नेपाली कलासंस्कृतिलाई विश्वमाझ पुर्‍याउने सेतु बन्न सक्छ : एनआरएनए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली कलासंस्कृतिलाई विश्वमाझ पुर्‍याउने सेतु बन्न सक्छ : एनआरएनए


३ कार्तिक २०७६, आइतबार


काठमाडौं । शिरमा शिरफूल, कानमा चेप्टे सुन, नाकमा झुम्के बुलाकी र ढुङ्ग्री लगाएकी पूर्वेली चेलीको प्राकृतिक हाँसोको दृश्य हेर्न जो कोही टक्क अडिन्छन् । जलरङले बुँनिएको उक्त दृश्यमा परेलीबाट वर्षेका हर्षका आँसुले समाजको गहिरो सन्देश मात्र प्रवाह गरेको छैन, दुनियाँलाई मोहित पारेको छ । त्यो दृश्य देख्दा दुःख र पीडामा पिल्सिएकाको मुहारमा अलौकिक चमक पैदा हुन्छ । तीनका मन ढक्क फुलेर मुस्कानमार्फत खुशी अभिव्यक्त हुन्छ ।

मानव मनलाई मोहित गर्दै मुस्कुराहट पैदा गर्ने उक्त चित्र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा आयोजना गरिएको ‘पहिलो एनआरएनए कला प्रदर्शनी’मा देख्न सकिन्छ । महेन्द्र राईले फेसबुकमा राखेको तस्वीरलाई अनुमति लिएर ती महिलाको निश्चल हाँसोलाई जलरङले पोतेर दुरुस्त पार्ने काम कलाकार एनवी गुरुङले गरेका हुन् । गुरुङको व्यस्त शहरको अमूर्त कला यहाँ देख्न पाइन्छ ।

नेपाली कलालाई विश्वसामु पु¥याउँदै पर्यटन प्रवर्द्धनका साथै विश्व प्रसिद्ध बनाउने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को नवौँ विश्व सम्मेलनका अवसरमा नाफामा आयोजना गरिएको कला प्रदर्शनीमा उनीलगायतका कलाकारको ५० भन्दाबढी चित्र र मूर्ति प्रदर्शनमा राखिएको छ ।

अर्का कलाकार लालकाजी लामाले भूकम्पले क्षत्विक्षत बनाएको एउटा गाउँको ब्यथालाई आर्ट पेपरमा उतारेर मुलुकको पुनःनिर्माणको अभियानमा एनआएनएको भूमिका महत्वपूर्ण छ भन्ने सन्देश दिन खोजेका छन् । यो सँगै उनका तीन चित्र र तीन मूर्तिकला प्रदर्शनीमा छन् ।

गैर आवासीय नेपाली संघ स्थापना भएको दुई दशकको अन्तरालमा पहिलोपटक नेपाली कला क्षेत्रसँग सहकार्य शुरु भएका अवसरमा विदेशी लोभ्याउने खालको नेपालको पहिचान, धर्मसंस्कृति र परिवेष झल्कने १२ मूर्तिकारका १५ मूर्ति र २७ चित्रकारका ४४ चित्र प्रदर्शनमा राखिएको छ । असोज २७ देखि शुरु गरिएको प्रदर्शन अझै पाँच दिनसम्म चल्ने आयोजक क्यान्भास आर्ट ग्यालरीले जनाएको छ ।

नेपाली कलालाई विश्वमा परिचित गराई व्यवसायीकरण गर्ने योजनाका साथ प्रदर्शनी आयोजना गरिएको बताउँदै नाफाको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले भने, ‘नेपाली कलाकारलाई विदेशमा पहुँच कम हुनसक्छ, तर विश्वभरि छरिएर रहेका नेपालीले प्रयास गर्ने हो भने नेपालको चित्रकलामार्फत पर्यटन प्रवर्द्धन र व्यवसायीकरणमा योगदान पुग्नसक्छ भनेर एनआरएनएसँग जोडिने प्रयास गरिएको हो ।’

पर्यटनसँग कला असाध्यै नजिक हुन्छ । फोटोग्रोफीले जे देख्छ त्यसैलाई टिप्छ, तर कलाकारले सौन्दर्य थपेर अझ आकर्षक बनाउन सक्छन् । जसले मुलुकलाई विश्वमा चिनाउन मद्दत गर्ने कलाकारको विश्वास छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा एनआरएनएसँगै सहकार्य हुन पाएकामा खुशी व्यक्त गर्दै नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्य सहकार्यले निरन्तरता पायो भने पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उल्लेख गर्छन् ।

एनआरएनएका खेलकूद तथा कला संस्कृति विभागका संयोजक राजु मानन्धरले नाफासँगको सहकार्य नेपाली कलालाई विश्वमा पुर्‍याउन कोसेढुङ्गा सावित भएको उल्लेख गरे । ‘हाम्रो कला र संस्कृतिले विश्वलाई लोभ्याउँछ, हामीले देखाउने नै त्यही हो, त्यसैले सहकार्य शुरु गरेका हौँ, तत्कालै चमत्कार त नहोला तर एनआरएनए स्थापनाको दुई दशकमा पहिलो पटक शुरु भएको सहकार्यलाई नियमितता दिने योजना छ’, मानन्धर भन्छन्।

नेपाल ललितकला क्याम्पसका पूर्वक्याम्पस प्रमुखसमेत रहेका गैर मानन्धरले आगामी दिनमा आफू बसेको देश अष्ट्रेलियामा कला प्रदर्शनी गरेर विश्व अभियानको शुरुआत गर्ने दाबी गरे ।

यहाँ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)का कुलपति कर्माचार्य र स्वयं मानन्धरको अमूर्त कलासमेत प्रदर्शनमा छ । नाफाका उपकुलपति गोपाल चित्रकारको गणेशको चित्र, कलाकार दीपेन्द्रमान बनेपालीको आकासबाट देखिएको सुन्दर फाँट (गह्रा), देवेन्द्र थुम्केलीको हिमालसहितको आकर्षक दृष्यलाई प्रदर्शनीमा समावेश गरिएको छ । प्राज्ञ परिषद् सदस्य शुष्मा राजभण्डारी, उमाशङ्कर शाहलगायतका चित्रले प्रदर्शनीमा आकर्षण थपेको छ ।

गैर आवासीय नेपालीका लागि सम्पर्क सेतु हुनसक्ने भएकाले पनि कलाकारसँगको सहकार्य जरुरी छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङ नेपाली कलाको प्रवर्द्धनसँगै कलालाई विश्वप्रसिद्ध र प्रतिष्पर्धी बनाउन एनआरएनएले भूमिका खेल्नसक्ने बताउछन् । अहिले शुरु भएको सहकार्यले निरन्तरता पाउनेमा उनी विश्वस्त छन् ।

नेपाली कला अझै विश्वस्तरको हुन सकिरहेको छैन । साधनस्रोत र प्रविधिमा पनि कमजोर देखिन्छ । भएको कलाकारिताको राम्रो प्रचारप्रसार हुन नसक्दा विश्वमा नेपाली कलाको स्थान कमजोर रहेको स्वयं कलाकार नै बताउँदै आएका छन् । यस्ता संघ सङ्गठनमार्फत कलालाई विश्वसामु पुर्‍याउनसके नेपाली मौलिकता र विशेषता अन्य देशकोभन्दा उन्नत रहेको कलाकारहरुको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस