उपनिर्वाचन २०७६ : ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपनिर्वाचन २०७६ : ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’


२९ कार्तिक २०७६, शुक्रबार


चिप्लेढुङ्गा । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ । यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईलाई देखेपछि राजनीतिको उचाइमा हजुरलाई देख्न चाहन्छौँ भन्दै शुभकामना दिएका छन् ।

विकासको दीर्घकालीन योजनासहित वृद्धवद्धाको सहारा बनेको नेकपाप्रति आफूहरुको अगाध विश्वास रहेको भन्दै भट्टराईलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । घरदैलो कार्यक्रममा पुगकी उम्मेदवार भट्टराईलाई स्थानीय समाजसेवी एवं भूतपूर्व सैनिक लालकाजी गुरुङले अविचलित राजनीतिक यात्राको शुभकामना दिँदै नेकपा आफ्नो आशा र भरोसाको पार्टी भएको बताए ।

त्यस्तै स्थानीय ९३ वर्षीया पुण्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताइन् ।’वृद्धाभत्ता दिने पार्टी नेकपा वृद्धवृद्धाको एक मात्रा सहारा हो’, उनले उम्मेदवार भट्टराईलाई जीतको शुभकामना समेत दिइन् ।

घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा उम्मेदवार भट्टराईले भूपूसैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टीले लिने बताइन् । उनले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिनका लागि नै आफूले उम्मेदवारी दिएको बताइन् ।

कोणसभामा नेकपाका केन्द्रीय सदस्य चुडामणि जङ्गलीले ‘समृद्ध पोखरा, सुखीपोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए । समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइप लाइन विस्तारलगायतका कार्यहरु नेकपा सरकारले गरेको बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस