सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र चाहिन्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र चाहिन्छ : अध्यक्ष दाहाल


१८ भाद्र २०७६, बुधबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको आज जिल्ला प्रशासन कार्यालय परिषरमा उद्घाटन गर्दै उनले राष्ट्रिय परिचयपत्र आम नेपालीका लागि महत्वपूर्ण रहेको बताए ।

राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै उनले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताए । उनले भने, ‘अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु भएको छ ।’ ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित हुने उनले विश्वास दिलाए।

सो अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्रमा दिइने ‘दश अङ्क’ व्यक्तिको परिचय भएको जानकारी दिए । पाँचथरबाट शुरु भएको परिचयपत्र वितरणको कार्य दोस्रो चरणमा चितवनसहित १५ जिल्लामा लागू भएको र चालू आर्थिक वर्षमा नै देशभर लागू हुने उनले बताए ।

प्रजिअ जितेन्द्र बस्नेतले असार महीनाबाट परिचयपत्र निर्माणको काम शुरु भएको जानकारी दिए । कार्यालयको उद्घाटनपछि पूर्वप्रधानमन्त्री दाहालले समेत परिचयपत्रका लागि तस्वीर खिचाउने, बायोमेट्रिक गर्ने, आफ्नो विवरण कम्प्युटरमा दर्ता गर्ने काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस