जीवन र आनन्दको खोजी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जीवन र आनन्दको खोजी


२८ भाद्र २०७६, शनिबार


जीवनको एक मात्र लक्ष्य आनन्द प्राप्ति हो । सुखदुःख भनेका भौतिक जगतका स्वस्फूर्त बाहिरी अर्थात् इन्द्रियजनित विषय हुन । आकांक्षा सुखमा पुगेर समाप्त हुँदैन । आकांक्षाले अझै परको वस्तु खोज्न थाल्छ, त्यो हो आनन्द । सुखदुःख जीवनका उत्तेजक र क्षणिक अवस्था हुन् भने आनन्द जीवनको परम अवस्था हो ।

पचास हजार क्षमता नभएकालाई जव एक लाख रुपियाँ प्राप्त हुन्छ, उसलाई त्यसले आनन्द दिँदैन । उसलाई लाग्छ आनन्द त दुई लाखमा छ । नायव सुब्बाले शाखा अधिकृतमा आनन्द देख्छ । मन्त्रीलाई आफ्नो मन्त्री पदले आनन्द दिँदैन । उसले प्रधानमन्त्रीलाई चरम आनन्दमा देख्दछ । पूर्व प्रधानमन्त्रीलाई लाग्छ, पहिले प्रधानमन्त्री हुँदा आनन्द प्राप्त गर्न सकिएन, अर्को पटक प्रधानमन्त्री हुन पाए आनन्द प्राप्त होला कि ? तर प्रधानमन्त्री जस्तो आनन्दविहीन र छटपटीको पद अ अन्य कुनै हुँदैन । बान्छित आनन्द प्राप्तिको लागि जीवन अविरल कष्ट सहन तयार हुन्छ । यही असन्तुष्टि, भोक, तृष्णा र आनन्द प्राप्तिको चाहनाले नै जीवनलाई निरन्तर नयाँ खोज र परिश्रम गर्न प्रेरित गर्दै आएको छ । परापूर्व कालदेखि जीवन अविरल रुपमा आनन्दको खोजीमा छ तर त्यो परम अवस्था प्राप्त गर्न अत्यन्त कठिन छ ।

मानिस कल्पनाशील प्राणी हो । जब मानिसलाई यो जगतमा जति परिश्रम गरे पनि आनन्द प्राप्त हुँदैन भन्ने महसुस गर्यो तब उसले एउटा यस्तो जगतको कल्पना गर्यो, जहाँ दुःख छैन , सुखैसुख छ । जहाँ अशुभको अस्तित्व छैन, जहाँ मरण छैन, जहाँ शुभ नै शुभ मात्र छ । त्यसै जगतको नाम हो स्वर्ग । तर यो परिकल्पना पनि धेरै दिन टिक्न सकेन । दार्शनिक विचारहरुको प्रादुर्भाव हुनासाथ नित्य आनन्दमय स्वर्गको अस्तित्व नै असम्भव र भावुक कल्पनाको उपज ठहरिन पुग्यो ।

सबै सृजना, रचना र उत्पत्तिहरु नाशवान छन् । स्वर्ग पनि अविनाशी ब्रह्मको अधीन छ । स्वर्गको विनाश र विलय अवश्यम्भावी छ । अतः त्यो पनि इहलोक जस्तै अनित्य हो, शाश्वत हैन । भनिन्छ, प्राचीन ऋग्वेदमा देवताको अमरत्वको कल्पना गरिएको थियो, तर पछि गएर यस कुराको परित्याग गरियो । उपनिषद्हरुमा भनिएको छ, ‘यदेवेह तद्मुत्र यद्मुत्र तदन्वीह’ अर्थात जे यहाँ छ त्यही त्यहाँ पनि छ, जे त्यहाँ छ त्यही यहाँ पनि छ । ती सबैको विनाश निश्चित छ र कालान्तरमा पुनः नयाँ रुपमा सृजना हुनु अवश्यम्भावी छ । अतः यदि स्वर्ग छ भने पनि नाशवान छ, सनातन र अविनाशी छैन ।

जीवनलाई जब ज्ञात कुराबाट सन्तुष्टि मिल्दैन, जब आफ्नो वातावरण र सेरोफेरो मन पर्दैन, जब इच्छित सुख र आनन्द जति प्रयत्न गर्दा पनि प्राप्त हुँदैन, तब ऊ अज्ञातको खोजमा लाग्दछ । जीवनको यही असन्तुष्टि, भोक र तिर्खाले गर्दा नै नयाँ नयाँ आविष्कार हुन्छन्, नयाँ नयाँ सिद्धान्त प्रतिपादन हुन थाल्छन् । ज्ञानको भोक पनि त्यही हो, विज्ञानको पनि ।

वैज्ञानिकले पनि वर्तमानप्रति चित्त नबुझेरै नयाँ नयाँ खोज गर्न थालेका हुन्, खोज्दै छन् र खोज जारी राखेका छन् । अध्यात्म र विज्ञान दुवै खोज गरेर थाक्ने छैनन्, विश्राम लिने कुरा सम्भव छैन । खोज र अनुसन्धान कहिल्यै पूरा नहुने, जति भेटायो अझै धेरै भेटाउन बाँकी रहने अवस्था हो । खोज प्याज या बन्दागोभीका पत्रहरु खोल्दै जाने जस्तै प्रक्रिया हो, जति पत्रहरु खोल्दै गयो, रहस्य अझ बढ्दै जान्छ । जब पत्र सकिन्छ, अनि जीवनले महसुस गर्दछ, मैले त केही पनि भेटाउन सकिन । जे भेटाएँ त्यसले त मेरो खोजलाई झन् रहस्यमय बनाइदियो । त्यसैले त पत्रहरु फुकाउने काम बीचैमा छाडेर हिड्नेले आफूलाई जान्ने महसुस गर्छ, तर जसले पूरा पत्र फुकाएको छ, उसले सोच्छ मैले जान्नुपर्ने कुरा अनन्त छ । यसै कारण हो थोरै जान्नेले भन्दा धेरै जान्नेले आफूलाई अन्जान ठान्छ । त्यसैले होला दार्शनिक सुकरातले भन्ने गर्दथे मैले एउटै कुरा जान्दछु, त्यो हो म केही पनि जान्दिन । वैज्ञानिकहरुको हालत त झन् जटिल छ । जति खोज्दै जान्छन्, अनि थाहा पाउँछन्, जान्नु पर्ने कुराको सीमा त झन् फराकिलो पो हुँदैछ ।

डाक्टरहरु वैज्ञानिक नै हुन्, उनीहरु जब विरामीलाई सन्चो गराउन सक्दैनन् अनि भन्छन् चिन्ता नगर्नुहोस्, भगवानमा भरोसा गर्नुहोस् । यसरी आफ्नो कावुभन्दा बाहिर पुगेपछि ‘नो बोडी नोज’ को अवस्था उत्पन्न हुन्छ ।


मानवको सबैभन्दा अनुपम तर रहस्यमय उपलव्धि हो ‘ईश्वर भेटाउनु’ । परापूर्व कालमा जीवन अहिलेभन्दा ज्यादा जिज्ञासु थियो । जीवनले सबैभन्दा पहिले आफ्नो वरिपरीको वातावरण निरीक्षण गर्यो होला । अहिलेजस्तो वैज्ञानिक साधन थिएनन् । शास्त्र थिएन, विद्या थिएन, गुरु थिएनन्, शिष्य थिएनन् । मानिस आफैँ गुरु, आफै शिष्य, आफै वाचक र आफै श्रोता थियो । अचानक असिना पानी पथ्र्यो, बाढी आउँथ्यो, भूकम्प जान्थ्यो, रात हुन्थ्यो, दिन हुन्थ्यो । यी सब कुरा थिए जसले जीवनलाई यी घटनाको कारक खोज्न प्रेरित गर्यो । जीवनले जब थाहा पायो कि यी परिघटनालाई आफै नियन्त्रण र सञ्चलान गर्न सकिदँैन, उसलाई लाग्यो, अवश्य पनि कुनै वाह्य तत्व छ जसले यो सव प्रपञ्च गर्छ ।

अनि दुःख दिने र सुख दिने दुवै अज्ञातको कल्पना गर्यो । उसले सोच्यो अवश्य पनि दुःख दिने घटना त्यो सञ्चालकको कोपले हुन्छन् । यस्ता कोप शान्त पार्न त्यो नियन्त्रकलाई खुसी पार्नुपर्छ । अनि जहाँजहाँबाट आफ्नो आहारा प्राप्त हुन्छ, जहाँजहाँ आफूले आश्रय पाइएको छ अथवा जहाँजहाँबाट जीवनलाई दुष्कर र पीडा दिने घटनाहरु उत्पन्न हुन्छन् तिनैलाई भगवान या नियन्ता मान्न थाल्यो । नदी, पहाड, हिमाल, कुनाकन्दरा, वन, आकाश, बादल, समुद्र, वृक्ष, भूमि आदि सबै दृश्य वस्तुभित्र उसले अदृश्य भगवान भेटायो । उसले यिनै कुराहरुलाई आफ्नो तरिकाले पूजा गरेर या सम्मान गरेर या प्रार्थना गरेर खुसी पार्ने प्रयत्न गर्न थाल्यो । यो मानवको अद्भुत सृजना थियो र यो सृजनाले मानवलाई अपूर्व शान्त्वना दियो । जीवनप्रतिको विश्वास झन् बढ्दै गयो । आजको मानवलाई यो आविष्कार अनावश्यक र अतार्किक लाग्न सक्दछ तर तत्कालीन सन्दर्भमा यो अनुपम र अद्भुत आविष्कार थियो । जसले मानव जीवनलाई अगाडि बढ्न ठूलो मदत गर्यो, मानव जीवनमा ठूलो आशावाद जन्मायो ।

जीवन झन्झन् उन्नत हुँदै गयो । वर्तमान दुःखबाट आफ्नै प्रयत्नले राहत पनि पाउँदै गयो । जीवन सुविस्तापूर्ण बन्दै गयो तर जीवनले आनन्द प्राप्त गर्न सकेन । जति खोज्दै गयो उति थप रहस्य फेला पर्न थाले । जीवन आफूले पत्ता लगाएका नयाँ नयाँ खोज र आविष्कार देखेर पुलंकित त भयो तर आनन्द प्राप्त भएन । यही हो जीवनको आफैले थाहा नपाएको रहस्य ! यही हो आनन्दको खोजमा आफ्नो मूलस्रोत अथवा सारा अस्तित्वको गन्तव्य अर्थात ब्रह्म, प्रकृति, अविनाशी र अव्यक्त या इश्वरप्रतिको आकर्षण । विज्ञानले पनि त यही भन्छ, ब्रह्माण्डको फैलिने प्रक्रिया समाप्त भएपछि त्यो पुनः पूरा जोडतोडकासाथ आफ्नो मूल या आश्रय या कारण या भनौं सुक्ष्म सत्तातिर विलय हुन जान्छ । जसरी एउटा गाईको बाच्छो चाराको खोजीमा टाढाटाढा पुगे तापनि साँझपख दौडेर आमाको सान्निध्यमा आएर सुरक्षित महसुस गर्दछ, आनन्द प्राप्त गर्दछ ।

सनातन दर्शनमा वेदलाई अपौरुषेय भनिन्छ । यसको मतलव हो वेदको रचना कुनै व्यक्तिले गरेको होइन, यो शाश्वत सनातन हो । यसको अर्थ हो वेद अनादि हो, अनन्त हो । यसको रचना स्वयं भगवानले प्रकट गरेका हुन् । वेदप्रति आस्था हुनेको लागि त यो नै सत्य कुरा भयो । किन्तु वैदिक दर्शनमा विश्वास नगर्नेले पनि यसलाई यत्तिकै झूटो मानेर परपर जानु आवश्यक छैन । सारा जगतलाई एउटा भौतिक अस्तित्वको रुपमा मान्ने र यो समस्त सृष्टिलाई आकष्मिक घटना मान्नेको लागि पनि वेद अनुपम उपहार हो ।

वैदिक दर्शन मान्ने समुदाय जसमा हाल धेरै नै सम्प्रदाय छन्, तिनमा मूल रुपमा दुईटा हाँगा छन् । वेदान्तको एउटा हाँगो अद्वैतवादी र अर्को द्वैतवादी मानिन्छ । जुन सम्प्रदायलाई अंगीकार गरेपनि यिनीहरुको बीचमा अभूतपूर्व सहनशीलता छ । आनन्दको भोकमा यात्रारत यी दुवै सम्प्रदायले अर्कोलाई पूर्णतः निषेध गर्ने प्रयास गरेको पाइदैँन, तर आफ्नो मतको प्रचार भने जोडतोडले गर्छन । यसले गर्दा सनातनभित्र झन् वौद्धिक र तार्किक विकास हुँदै गयो । ठूलाठूला चिन्तक र दार्शनिक जन्मे । सनातन समृद्ध र उन्नत हुँदै गयो । किन्तु अचेल देखिने धेरै मत र तिनका अनुयायीले सनातन विश्वासलाई खण्डखण्ड पारेका छन । जीवन झन् अशान्त हुँदैछ । आनन्द प्राप्तिको असफल होडमा व्यापक र उदार संस्कृतिलाई अनुदार, साँघुरो र संकुचित पार्दैछन् ।

अद्वैत दर्शन बडो अद्भुत छ । ज्यादा दार्शनिक कुरा र दुर्वोध्य संरचनाले गर्दा यो जटिल र कठिन महसुस हुन्छ । यसले नानाथरीका देवता र कर्मकाण्डमा विश्वास गर्दैन । किन्तु यो जीवनलाई रमाइलो दिनेखालको छैन । आफ्नो दुरुहता र अतिशय उत्कृष्टताले गर्दा यो जीवनोपयोगी हुन गाह्रो छ । जनसमुदायले यसलाई ग्रहण गर्न मुस्किल छ । अद्वैत वुद्धिविलासको विषयमा सीमित छ । जीवनले अरु कसैको सहारा खोज्दछ जुन कुरा अद्वैतले दिँदैन । धेरै उच्चकोटीको विचारले जीवनलाई सहज हैन झन् अस्तव्यस्त पार्दो रहेछ ।

अद्वैतले भन्दछ, मेरो जन्म पनि छैन, मृत्यु पनि छैन, मेरो कुनै जाति छैन, मेरा कुनै मातापिता छैनन्, मेरो न कोही शत्रु छ न कोही मित्र । म पाप र पुण्यले रहित छु । मलाई कुनै तीर्थब्रत गर्नु छैन, मलाई न भोक लाग्छ न तिर्खा । यो शरीर मेरो हैन, ममा कुनै अन्धविश्वास छैन । म नै शिव हुँ, म नै ब्रह्म हुँ, म नै मूलतत्व हुँ । जसरी आकाशमा धेरै बादल आउँछन जान्छन्, तर आकाश नीलो रुपमा रहिरहन्छ, आफ्नो अस्तित्वमा अटल रहन्छ, जसरी समुद्रमा जति फोका उठे पनि, छाल आए पनि समुद्रले आफ्नो शान्त रुप गुमाउँदैन, त्यस्तै म स्थिर आत्मा हुँ । म नै अविनाशी हुँ, म नै ईश्वर हुँ ।

जव आफै ईश्वर हुँ भने म कुनै अर्को ईश्वर किन मानौं ? मलाई कुनै भय छैन, मलाई कसैले मार्न सक्दैन, म नै एकमात्र सत्ता हुँ, अस्तित्व हुँ । अद्वैत दर्शन भन्छ यहाँ एउटा मात्र सत्य छ, त्यो हो ब्रह्म । ब्रह्म सत्य जगत मिथ्या । माया र भ्रान्तिको कारणले गर्दा एक रुप अनेक रुपमा देखिने मात्र हो, वास्तवमा म र तिमी हामी भन्ने केही पनि छैन । जन्म मृत्यु प्रकृतिमा छन्, ममा छैनन् । यो जगत एक मरिचिका मात्र हो । यो संसार त्यस्तो मरुभूमि हो जसले मृगलाई पानी देखाउँछ, तर मृग जति त्यसको नजिक जान खोज्दछ त्यो मरिचिका अझ पर देखिन्छ । जुन दिन यो सत्य नभई फगत एक मरिचिका हो भन्ने ज्ञान हुन्छ तव मात्र आँखा खुल्छ । म नै ब्रह्म हुँ, म नै शिव हुँ, म नै तत्व हुँ !

द्वैत सरल र पालन गर्न सहज छ । यसले जीवलाई ईश्वरको अंश मान्दछ, तर जीवलाई ईश्वर मान्दैन । यसले जीवलाई निरीह मान्छ । द्वैत भन्दछ, जीवलाई कसैको सहारा आवश्यक छ । आफैलाई पूर्ण मान्न थाल्यो भने कसलाई पुकार्नु ? कसको सहारा लिनु, कोसँग माग्नु, कहाँ दुःख बिसाउनु ? द्वैतले मान्दछ ईश्वर स्वतन्त्र छ, ईश्वर नै यो जगतको रचयिता हो, सवैको साक्षी हो । प्रकृति र आत्मा पनि शाश्वत हुन् तर ईश्वर अटल छ । ईश्वर सगुण पनि हुन सक्छ निर्गुण पनि । ईश्वरको शरीर हुँदैन तर उसमा गुण अभिव्यक्त हुन्छन् । ईश्वरमा पनि मानवीय गुण हुन्छन्, ऊ दयालु छ, न्यायी छ, उसलाई प्रार्थना गर्न सकिन्छ, पूजा गर्न सकिन्छ, प्रशंसा गर्न सकिन्छ, खुसी पार्न सकिन्छ । ऊ पनि मानवीय छ । फरक यत्ति छ ऊसमा कुनै दोष छैन, मानवमा दोषहरु छन् ।

यहाँ एउटा प्रश्न सदा गर्न सकिन्छ । यस्तो गुणी, दयालु, बलवान, न्यायी र अकारण करुण ईश्वरको राज्यमा यस्तो दुःख किन छ ? किन आनन्द प्राप्त हुँदैन ? हिन्दू दर्शनले यो समस्यालाई सुल्झाउनका लागि कहिल्यै पनि सैतानको कल्पना गरेन, जुन पश्चिमी धर्मले गर्दछन् । हिन्दू धर्मले एकमात्र दोषी मानवलाई नै मान्यो र समाधान पनि मानवको सत्य, सत्कार्य, नैतिकता र सदाचारमा खोज्ने प्रयत्न गर्दै आयो । विशिष्टाद्वैत सिद्धान्तले मान्छ, ईश्वर समस्त आत्माको पनि आत्मा हो । सारा आत्माहरु त्यही मूल आत्मामा लिन हुन चाहन्छन् । शरीर जन्मन्छ, युवा हुन्छ, बिरामी हुन्छ र मर्दछ । किन्तु आत्मा अमर छ । आत्मा दूषित त किमार्थ हुँदैन तर थोरै संकुचित हुन सक्छ, जसलाई सत्कर्म, सत्य र सदाचारद्वारा पूर्ववत रुपमा ल्याउन सकिन्छ ।

अमर आत्मा र अविनाशी सनातन ईश्वरको विश्वास नगर्ने अर्को दर्शन छ, चार्वाक या लोकायत दर्शन । यसको मतमा ईश्वर र आत्मा भनेका मानवले रचेका काल्पनिक कुरा मात्र हुन वस्तुतः तिनको अस्तित्व छैन । हामीले देख्ने दृश्य जगत र हामीले भोग्ने भोग्य जगत नै सत्य हुन् । काल्पनिक कुरालाई सत्य मानेर आनन्दको खोजी गर्नुको कुनै प्रयोजन छैन । यो दर्शनको खोजी पनि आनन्दकै खोजी हो, तर यसको जग भने वेदान्तमै छ । वेदान्तको आस्तिक मतको विरोधको जगमै यसको अस्तित्व छ ।

बुद्धले भनेका छन्, जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखका कारणको निराकरण गर्न सकिन्छ र यस्तो अवस्थामा पुग्न सकिन्छ, जव दुःखको अस्तित्व नै रहंदैन । बुद्धको यो रहस्योद्घाटन पनि आनन्दकै खोज हो । दुःख निवारणको लागि बुद्धले सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक बोली, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि गरी आठवटा मार्ग देखाएका छन् ।

बुद्धले वैदिक दर्शनलाई अस्विकार गरेको हुँदा उनलाई नास्तिक पनि भनिन्छ । बुद्धले दुःखको कारण जीवनमै देखेँ र त्यसको समाधान पनि जीवनभित्रै खोजेँ । उनी कुनै तिलस्मी कुरा गर्दैनन् । आफ्नै ज्ञान र अनुभवभन्दा परको कुराप्रति उनी विश्वास गर्दैनन् । आनन्दको खोजी गर्दै शरणमा आउने सुदामालाई श्रीकृष्णले तत्कालै धनी बनाइदिए, सुदामाले कुनै प्रयत्न नै गर्नु परेन । तर वुद्धले हजारौं सुदामालाई दुःखको कारण आफ्नै जीवनमा खोज्न, जीवनको वास्तविकता स्वीकार गर्न र त्यसै भित्रबाट समाधान खोज्न सघाए । बुद्धले अलौकिक र जादुमय कुरा गरेनन्, चमत्कार देखाएनन् । उनको जोड थियो, जीवन दुःखी छ, त्यसैले यसबाट मुक्तिको मार्ग रोज्नु पर्दछ ।

बुद्ध आत्माको अस्तित्वलाई स्वीकार गर्दैनन् । उनी भन्छन्, शरीर र मनको मात्र अस्तित्व छ । किन अर्को काल्पनिक वस्तुको सहारा लिनु ? सरल रुपमा हेर्दा यो बडो तर्कसंगत छ । उनी जीवनको दृश्य र अनुभवजन्य कुरा नै यसलाई बुझ्न काफी मान्छन । वुद्ध काल्पनिक ईश्वरमा विश्वास गर्दैनन्, जे छ सबै दृश्य र अनुभवजन्य छ भन्दछन् । बुद्धको आदेश थियो उनलाई भगवानको दर्जा नदिइयोस् र मूर्ति पूजा नगरियोस्, तर मानवले उनको उपदेशलाई जीवनमा लागू गर्ने नभई पढ्ने वस्तु बनाइदियो । उनलाई अलौकिक बनाइदियो र पूजा गर्न थाल्यो, मूर्ति बनाएर ढोग्न थाल्यो । अहिले विश्वभरमा सवैभन्दा धेरै मूर्ति बुद्धकै छन् । एकमतको उपदेश गरेर गएका उनको उपदेशलाई आफ्नै तरिकाले व्याख्या गर्दै विभिन्न मत र सम्प्रदाय खडा भए । बुद्धकै अनुयायीले बुद्धलाई अज्ञात रहस्यको रुपमा विकास गर्दै लगे । जीवन अज्ञातको सहाराबिना अगाडि बढ्न सक्दैन भन्ने ठूलो प्रमाण हो यो ।

वैदिक दर्शन र विज्ञानले भन्ने कुरा मिल्दाजुल्दा नै छन् । वेद भन्छ, जव सत या असत केही पनि थिएन, त्यस बखत यो जगत पनि थिएन । त्यसबेला प्रकृति सुक्ष्म र अव्यक्त थियो । फेरि ब्रह्माण्डको सृष्टि हुन्छ र फेरि त्यही सुक्ष्म अव्यक्तमा लिन हुन्छ । सुक्ष्मबाट विराट र फेरि विराटबाट सुक्ष्ममा लय हुने यो क्रम चलिरहन्छ । विस्तार हुँदै वृहत रुप हासिल गरेको प्रकृति फेरि आफ्नै कारणशक्ति या अव्यक्त सत्तामा समाहित हुन दौडेर जान्छ । धेरै समय अघि नै कपिल मुनिले भनेका रहेछन् ’नाश कारणलय’ अर्थात कुनै पनि कुरा नष्ट हुनु भनेको मूल कारणमा लय हुनु हो । विज्ञान भन्छ सारा सृष्टि या ब्रह्माण्ड आफ्नो मूल प्रकृतिमा लिन हुनु नै प्रलय हो । भौतिक शास्त्र भन्छ, जब दुई सुक्ष्म कण आपसमा ठोक्किन्छन तिनको विनास हुन्छ र त्यसबाट विराट ऊर्जा पैदा हुन्छ । यसरी बीज सुक्ष्म, अदृश्य र अव्यक्त नै हुँदो रहेछ । जो एउटा वातावरण पाएपछि विराट हुँदो रहेछ ।

प्रकृतिको यो अनुपम रहस्यलाई वैज्ञानिकले अझै प्रकाश पार्दै जानेछन् । सृष्टिको अहिलेसम्म ज्ञात चेतन अस्तित्वको रुपमा रहेको मानव जाति आफ्नो मूल प्रकृति खोजेर कहिल्यै थाक्ने छैन । आफ्नो मूल प्रकृतिको खोजको यो भोक त्यसै उत्पन्न भएको हैन । यो आफ्नो अस्तित्वको प्रधान कारणप्रतिको आकर्षण हो । विज्ञानले प्रचलित कुनै धर्मलाई बोक्दैन, वेदलाई बोक्दैन । वेदले आफ्नो मूल प्रकृतिको पत्तो पाइसकेको कुरा भन्छ भने विज्ञानले प्रमाण समेत जुटाउँदै अझै खोज्दै छ । यो खोजको जे नाम दिए तापनि त्यही अव्यक्त अविनाशी र परम तत्वकै खोजी हो क्ष् रहश्यको पर्दा च्यात्न बाँकी रहेको एउटा मुकाममा पुगेपछि विज्ञानले पनि जवाफ दिन सक्दैन र भन्छ ‘नो बोडी नोज’ ।

प्रख्यात भौतिकशास्त्री स्टिफेन हकिंगले भनेका छन्, हाम्रो पृथ्वी केही समयपछि बस्न लायक रहने छैन । उनको भनाइ छ, मानव जीवनलाई जोगाउने एउटा मात्र उपाय हो बस्नयोग्य कुनै ग्रह पत्ता लगाउनु र त्यहीं बसाइ सर्नु । यसको मतलव हो वैदिक दर्शनले छ भनेको परलोकको अस्तित्वलाई विज्ञानले पनि स्वीकार गरिसक्यो । डाक्टरहरु वैज्ञानिक नै हुन्, उनीहरु जब विरामीलाई सन्चो गराउन सक्दैनन् अनि भन्छन् चिन्ता नगर्नुहोस्, भगवानमा भरोसा गर्नुहोस् । यसरी आफ्नो कावुभन्दा बाहिर पुगेपछि ‘नो बोडी नोज’ को अवस्था उत्पन्न हुन्छ ।

विज्ञानले पनि अज्ञातको सहारा लिँदो रहेछ । यसलाई अर्को रुपमा पनि बुझ्न सकिन्छ डाक्टरको भनाइ हो, यो जीवन अनित्य छ, सबै जीव र पदार्थहरु अनित्य छन्, नित्यसत्ता भनेको त त्यही कारण प्रकृति या अव्यक्त नै हो, जसमा गएर सबै मिल्छन् । डाक्टर हकिंग यो सारा प्रपन्च कुनै ’न्यम’ को कारण भएको हैन भन्छन्, तर जे नाम राखे पनि सारा सृजना लीन हुने ठाउँ त वेद र विज्ञानले एउटै देख्यो । मानवको सोच उसको आफ्नो समयमा ज्ञात परिधिभित्र मात्र रहने हो, जुन कुरा अज्ञात छ । त्यसको बारेमा आ-आफ्नै व्याख्या गर्ने हो । किन्तु एउटा कुरा पक्का हो, वैदिक साहित्यप्रति पश्चिमाहरू त्यसै आकर्षित भएका रहेनछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस