मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने


३ कार्तिक २०७६, आइतबार


काठमाडौं । इटालियन निर्माण कम्पनी सिएमसिले काम सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने भएको छ ।

राष्ट्रिय गौरबको योजनामा पर्ने सो आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोसँग सम्झौता भएर उक्त कम्पनीको कार्यक्षेत्रमा गएसँगै कामले गति लिने देखिएको हो ।

सो आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी पाँच प्रतिशत कामका लागि ठेक्का सम्झौता भएको हो । दुई महिना पहिले १५ महिनामा काम गर्ने गरी सम्झौता भएको थियो ।

कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिलेसम्म कम्पनी कार्यक्षेत्रमा गएर आवश्यक तयारीको काम गरिरहेको उनले बताए । उनले भने, ‘कार्यक्षेत्रमा काम नै गर्न थालेपछि अवधि शुरु हुनेछ ।’

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको पन्तले बताए । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ । वर्षाअघि नै नदिमा बाँध बाँध्ने काम सम्पन्न हुने उनले बताए । वर्षाका समयमा गर्न नमिल्ने काम वर्षा अघि सक्दा पनि एक वर्षभित्रैमा काम सक्ने उनको विश्वास छ ।

आयोजनाले ‘हेडवर्क’, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । जसमध्ये ‘हेडवर्क’ र सुरुङमार्गको काम सिनोहाइड्रोले गर्ने भएको छ । प्रशोधन केन्द्र निर्माणमा दुई निर्माण कम्पनीले गरिरहेका छन् ।

आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भएपनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने वरिष्ठ डिभिजनल इन्जिनियर पन्तले बताए । सिएमसिले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने रकम दिन बाँकी हुँदा समस्या आउन सक्ने देखिएको छ ।

त्यस बाहेक ‘हेर्डवर्क’मा भौतिक अवरोध कम रहेको उनले बताए । पहिले गिट्टि, बालुवा आपूर्ति गर्न, रुख कटान, चट्टान बिस्फोटनलगायतका धेरै अवरोध रहेका थिए । उनले भने, ‘अहिले काम नै अवरुद्ध हुने गरी समस्या कम रहेका छन् ।’

यहाँ रहेका खानेपानी प्रशोधन केन्द्र निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भएकामा एउटा सम्पन्न भइसकेको छ भने अर्को ट्याङ्की निर्माण केही समयमै सम्पन्न हुने बताइएको छ । यहाँको प्रशोधन केन्द्र दुबैको क्षमता साढे आठ करोड लिटर रहेको छ ।

तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) र अर्को एशियन विकास बैङ्क ९एडिबि०को आर्थिक सहयोगमा निर्माण भएकोे पन्तले बताए । उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की सम्पन्न भइसकेको छ भने एडिबिको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधीन केन्द्रको ठेक्का सम्झौताको अवधि गत महिना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै सिएमसिले छाडेर गएका कतिपय निर्माणका काम थप दिइएकाले तीन महिना अवधि थपिएको छ । उनले भने, ‘अबको दुई तीन महिनामा सबै काम सक्ने देखिएको छ ।’

बाँकी काम पाँच प्रतिशत मात्रै

सिएमसिले निर्माणको काम अलपत्र छाडेसँगै केही समय पहिले परामर्शदाता, एशियाली विकास बैङ्क, आयोजनाका प्रतिनिधिलगायतले स्थलगत निरीक्षण गर्दा ‘हेडवर्क’ र सुरुङमा काम बाँकी रहेको पाइएको थियो । मेलम्ची नदीमा बाँध बाँध्ने काम र स्टिलको पुल बनाउने काम बाँकी रहेको छ । विद्युतीय प्रणालीबाटै विभिन्न गेट खोल्ने र लगाउने गरी निर्माण भइरहेकामा सम्पन्न भइसकेको छैन । गेटको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी छ ।

टर्नेलमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २।५ किलोमिटर बाँकी छ । टर्नेल भित्र हावा बन्द हुँदा पानी नबग्ने हुँदा तीन वटा ‘भेण्टिलेटर’ निर्माण गर्ने डिजाइनमा रहेको बताइएको छ । तीनमध्ये दुई वटा सम्पन्न भइसकेको र एउटा बाँकी रहेको बताइएको छ । खेर जाने पानीलाई वाग्मतीमा खसाल्नका लागि वाग्मती भर्‍याङजस्तै संरचना बनाइने पन्तले जानकारी दिए । एकै पटक जाँदा खोलाको पानी धमिल्याउने हुँदा वहाव कम गर्न भर्‍याङजस्तै संरचना निर्माण गर्न लागिएको हो ।

सकियो मुख्य काम

आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । दुई प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न भइसकेको छ भने निर्माणाधीन केन्द्रमा पनि झण्डै ९० प्रतिशत काम सकिएको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत, सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङमा माथिबाट खसेर यहाँका संरचनालाई क्षति नपुगोस भनी २७।५ किलोमटिरमै प्रारम्भिक ‘सपोर्ट’को काम सकिएको छ ।

झण्डै एक लाख घनमिटर कमजोर चट्टान काटेर फालेर त्यस ठाउँमा कङ्क्रिट राख्ने काम सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुइँमा अन्तिम ढलानको काम झण्डै २५।३ प्रतिशत मात्रै बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस