नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन


२९ मंसिर २०७६, आइतबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आइतबारबाट सुरु भएको छ।

बैठकको सुरुमै अध्यक्ष प्रचण्डले बैठकको कार्यसूचीबारे अवगत गराएका थिए। उनले प्रस्तुत गरेको पाँच वटा कार्यसूचीमाथि सामान्य छलफल भएपछि बैठकका लागि एजेन्डाका रुपमा तय भएका थिए।

त्यसपछि प्रचण्डले गरेको प्रधानमन्त्रीको स्वास्थ्य लाभको प्रस्ताव बैठकले पारित गर्‍यो।

बैठकमा प्रचण्डले अध्यक्षद्वयको तर्फबाट १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। ‘१६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा सात वटा उपशीर्षक रहेका छन्’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘ती शीर्षकहरुमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारको सामान्य समीक्षा, उपचुनावको समीक्षा, आगामी कार्ययोजनासँग सम्बन्धित कार्यक्रमहरु र यसअघि सचिवालयले गरेका निर्णयहरुको अनुमोदन रहेका छन्।’

बैठक ठीक एक वर्षपछि सुरु भएको र केही महत्त्वपूर्ण एजेन्डाहरु रहेका झलनाथ खनालले बताए।

‘सबैभन्दा महत्त्वपूर्ण एजेन्डा राजनीतिक प्रतिवेदन अध्यक्षले प्रस्तुत गर्नुभयो’, उनले भने, ‘विधान संशोधनको प्रस्ताव महासचिवले प्रस्तुत गर्नुभएको छ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनबारे संक्षिप्त समीक्षा गरेका थिए। स्थायी समिति बैठक पनि धेरै ढिला सुरु भएको भन्दै कमजोरी भएको उनले बताएका थिए।

‘पार्टी बैठक ढिला भएको छ। यसमा गम्भीर त्रुटीहरु छन्। यसलाई आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो’, बैठकपछि भीम रावलले भने।

आजको बैठकमा कुनै पनि सदस्यले आफ्नो धारणा राखेका छैनन्।

आइतबारको बैठक सकिएको छ। बैठक सोमबार बिहान ११ बजे पुन बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस