मकैजोन क्षेत्रमै मकै जोगाउन मुस्किल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मकैजोन क्षेत्रमै मकै जोगाउन मुस्किल


२० भाद्र २०७६, शुक्रबार


बैतडी । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि उक्त क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ ।

मकैको उत्पादनमा बढाउने र मकै प्रशोधन गर्ने लक्ष्यसाथ कार्यालय स्थापना भए पनि जङ्गली बँदेल र बाँदरकै कारण मकै उत्पादनमा ह्रास आउने सङ्केत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिए ।

मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको भए पनि भित्र्याउने समयमा जङ्गली जनावरले मकैबाली सखाप पार्दा उत्पादनमा कमी आउने देखिएको उनले बताए ।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा उक्त कार्यक्रम लागू भए पनि मकै जोगाउन धौधौ परेको उनले बताए ।

मकैबाली मुख्य खाद्यबाली भए पनि पछिल्लो समयमा यसको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । जङ्गली जनावरले मकैबाली सखाप पारेको विषयमा सबै ठाउँमा जानकारी गराएको भए पनि समस्या समाधानको उपाय भने ननिस्केको सो कार्यालयका प्रमुख महराको भनाइ छ ।

बैतडीमा पछिल्ला वर्षमा मकैको उत्पादनमा गिरावट आउन थालेको छ । गत वर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो ।

मकैबाली जङ्गली बँदेलले नष्ट

बैतडीका विभिन्न ठाउँमा किसानले लगाएको मकैबाली जङ्गली बँदेलले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकैबाली भित्र्याउने समयमा जङ्गली बदेलले मकैबाली नष्ट गर्दा भोकमरीको सम्भावाना बढेको दोगडाकेदार ३ श्रीकोटका प्रकाश चन्दले बताए ।

‘खेतमा लगाएको मकैबाली जोगाउन रातभर पहरा दिने गरेका छौँ’, उनले भने, ‘पहरा दिए पनि बथानमा आउने जङ्गली बदेलले मकैबाली नष्ट गर्ने गरेको छ ।’ जिल्लाको पुर्चौंडी क्षेत्रका विभिन्न स्थानमा पनि जङ्गली जनावरले मकैबाली नष्ट गर्दा किसान मर्कामा परेका छन् । बँदेल, दुम्सी, भालुलगायतका जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

यस्तै पाटन नगरपालिका–७ का विभिन्न स्थानमा पनि जङ्गली बँदेलले मकैबाली नष्ट गरेको स्थानीय रामीराम विकले जानकारी दिए । मकै बचाउन टहरा बनाएर किसानले पहरा दिने गरेकोसमेत गरिएको छ ।

बैतडीमा मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पछिल्लो समयमा जङ्गली जनावरले नष्ट गर्दै जाँदा उत्पादनमा कमी आउने गरेको छ । मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भए पनि किसानले भने क्षतिपूर्ति पाउने गरेका छैनन् । बाली बीमा नगरेका कारण किसानले क्षतिपूर्ति पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

मकैबाली लगाउने क्षेत्रफल घट्यो

बैतडीमा मकैबाली लगाउने क्षेत्रफल घटेको छ । जिल्लामा गत वर्षदेखि मकैबाली लगाउने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बैतडीमा जङ्गली जनावरको प्रकोपका कारण मकैबाली उत्पादन हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

बैतडीमा हाल १२ हजार २०० हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ । उनले भने, ‘केही वर्षअघिसम्म १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको भए पनि जङ्गली जनावरका कारण किसानले मकैबाली लगाउन छोडेका छन् ।’

बाँदर र बँदेलले वर्षेनी मकैबालीमा क्षति गर्ने भएकाले मकैबालीतर्फ किसानको आकर्षण घट्दै गएको छ । जङ्गली जनावरका साथै पहाडबाट तराईमा बसाइँसराइका कारणले पनि मकै उत्पादन हुने क्षेत्रफल कम भएको निमित्त प्रमुख चन्दको भनाइ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस