एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा


२४ श्रावण २०७६, शुक्रबार


चितवन । चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ ।

स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले ८/८ र खैरहनी नगरपालिकाले पाँच जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार भदौबाट लागू हुनेगरी उनीहरुको बीमा गरिएको हो । सङ्क्रमितहरुको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले बीमा गरिएको उनले बताए । अहिले जिल्लामा एक हजार ७२९ जना सङ्क्रमित छन् । उनीहरुमध्ये ८९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

जिल्लामा रहेका सबै सङ्क्रमित खुलेर बाहिर आउन सकून् भन्ने उद्देश्यका साथ स्थानीय तहहरुसँगको समन्वय गरी बीमा कार्यक्रम शुरु गरिएको सापकोटाले जानकारी दिए । अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि सङ्क्रमितको बीमा स्थानीय तहले गर्ने गर्दछ । सन् २०१९ को जनवरीदेखि जुनसम्म सात हजार ८०१ जनाको नमूना परीक्षण गर्दा ५४ जना सङ्क्रमित भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस