बोलपत्रको माध्यमबाट खरिद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बोलपत्रको माध्यमबाट खरिद


२८ कार्तिक २०७६, बिहिबार


नेपालको सार्वजनिक खरिद कानून अनुसार २० लाख भन्दा बढीको मालसमान वा निर्माण कार्य वा परामर्श सेवा खरिद गर्दा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्छ।

बोलपत्रका प्रकार
1. राष्ट्रिय बोलपत्र : नेपालको राष्ट्रिय दैनिक पत्रिकामा ३० दिनको सूचना प्रकाशन गर्नुपर्ने बोलपत्र राष्ट्रिय बोलपत्र हुन्।

2. अन्तराष्ट्रिय बोलपत्र : अन्तराष्ट्रिय बोलपत्र अन्तराष्ट्रिय सञ्चार माध्यममा पनि प्रकाशन गर्नुपर्छ। ४५ दिनको म्याद दिई अंग्रेजी भाषामा सूचना प्रकाशन गर्नुपर्ने हुन्छ। अन्तराष्ट्रिय बोलपत्र प्रकाशन गर्नुपर्ने अवस्था निम्नअनुसार छन्

a. सार्वजनिक निकायको माग अनुरुपको मालसामान वा निर्माण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल राज्यभित्रका एकभन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने भएमा,
b. मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिदका लागि राष्ट्रियस्तरमा बोलपत्र आह्वान गर्दा कुनै बोलपत्र नपरी बिदेशबाट प्राप्त गर्नु पर्ने भएमा,
c. दातृपक्षसँग भएको सम्झौता बमोजिम वैदेशिक सहायता स्रोतबाट विदेशी मालसामान वा निर्माण कार्य खरिद गर्नु पर्ने भएमा,
d. विशेष तथा जटिल किसिमको मालसामान वा निर्माण कार्य भएकोले अन्तर्राष्ट्रिय स्तरको बोलपत्रबाट खरिद गर्नु पर्ने भनी सार्वजनिक निकायले प्रमाणित गरेकोमा

3. पुर्व योग्यता निर्धारण गर्नुपर्ने बोलपत्र : सार्वजनिक खरिद अनुगमन कार्यालयले समय समयमा ठूला र जटिल भनी निर्धारण गरेको निर्माण कार्य गर्न वा औद्योगिक प्लाण्ट जस्ता उच्च मूल्यका मालसामान खरिद गर्न वा योग्य बोलपत्रदाताको पहिचान गर्न वा सार्वजनिक निकायले उचित ठानेका अन्य खरिद गर्न बोलपत्र आह्वान गर्नु अघि पुर्व योग्यता निर्धारण गर्न सूचना प्रकाशन गर्नुपर्ने बोलपत्र।

4. पुर्व योग्यता निर्धारण गर्नुनपर्ने बोलपत्र : सामान्यता २ करोड भन्दा कम लागतको निर्माण कार्य वा सार्वजनिक निकायले पुर्वयोग्यता निर्धारण गरिरहुपर्ने नठानेका बोलपत्रको लागी पुर्वयोग्यता निर्धारण नगरी बोलपत्र आह्वान गरीन्छ।

5. Online बोलपत्र : बिद्युतिय माध्यमबाट खरिद गर्नको लागी सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण गरेको एकल पोर्टल bolpatra.gov.np को प्रयोग गरी आह्वान गरिने बोलपत्र online बोलपत्र हो। ६० लाख भन्दा माथीको खरिदमा Online बोलपत्र अनिवार्य गरिएको छ।

6. Offline बोलपत्र : सार्वजनिक निकायबाट बोलपत्र सम्बन्धी कागजात Hardcopy को रुपमा मात्र बिक्री गरिन्छ भने त्यसलाई Offline बोलपत्र भनिन्छ।

बोलपत्रको भाषा:- बोलपत्र सम्बन्धी कागजात सम्भव भएसम्म नेपाली र सम्भव नभए अंग्रेजी भाषामा तयार गर्नुपर्छ। अन्तराष्ट्रिय बोलपत्र भए अंग्रेजी भाषाको प्रयोग गर्नुपर्छ।

लागत अनुमानको स्वीकृती :- बोलपत्र आव्हान गर्नुअघि निम्न अधिकारीबाट लागत अनुमान स्वीकृती भएको हुनुपर्छ।
1. मालसमान¸ निर्माण कार्य र अन्य सेवाको लागत अनुमानको हकमा
a. एक करोड रुपैंयाँसम्मको लागत अनुमान राजपत्रांकित तृतीय श्रेणीको कार्यालय प्रमुखबाट,
b. पाँच करोड रुपैंयाँसम्मको लागत अनुमान राजपत्रांकित द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट,
c. दश करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्रांकित प्रथम श्रेणीको कार्यालय प्रमुखबाट,
d. दश करोड रुपैंयाँभन्दा बढी रकमको लागत अनुमान विभागीय प्रमुखबाट ।
2. परामर्श सेवाको हकमा
a. दश लाख रुपैंयाँसम्मको लागत अनुमान राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुखबाट,
b. पच्चिस लाख रुपैंयाँसम्मको लागत अनुमान राजपत्रांकित द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट,
c. पचास लाख रुपैंयाँसम्मको लागत अनुमान राजपत्रांकित प्रथम श्रेणीको कार्यालय प्रमुखबाट,
d. पचास लाख रुपैंयाँभन्दा जतिसुकै बढी रकमको लागत अनुमान विभागीय प्रमुखबाट ।

बोलपत्र सम्बन्धी कागजातको दस्तुर:- बोलपत्र सम्बन्धी कागजातको दस्तुर निम्न अनुसार रहेको छ।
1. बीस लाख रूपैयाँभन्दा माथि दुई करोड रूपैयाँसम्मको लागि तीन हजार रूपैयाँ,
2. दुई करोड रूपैयाँभन्दा माथि दश करोड रूपैयाँसम्मको लागि पाँच हजार रूपैयाँ,
3. दश करोड रूपैयाँभन्दा माथि पच्चीस करोड रूपैयाँसम्मको लागि दश हजार रूपैयाँ,
4. पच्चीस करोड रूपैयाँभन्दा माथि जतिसुकै रकमका लागि बीस हजार रूपैयाँ ।

बोलपत्र पेश गर्नुपुर्वको बैठक: – सार्वजनिक निकायले बोलपत्रदातालाई बोलपत्र सम्बन्धी कागजात, प्राविधिक स्पेसिफिकेशन, निर्माणस्थल वा अन्य यस्तै कुरा सम्बन्धी जानकारी गराउन बोलपत्र पेश गर्ने अन्तिम दिनभन्दा राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचनाको हकमा कम्तीमा दश दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचनाको हकमा कम्तीमा पन्ध्र दिन अगावै बोलपत्रदाताहरुको बैठकको आयोजना गर्न सक्छ ।

बोलपत्र जमानत: – सार्वजनिक निकायले खरिदको प्रकृति अनुसार सबै बोलपत्रदातालाई समानरुपले लागू हुने गरी स्वीकृत लागत अनुमान रकमको दुईदेखि तीन प्रतिशत रकमको सीमाभित्र रही निश्चित रकम तोकी बोलपत्र आव्हानको सूचनामा बोलपत्रदाताले बोलपत्रसाथ पेश गर्ने बोलपत्र जमानत रकम उल्लेख गर्नु पर्छ। यस्तो रकम नगदै वा वाणिज्य बैङ्क वा वित्तीय संस्थाले जारी गरेको सो रकम बराबरको बोलपत्र जमानत हुनु पर्छ । बोलपत्र जमानतको मान्य अवधि बोलपत्रको मान्य अवधिभन्दा कम्तीमा तीस दिन बढीको हुनु पर्छ ।

बोलपत्र मान्य हुने अवधि:-
1. दश करोड रुपैंयाँसम्म लागत अनुमान भएको बोलपत्र वा परामर्श सेवाको प्रस्तावको लागि – नब्बे दिन
2. दश करोड रुपैंयाँ भन्दा जति सुकै बढी लागत अनुमान भएको बोलपत्र वा परामर्श सेवाको प्रस्तावको लागि – एक सय बीस दिन

बोलपत्र खोल्ने:- खरिद अधिकारीको संयोजकत्वमा बोलपत्र वा प्रस्ताव खोल्न कम्तीमा दुई जना सदस्य रहने समिति गठन गरी बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा पूर्वनिर्धारित समयमा बोलपत्र वा प्रस्ताव खोल्न लगाउनु पर्छ तर बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मात्र बोलपत्र वा प्रस्ताव खोल्न बाधा पर्दैन ।

बोलपत्रको मुल्याङ्कन:- बोलपत्रको मुल्याङ्कनको लागी तपशिल बमोजिमको मुल्याङ्कन समिति गठन गर्नुपर्छ। मुल्याङ्कन गर्दा बोलपत्रको प्राविधिक, व्यापरिक र आर्थिक पक्षको छुट्टाछुट्टै मुल्याङ्कन गर्नुपर्छ। प्राविधिक पक्षको मुल्याङ्कन नगरी आर्थिक प्रस्ताव खोल्न पाइदैन।
1. सार्वजनिक निकायका प्रमुख वा निजले तोकेको वरिष्ठ अधिकृत (सम्भव भएसम्म प्राविधिक कर्मचारी) – अध्यक्ष
2. सम्बन्धित सार्वजनिक निकायको आर्थिक प्रशासन शाखा प्रमुख – सदस्य
3. विषयसँग सम्बन्धित प्राविधिक विशेषज्ञ (सम्भव भएसम्म अधिकृतस्तर) – सदस्य
4. सार्वजनिक निकायमा कानून अधिकृतको दरबन्दी रहेको भए सो सार्वजनिक निकायको कानून अधिकृत – सदस्य

बोलपत्रको स्वीकृती:- न्युनतम मुल्याङ्कित सारभुत रुपमा प्रभावग्राही बोलपत्र स्वीकृत गर्नुपर्छ। बोलपत्र आफुले स्वीकृत गर्न नमिल्ने भएमा एक तह माथीको अधिकारीबाट स्वीकृत गराउनुपर्छ। बोलपत्र स्वीकृत गर्ने अधिकार देहायका अधिकारीलाई हुन्छ।
1. तीन करोड रूपैयाँसम्मको राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुख,
2. सात करोड रूपैयाँसम्मको राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुख,
3. पन्ध्र करोड रूपैयाँसम्मको राजपत्राङ्कित प्रथम श्रेणीको कार्यालय प्रमुख,
4. पन्ध्र करोड रूपैयाँभन्दा बढीको विभागीय प्रमुख ।

आशयको सूचना:- बोलपत्र छनौट भएको सात दिनभित्र सार्वजनिक निकायले सम्बन्धित बोलपत्रदातालाई निजको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दिनु पर्छ । त्यसरी छनौट भएको बोलपत्रको बोलपत्रदाताको नाम, ठेगाना र रकमको जानकारी अन्य बोलपत्रदातालाई समेत दिनु पर्छ ।

खरिद सम्झौता:- आशयको सूचना दिएको ७ दिनभित्र कुनै बोलपत्रदाताले उजुरी नगरेमा छनौट भएको बोलपत्रदाताको बोलपत्र स्वीकृत गरी निजलाई पन्ध्र दिनभित्र खरिद सम्झौता गर्नको लागि कार्य सम्पादन जमानत दाखिला गर्न सूचना दिनु पर्छ।

कार्यसम्पादन जमानत:- कार्यसम्पादन जमानत दाखिला गर्दा बोलपत्रदाताले लागत अनुमान भन्दा पन्ध्र प्रतिशतसम्म कम अङ्क कबुल गरेमा कबुल अङ्कको पाँच प्रतिशत र लागत अनुमानको पन्ध्र प्रतिशतभन्दा बढी घटेर कबुल गरेको अवस्थामा पन्ध्र प्रतिशत भन्दा जति रकमले घटी कबुल गरेको छ सोको पचास प्रतिशतले हुन आउने रकम कबुल अङ्कको पाँच प्रतिशतमा थप गरी कार्यसम्पादन जमानत बापत दाखिला गर्नु पर्छ । कार्यसम्पादन जमानत प्राप्त गरिसकेपछि मात्र खरिद सम्झौता गर्नुपर्छ।

पेश्की सम्बन्धी व्यवस्था:- सार्वजनकि निकायले खरिद सम्झौता पश्चात आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट अग्रिम बैंक जमानत लिई खरिद सम्झौता रकमको बीस प्रतिशतमा नबढ्ने गरी पेश्की दिन सक्छ।

भुक्तानी सम्बन्धी व्यवस्था:- काम सम्पन्न भएपछि अन्तिम भुक्तानी दिनुपर्छ। २५ हजार भन्दा बढीको भुक्तानी एकाउन्ट पेयी चेक मार्फत दिनुपर्छ। भुक्तानी गर्दा रिटेन्सन मनी वापत रनिङ वा अन्य बिल वा बिजकमा उल्लिखित रकमको पाँच प्रतिशत रकम कट्टा गरी राख्नु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस