राष्ट्र निर्माणका लागि बौद्धिक बहस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र निर्माणका लागि बौद्धिक बहस


२९ भाद्र २०७६, आइतबार


चैतन्य एकेडेमी विगत छ वर्षदेखि मानव संसाधन विकास र अनुसन्धानको क्षेत्रमा सक्रिय रहँदै आएको छ । यसले मानव पुँजी निर्माणको क्षेत्रमा काम गर्छ । केही अनुसन्धान र नीतिलाई सहयोग हुनेखालका अध्ययन,अनुसन्धानका क्षेत्रमा पनि यो संस्था क्रियाशिल छ ।

चैतन्यले देशको समग्र विकास रुपान्तरण, परिवर्तन, समृद्धि, मानव पुँजी निर्माणका विविध विषयलाई समेटेर प्रत्येक वर्ष एउटा राष्ट्रियस्तरको सेमिनारको आयोजना गर्दै आएको छ । यस वर्ष आगामी असोज ३ र ४ गते धुलिखेलमा ‘नेपाल रुपान्तरणका आयामहरु’ विषयक सेमिनार गर्ने तयारी हुँदैछ । सेमिनार देश कसरी रुपान्तरण, सम्बृद्ध र विकसित हुनसक्छ भन्ने विषयमा केन्द्रित रहनेछ । जहाँ विभिन्न विषयका अनुभवी विज्ञ र प्राज्ञबीच राष्ट्रिय, अन्तर्राष्ट्रिय अभ्यासको अनुभवका आधारमा रुपान्तरण हासिल गर्न सक्ने सम्भावनाका विषयमा बौद्धिक छलफल गरिनेछ । सेमिनारको उदेश्य भनेको निजी क्षेत्रबाट पनि देश विकासको चिन्तन हुनुपर्छ, राष्ट्रनिर्माण र समाज परिवर्तनका निमित्त चिन्तन हुनुपर्छ भन्ने हो ।

समृद्धि र रुपान्तरण केवल सरकारको मात्र नभएर हरेक नागरिकको जिम्मेवारीसँग जोडिएको विषय हो । देशको विभिन्न भूगोलमा बस्ने हरेक नागरिक आफैँमा रुपान्तरणको संवाहक र नायक बन्न जरुरी छ भन्ने सन्देश यसले स्थापित गराउन खोजेको छ ।

यसैगरी सेमिनारमार्फत देशको विकास निर्माण, समृद्धि र परिवर्तन कुन कुन क्षेत्रमा कसरी हुँदै छ भन्ने बहस पनि उठाउन खोजिएको छ । विकास निर्माणका कार्य ठीक लयमा हुँदै छ वा छैन ? सही ढंगले हुनका निमित्त के आवश्यक छ जस्ता कुरालाई पनि सेमिनारमा उठान गरिनेछ । रुपान्तरण हुन कस्तो किसिमको राजनीतिक संस्कारको विकास हुन जरुरी छ ? आर्थिक रुपले रुपान्तरित हुन कस्तो किसिमको आर्थिक गतिविधि र अवसर सिर्जना हुन जरुरी छ ? सांस्कृतिक र सामाजिक रुपले रुपान्तरित हुन कस्तो सामाजिक सद्भाव र सांस्कृतिक समुन्नत हुन जरुरी छ ? लगायतका विषयमा सेमिनार केन्द्रित रहन्छ ।

सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई बल पुर्‍याउँदै कसरी देश समृद्ध हुन सक्छ ? कसरी हरेक नागरिक सुखी हुनसक्छ ? कस्तो किसिमको रुपान्तरणबाट यो सम्भव छ ? भन्ने कुरा सेमिनारको छलफलमा उठाइने छ । देश रुपान्तरण हुने क्रममा रहेकाले त्यसको व्यवहारीक अनुभुति दिलाउन के कसरी रुपान्तरण हुनु जरुरी छ भन्ने मार्गनिदेर्शन यो सेमिनारबाट हामी दिन सक्छौं भन्ने लागेको छ । सेमिनारमा विज्ञबाट विभिन्न किसिमका कार्यपत्र प्रस्तूत हुन्छन । जहाँ खुल्ला छलफल,अन्तक्र्रिया हुनुका साथै मूलभूत विषयमा सामूहिक छलफल हुन्छ ।

राष्ट्रियस्तरमा स्थापित व्यक्तित्व सेमिनारमा विज्ञको रुपमा सहभागी हुँदै हुनुहुन्छ । समाजका विभिन्न पेसामा आवद्ध रहेका र विभिन्न पेसा व्यवसायको माध्यमबाट समाजलाई नेतृत्व प्रदान गरिरहेका र आफ्नो व्यवसाय र आफ्नो क्रियाकलापबाट राष्ट्रको अर्थतन्त्रमा, राष्ट्र निर्माणको मूल प्रवाहमा प्रत्यक्ष परोक्षरुपमा कुनै न कुनै किसिमको योगदान गरिरहेका व्यक्तिहरु कार्यक्रममा सहभागी हुनु हुन्छ । विगत पाँच वर्षमा हामीले जुन कार्यक्रमको आयोजना गरेका छौं, ती कार्यक्रमहरुको निकै उत्कृष्ट पृष्ठपोषण रहिआएको छ । आगामी कार्यक्रम पनि त्यही उत्कृष्टताका साथ सम्पन्न हुने हामीले अपेक्षा राखेका छौं ।

सेमिनारमा संघ,प्रदेश र स्थानीय तीनै तहका सरकारका जनप्रतिनिधि, कर्मचारी, बैंकर्स, बीमा, शिक्षा,पर्यटन र उद्योगका क्षेत्रका साथै निजीक्षेत्रका व्यक्तित्व कार्यक्रममा सहभागी हुन सक्छन् । कार्यक्रममा सहभागी हुनका लागि १५ हजार शुल्क तोकेका छौ । निजी क्षेत्रबाट दुईसम्म चल्ने भएकाले यसको व्यवस्थापनका लागि शुल्क तोकिएको हो । यो व्यावसायिक कार्यक्रम नभएकाले कार्यक्रम सम्पन्न भएपछि उपलब्ध हुने स्रोत साधनबाट हामी केही सामाजिक कामहरु पनि गर्छौ । दूर दराजका केही विकट जिल्लाहरुमा गएर त्यहाँका वस्तीमा आवश्यक शैक्षिक सामाग्री वितरण गर्छौ ।

यो कार्यक्रम मुलतः हामीले सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले आयोजना गर्दै आइरहेका छौं । पाँचौँ श्रृंखलासम्म यो सफलतापूर्वक सम्पन्न भएको छ र यसको छैटौं श्रृङ्खला हामी आयोजना गर्दैछौं । कार्यक्रममा सहभागी व्यक्तिले आफ्नो व्यक्तिगत, पेसागत, सामाजिक र राष्ट्रिय रुपान्तरणमा बल पुग्ने किसिमका पक्षलाई उजागर गर्नेछ । यसरी भन्दा एउटा व्यक्तिको व्यक्तिगत, पेशागत, पारिवारिक, सामाजिक, राष्ट्रिय जीवनको आयामहरुमा पनि सकारात्मक परिवर्तन ल्याउन यो कार्यक्रम सहायक सिद्ध हुनेछ । राष्ट्रको समग्र चिन्तनबारे जो व्यक्तिले आफुलाई अद्यावधिक गर्न चाहन्छ त्यसका लागि यो कार्यक्रम उपयोगी हुने पक्का छ ।

त्यसैले छोटो समयमा देशलाई समग्र रुपमा बुझ्नका लागि सिर्जना गरिएको यो एउटा उपयुक्त अवसर पनि हो । एउटै थलोमा देशका मूर्धन्य व्यक्तित्वलाई सुन्न र भेट्न पाउने र उहाँहरुको प्राज्ञिक चेतनालाई ग्रहण गर्न पाउने एउटा अवसर पनि हो । विभिन्न क्षेत्र, पेशा, व्यवसायका व्यक्तिसँग प्रत्यक्ष भेटघाट, चिनचान गरी व्यवसायिक र व्यक्तिगत सम्बन्ध बनाउनुका साथै उहाँहरुसँग अभिप्रेरणा लिन यो सुनौलो अवसर पनि हुन सक्छ । कार्यक्रमको छलफलबाट आएका उपलब्धि,प्राप्ति र निष्कर्षलाई हामीले सरकारका जिम्मेवार निकायमा पुर्‍याउँछौ । हामीले प्रकाशित गरेका पुस्तक, प्राज्ञिक र वौद्धिक व्यक्तित्वबाट आएका विचारलाई सम्बन्धित निकायमा सम्प्रेषण गर्छौ । यी निष्कर्ष र उपलब्धि सरकारको नीति निर्माण तह, कार्यक्रम, भावि योजना र रणनीतिहरुमा उपयोगी हुन सक्छन् ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहनु हुनेछ । विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्ति सहभागी हुने यसमा नेपाल रुपान्तरणका आयामहरुमा आर्थिक, राजनीतिक, सामाजिक शासकीय सुधार, कृषि, अर्थतन्त्र, र वृहत क्षेत्रमा रुपान्तरणलाई प्रभाव पार्ने प्रमूख क्षेत्रहरुको विषयमा छलफल हुन्छ । समग्रमा भन्नुपर्दा यसमा सहभागी हुनेका लागि यो एउटा कोशेढुङ्गा हुने विश्वास हामीले लिएका छौं ।

(लेखक चैतन्य एकेडेमी, काठमाडौँका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

Tags :
प्रतिक्रिया दिनुहोस