाको आधा भाग काटिएका छ । त्यस्तै बडीमालिका नगरपालिका साविकको बूढीगङ्गा गाविस–६ का स्थानीय रङ्ग बडुृवालले पनि मुआब्जाका लागि दिएको लालपुर्जा अझै पाउन सकेका छैनन् । सडकमा खेतीयोग्य जमिन काटिएपछि मुआब्जा पाए पनि सडक निर्माण सकिएको वर्षौँ बित्दा पनि उक्त जग्गाधनी पुर्जा नपाएको बडुवालले बताए । लालपुर्जा नहुँदा जग्गा धितो राखेर ऋण निकाल्न समस्या भएको बडुवालको भनाइ रहेको छ । आर्थिक अवस्था कमजोर भएकाले छोराछोरी पढाउन र व्यवसाय गर्न लालपुर्जा अनिवार्य धितो राख्न चाहिने भएकाले सो नहुँदा ऋण लिन कठिन भएको बडुवालले दुखेसो गरे ।

साँफे–मार्तडी राजमार्ग सडकमा परेका बूढीगङ्गा नगरपालिका साविकका बाह्रविसको इकडीगाड हुँदै कुल्देवमाडौँको बार्जुगाड, बाम्का, फालासै र बह्मतोला गाविसको सेरा, बल्दे अमकोट र बडीमालिका नगरपालिकाका साविकको बूढीगङ्गा र मार्तडी गाविसमा रहेका तिपाडा, रिला, जडांगा, रापक र मार्तडीका गरी २२५ बढी परिवारका जग्गाधनी प्रमाण पुर्जा जिल्ला मालपोत कार्यालयमा थन्किएका छन् ।

सडक डिभिजन कार्यालय साँफेका अनुसार राजमार्ग सडकमा परेका जग्गाधनीलाई मुआब्जा बुझाएको र जग्गाको कित्ताकाट गर्नका लागि जिल्ला मालपोत कार्यालय बाजुरामा पत्रसहित जग्गाधनीका प्रमाण पुर्जा बुझाएको जनाएको छ । मालपोत कार्यालय बाजुराले नै जग्गाधनीका प्रमाणपत्र बुझाउन ढिलाइ गरेको बताइएको छ ।

सडक डिभिजन कार्यालयले २२५ जना बढीको जग्गाधनी प्रमाण कार्यालयको लिखितपत्रसहित बुझाएको भए पनि सडकको क्षेत्रमा जग्गाको कुनतर्फ काटिएको हो भन्नेबारेमा यकिन नभएकाले उक्त प्रमाणपत्र दिन नसकेको मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मण पाण्डेले बताएका छन् । सडक डिभिजनको त्रुटिका कारण जग्गाधनीको प्रमाणपत्र बुझाउन नसकेको पाण्डेले स्वीकार गरेका छन् । ‘सडकमा परेका जग्गा काटिएको क्षेत्र स्पष्ट भए यो समस्या नै आउने थिएन’, पाण्डेले भने । सडक डिभिजन साँफेलाई काटिएका जग्गाको लगत माग्दा लगत नै नदिएको मालपोत प्रमुख पाण्डेको भनाइ रहेको छ । सडकमा परेका जग्गाको नीतिगत रुपमा नक्सा नभएकाले जग्गाधनी पुर्जा दिन नमिल्ने पाण्डे बताउँछन्।

कित्ताकाटमा प्राविधिको नै गल्ती भएकाले नापी कार्यालयले सडकमा परेका जग्गाको क्षेत्र खुलाउने गरी पुन सर्भे गर्नपर्ने आवश्यक रहेको पाण्डेको भनाइ छ । मालपोत कार्यालयमा विगतदेखि थन्किएका जग्गाधनीका प्रमाण पुर्जा फिर्ता गर्न नापी कार्यालय बाजुराबाट अमिनले सर्भे गरेर मात्र दिन सकिने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए ।

नापी कार्यालयमा कर्मचारी अभावका कारण सडकमा परेका जग्गाको पुनः सर्भे गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। सडकको क्षेत्र खुलाउने गरी तत्काल अमिन खटाएर जग्गा प्रमाण पुर्जा फिर्ता गर्ने प्रतिवद्धता उनले जनाए ।

साँफे–मार्तडी राजमार्ग सडकमा परेर काटिएका जग्गाको पुनः सर्भे गराउन सडक डिभिजन कार्यालय साँफे तयार रहेकाले बिदाको समयमा सर्भे गर्ने तयारी थालिएको प्रजिअ न्यौपानेको भनाइ थियो । साँफे–मार्तडी राजमार्ग सडकखण्ड निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बितिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस