माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ चोरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ चोरी


११ मंसिर २०७६, बुधबार


काठमाडौं । माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ चोरी भएको पुष्टी भएको छ । नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट काठमाडौंका बैंकमा भएको चोरीमा थप १० लाख रुपैयाँ अभियुक्त समूहको हातमा पुगेको देखिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले प्रकरणमा संलग्न भएको आरोपमा बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको सार्वजनिक गरेको थियो । तर, अनुसन्धान अधिकृतलाई साँझ माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना प्राप्त भएको जनाईएको छ ।

कसको खाताबाट रकम झिकिएको छ भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहे पनि प्रारम्भमा एउटै समूहले रकम निकालेको भेटिएको अनुसन्धान अधिकृतले बताएका छन् ।

प्रहरीले काभ्रेका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरेलाई पक्राउ गरेका छन् ।

आइतबार चोरिएको १९ लाख बढी रकम भने जनता बैंकका खातावाल गोपालमान राजवाहकको भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।

प्रहरीले उनीहरुको साथबाट १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । त्यस्तै विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० पाना, रजिष्टर २६ वटा, हस्ताक्षरको नमूना र दुई वटा डायरी, फोटो ८ सय २५ वटा पनि बरामद गरेको छ । यसबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस