स्वास्थ्यकर्मी रिहाईको माग गर्दै गृह मन्त्रालयलाई ज्ञापन पत्र « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यकर्मी रिहाईको माग गर्दै गृह मन्त्रालयलाई ज्ञापन पत्र


२६ मंसिर २०७६, बिहिबार


डोटी । जिल्लाको जोरायल गाउँपालिका–१ स्वास्थ्यचौकीमा खोपका कारण शिशुको मृत्यु भएपछि पक्राउ परेका स्वास्थ्यकर्मी हरिदत्त भट्टको रिहाइको माग गर्दै नेपाल स्वास्थ्यकर्मी संघ डोटीले आज प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।

खोपका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय डोटीमा दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका भट्टको रिहाइको माग गर्दै संघले ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष अर्जुन बलायरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्वास्थ्यकर्मी भट्टलाई पीडितपक्षले दिएको किटानीको आधारमा बिनाकारण हिरासतमा लिँदा सिङ्गो देशभरिका स्वास्थ्यकर्मीको मनोबल घटेको उल्लेख छ ।

ज्ञापनपत्रमा उक्त घटनाको अनुसन्धानका लागि नेपाल स्वास्थ्यकर्मी संघ डोटीले पूर्णरूपमा सहयोग र समन्वय गर्ने जनाइएको छ । उक्त घटना खोप ऐन निमावलीअनुसार प्रत्येक बालबालिकाको खोप सेवा लिने अधिकार र स्वास्थ्यकर्मीले खोप सेवा दिने व्यवस्था ऐनअनुसार रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्यकर्मीमाथि बिना कसूर मुद्दा दर्ता गरिएकाले संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष अर्जुन बलायरले बताए । उनले भने, ‘खोप ऐन निमावलीअनुसार अनुसन्धान अघि बढाउनुपर्ने ठाउँमा मुद्दा दर्ता गर्दा हाम्रो मनोबल गिरेको छ, स्वास्थ्यकर्मी भट्टलाई तत्काल रिहाइ गर्नुपर्छ ।’ उनले स्वास्थ्यकर्मी भट्टलाई रिहाइ नगरिए संघर्षका कार्यक्रम अघि बढाउने बताए ।

यही मङ्सिर १७ गते खोप लगाएका जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाति प्रवीण मल्लको मृत्यु भएको थियो । मृतक शिशुलाई घण्टेश्वर स्वास्थ्यचौकीअन्तर्गतको खार खोप केन्द्रमा स्वास्थ्यकर्मी भट्टले खोप लगाएका थिए ।

मृतक शिशुका आफन्तले खोपकै कारण मृत्यु भएको भन्दै प्रहरीमा स्वास्थ्यकर्मी भट्टका विरुद्ध किटानी जाहेरी दिएलगत्तै प्रहरीले भट्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस