‘अपाङ्गता भएकाको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्छ’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘अपाङ्गता भएकाको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्छ’


११ पुस २०७६, शुक्रबार


विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश समितिद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी तथा अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमको १० वटा विरुवामा पानी राखेर उद्घाटन गरियो ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिका सोचलाई शिक्षा, सीप, उत्पादन, बजार, रोजगारी र मुलुकको समृद्धिसँग जोड्न आग्रह गरे। प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका महिलामा समानता र सक्षमता वृद्धि भएकोमा खुशी व्यक्त गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले १० भिन्न प्रकृतिका अपाङ्गता भएकाहरुलाई सीपमूलक तालीम व्यवस्था गरिने जानकारी दिए । उनले मोरङको धनपालथान गाउँपालिकामा ११ विघा क्षेत्रमा निर्माण गरिने ज्येष्ठ नागरिकगृहमा एउटा अपाङ्ग तालीम केन्द्र यस वर्षदेखि सञ्चालन गरिने जानकारी दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले नगर क्षेत्रमा निर्माण गरिने फूटपाथ र सडक अपाङ्गमैत्री हनुपर्नेमा जोड दिए । राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा अपाङ्गता भएका व्यक्तिलाई छुट्याइएको पाँच प्रतिशत आरक्षण नहटाउन आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस