लालबाबु पण्डितको घरमा दलिनको बास « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लालबाबु पण्डितको घरमा दलिनको बास


२१ कार्तिक २०७६, बिहिबार


संघीयता यस्तो औजार थियो, जसले निजामती सेवारुपी घरको आकारमा कमि ल्यायो । एउटै घरभित्र अटाएका सम्पूर्ण सदस्यलाई त्यहीँ घरमा रहिरहन स्थान अपुग भएको हुँदा, समायोजनको मध्यस्थतामा सम्पूर्ण सदस्यलाई यथासम्भव घरभित्र र घरभित्र स्थान रिक्त नभएपछि घरको दलिनमा बासको प्रवन्ध मिलाइएको हो ।

जब, घरमा बासस्थानको कमि आयो, ज्येष्ठ सदस्यलाई घरभित्र बस्न पहिलो प्राथमिकता दिइयो, अधिकांश सदस्य घरभित्र रहनुभएको र केहि सदस्य स्वेच्छाले घरको दलिनमा रहनुभएको छ ।

ज्येष्ठ सदस्यले रोजेर बाँकि रहेको घरभित्रको स्थानमा केहि कनिष्ठ सदस्य समेत अटाए पनि घर भित्रै रहने चाहनाका बाबजुद, दलीनको वासको कठिनाईसँग सुपरिचित रहेपनि, ज्येष्ठ सदस्यप्रति आदर गर्दै स्थान अभावको तत्कालीन परिस्थितिमा कनिष्ठ सदस्यले दलिनमा वास बस्नु निजहरुको दायित्व थियो र सो दायित्वबोध गर्दै कनिष्ठ सदस्यहरु दलीनमा बसेर आफ्नो घरको जिम्मेवारीबाट एक पाइला पनि पछि हटेका छैनन् ।

यहाँ सम्मको परिस्थिति विश्लेषण गर्ने हो भने, मा. मन्त्री लालबाबु पण्डितलाई निजामती घरको सफल अभिभावकको रुपमा चित्रित गर्नु पर्ने हुन्छ, जसले साँघुरिएको घरमा सदस्यको बासको व्यवस्थापन गरी घर भत्कनबाट जोगाए ।

तर, अब आउने दिनले यो सफलतालाई फरक मोडमा लैजानेछ । समयचक्रसँगै घर भित्ररहेका ज्येष्ठ सदस्यहरुले घर छोडेर जाने यस घरको अकाट्य विशेषता रहेको छ । ज्येष्ठ सदस्यले घर छोडेर गएसँगै घरभित्रको स्थान खाली हुँदै गएको छ । सो खाली हुँदै गएको स्थानमा कसलाई बसाउने, यो विषय नै मा. मन्त्रीज्युको प्रशासनमाथिको आजीवन सफलता वा अदूरदर्शीताको कारक बन्नेछ ।

आज दलीनमा रहेका सदस्य, जो घरभित्रको स्थानका लागि लडेर आएका थिए, जसको त्यो स्थानमा कानुनसम्मत अधिकार स्थापित गरिएको थियो र पनि देशको समग्र परिस्थितिलाई मध्यनजर गरी घर बाहिर बसी सहयोग गरेका छन्, उनीहरु आफ्नो पुरानो स्थान खाली भएको हुँदा, सो स्थान फिर्ता पाउने आशमा छन् ।

एक थरी समुह छ, जसले आज दलीनमा रहेका सदस्यलाई दोस्रो दर्जाको रुपमा ईङ्गित गर्छ, आफू घरभित्र रहेकोमा घमण्ड गर्छ र अब दोस्रो दर्जाका सदस्यसँग सम्बन्धविच्छेद गर्नुपर्ने धारणा राख्छन् । अर्कोथरी घरभित्रकै सदस्य जो कथित शक्तिशालि छन्, उनीहरु बजारमा गएर नयाँ व्यक्तिलाई यस घरभित्र बस्ने बाटो देखाउने (ट्युसन सेन्टर चलाउने) काम गरी मोटो रकम असूल्छन्, उनीहरु हिजो घरभित्रका आफ्नै सदस्य जो दलीनमा छन्, उनीहरुलाई घरभित्र ल्याउन नहुने तर्क गर्छन्, किनभने दलिनका व्यक्ति घरभित्र आएमा, बजारबाट रकम असूल्ने बाटोमा धक्का पुग्नेछ ।

दलिनमा रहने सदस्य निरिह छन् । घरभित्र बस्ने ढोका उनीहरुको लागि बन्द गरिएका छन् । हिजो स्थान अभावमा दलिनमा बस्नु, दायित्व सम्झिएका सदस्यको मनोबल आज पनि उच्च नै छ । र त्यतिनै उच्च आशा छ, घरका अभिभावकको आगामी निर्णयप्रति । तर, अब उप्रान्त घरभित्र रिक्त रहने स्थानमा यदि लोक सेवा आयोग मार्पmत नयाँ सदस्यलाई सिधै भित्र लगिन्छ भने परिस्थितिबस सहजताको लागि छोडिएको आफ्नो पूर्ववत स्थानमा नयाँ सदस्यलाई आगमन गराइएको टुलुटुलु हेरेर बस्नु पर्ने अवस्था सिर्जना हुन्छ भने, मा.मन्त्रीज्यू यस घरको अभिभावक तपाईँलाई हामी दलिनमा रहेका सदस्यले कुन रुपले बुझ्ने, कनिष्ठ आएर आफ्नो स्थान खोसिन लागेको कुन मुखले हेरेर, कस्तो मनोबलले काम गर्ने ।

समायोजनको प्रक्रिया लगभग टुङ्गो लागेर लोक सेवा आयोगबाट पुनः कार्यतालिका बमोजिम पदपुर्ति गर्ने प्रक्रिया अघि बढेको देखिन्छ । नेपालको संविधानको धारा २४३ बमोजिम संघीय सरकारका निकायमा रिक्त रहेका दरबन्दीमा माग भै आएको खण्डमा लोक सेवा आयोगले पदपूर्ति गर्ने गर्दछ । यसैक्रममा, गत असोज २९ गते सहसचिव र उपसचिवको रिक्त दरबन्दीको लागि लोक सेवा आयोगबाट विज्ञापनं प्रकाशित भएको छ ।

नेपाल सरकारका रा.प.प्रथम श्रेणी (सहसचिव वा सो सरह) र नेपाल सरकारका रा.प.द्वितिय श्रेणी (उपसचिव वा सो सरह) का कुनै पनि कर्मचारीको समायोजन निजहरुले रोजेको भन्दा फरक तहमा भएको छैन वा भनौं, अधिकांशको समायोजन संघ अन्तर्गत रहेको छ ।

समायोजनको विकराल स्वरुप तब शुरु हुन्छ, जब रा.प.तृतीय श्रेणी वा सो भन्दा मुनीका पदको अध्ययन गर्दछौं । रा.प.तृतीय श्रेणीका सामान्य प्रशासन समूह (शाखा अधिकृत) र लेखा समूह(लेखा अधिकृत) तथा राजपत्र अनङ्कीत प्रायःजसो सबै सेवा समूहका कनिष्ठ कर्मचारीको समायोजन सहसचिव र उपसचिवको जस्तो स्वैच्छिक, पूर्वानुमानयोग्य रहेन । स्वास्थ्य सेवाको समायोजन नतिजा पश्चात प्राप्त भएका करिब १६,००० कर्मचारीको गुनासोले दर्शाउँछ, कनिष्ठ कर्मचारीको दुरावस्था । कर्मचारी भएपछि देशको जुनसुकै कुनामा गएर काम गर्न तयार रहनुपर्दछ तर कनिष्ठ भएका कारण झापा ठेगाना भएकाको समायोजन बझाङमा र दैलेख घर हुनेको सर्लाहीमा गरिएको छ, त्यो पनि कहिले सो स्थानबाट घरपायक फर्कन नसक्ने गरी । दुई वा चार वर्षको सेवा पश्चात अन्यत्र फर्कने गुञ्जायस कर्मचारीलाई प्राप्त छ्रैन, तैपनि, संघको दरबन्दी पूरा भएको कारण कर्मचारी अनिच्छित रुपमै भएपनि निजामती सेवाबाट निष्काशित भएर प्रदेश वा स्थानीय तहमा काम गरिरहेका छन्, जुन तत्कालीन अवस्थाको अपरिहार्य आवश्यकता थियो ।

यसर्थ, दलिनमा रहनेको समायोजनका क्रममा गरेको रोजाई र ज्येष्ठताको आधारमा घरभित्रका खाली स्थानमा क्रमशः फिर्ता गर्दै, दलिनमा प्रदेश लोक सेवा आयोगबाट नयाँ सदस्यको नियुक्ति गर्ने, यसरी नियुक्ति भएर नआउँदासम्म दलिनको कामकाजलाई वाधा नहुने गरी घरभित्र प्रवेश गर्ने माहोल तयार गरी सम्पूर्ण सदस्यको मन जित्ने कामबाट आजीवनको सफलता हासिल गर्न, के कति कुराले बाधा रहयो ?

नयाँ सदस्यलाई मूल ढोकाबाट स्वागत गर्न लाग्दा, दलिनमा रहेका तपाईँकै पुराना सदस्यलाई झस्केलो (समायोजित कर्मचारीको लागि व्यवस्था गरिएको साँघुरो वृत्ति विकासको ढोका) देखाएर टार्ने कार्य गर्र्दै हुनुहुन्छ भने यो कदमलाई कतिको न्यायोचित रुपमा अर्थ लगाउने ?

दलिनका सदस्यलाई पेलेरै नयाँ सदस्यको लागि घरभित्र प्रवेश गराउने कदम चाल्नु भएपनि, दलिन सदस्य मनोबल गिराएर पनि सो स्थानमा त रहलान, तपाईँ आफ्नो निर्णय कार्यान्वयनमा सफल रहनुहोला तर इतिहासले समिक्षा गर्नेछ । देखिनेछ अदुरदर्शिता । प्रष्ट हुनेछ गैर न्यायीक कदम । धिक्कार्ने छ ति मनले जो आफ्नो स्थान खोसेर, आफ्नो लागि ढोका थुनेर, आफू भन्दा कनिष्ठलाई स्थान सुम्पेको प्रत्यक्षदर्शी बन्नेछ ।

अन्त्यमा, मा. मन्त्री ज्यू, तपाईँ आज यस घरको अभिभावक रहनुभएको छ । कथित शक्तिशाली सदस्यको प्रभावमा दलिनमा रहेका सदस्यलाई घरभित्र ल्याउन नहुने निहित स्वार्थ जडित व्याख्यालाई, तपाईँकै उचित निर्णयको भरोसामा रहेका दलिनका सदस्यको आँखाबाट नियालेर मात्र सर्वस्वीकार्य तथा न्यायोचित कदम चाल्नुहोस् ता कि तपाईँको घरभित्र बास बस्न आएका हामीलाई आजीवन दलिनमा राखेर लज्जीत हुने परिस्थिति नबनोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस