जोखिममा भूमिहीन बस्ती « प्रशासन

जोखिममा भूमिहीन बस्ती


प्रकाशित मिति : ३० असार २०७६, सोमबार १३:३३

कञ्चनपुर । कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्ती जोखिममा परेको छ । बर्सातको पानीले वनहरा नदीमा पानी बढ्नाका साथै पूर्वदेखि दक्षिणी क्षेत्रको जमीन कटान तीव्र हुन थालेकाले भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको हो । श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समयदेखि बस्दै आएका परिवार भूक्षयका कारण जोखिममा परेकाले सुरक्षित बासस्थानको खोजीमा लागेका छन् ।

पुस्तौँदेखि भूमिहीन रहेका परिवारले सुरक्षित बासस्थानका लागि माग गर्दै आए पनि सुनवाइ हुन नसक्दा जोखिमसँगै तटीय क्षेत्रमा बनाइएका झोपडीमा बस्न बाध्य भएका हुन् । “हावाहुरीले झोपडीमा राखेका त्रिपाल उडाउँदा खुला आकाशमा बस्दै आएका थियौँ”, भूमिहीन बस्तीका कलावती दमाईंले भने, “बर्सात हुन थालेपछि जति पानी बाहिर पर्छ । त्यति पानी भित्र छिर्ने भएकाले अनिदोमै रात काट्नु परेको छ । नदीले जग्गा कटान गर्न थालेपछि बस्ती नै जोखिममा परेको छ ।” “नदी बस्तीतर्फ सोझिएपछि पूरै झोपडी बग्ने डरले पालैपालो नदीको पानी हेरेर बस्नु परेको छ”, मानध्वज लुहारले भने, “थोरै पानीले पनि धेरै जग्गा कटान गरिसकेको छ । कुनै बेला पनि दुर्घटना हुन सक्ने भएकाले नदीको पानीको सतह बढ्न थालेपछि बस्ती छाड्नुपर्ने अवस्था छ ।”

शुक्लाफाँटा नगरपालिकासँगै सुरक्षित बासस्थानको व्यवस्था मिलाइदिन भन्दै आए पनि कसैले सुन्दैनन् । सामुदायिक वनको सुरक्षित क्षेत्रमा बस्न दिँदैनन् । यसै देशको नागरिक भए पनि विरानो भएर बस्नु परेको भूमिहीन परिवारको गुनासो छ । भूमिहीन परिवारले दुई छाक खानका लागि दिनभरि मजदुरी गरेर जीविका धान्दै आएका छन् । बाँच्नका लागि त निकै सङ्घर्ष गर्नु परेको छ । जग्गा खरीद गर्न यस जुनीमा त सक्दैनौँ माघि रावतले भने, “नदीकै कारण ज्यान जोगाउन नसकिने भएको छ ।”

“गर्मीमा लामखुट्टेबाट जोगिन रातभर झोपडीमा अनिदो बसेर धुवाँ गरेर बस्नुपर्ने र बर्सात भएपछि पानीबाट बालबालिका र ज्येष्ठ नागरिकलाई जोगाउन सङ्घर्ष गर्नुपर्ने र नदीले बस्तीको जग्गा कटान गर्न थालेपछि बस्ती नै छाडेर भाग्नुपर्ने अवस्था आइलागेको छ”, राधिका सुनारले भने । भूमिहीन बस्तीमा अधिकांश परिवार दलित समुदायका छन् ।

“संविधानमै एक पटकका लागि भूमिहीन रहेका दलित परिवारलाई जग्गा र घर दिने कुरा राखिएको सुनेका छौँ”, मानध्वजले भने, “नागरिकता लिएर नगरपालिका, भूमि सुधार, जिल्ला प्रशासन र मालपोत कार्यालयसम्म पुग्दासमेत जग्गा र घर पाइएको छैन । जनता आवास कार्यक्रम पनि घर–जग्गा भएकालाई नै परेको छ । मुक्त हलिया पुनस्र्थापनामा पनि हामीलाई पारिएको छैन । पुर्खौंदेखि हाम्रा पूर्वजहरु र हामीले पनि हलो जोतेर पहाडमा जीविका चलाउँदै आएका हौँ । हलिया मुक्तिको घोषणापछि बास, गाँसको खोजी गर्दै यहाँसम्म आइपुगेका छौँ । बस्दै आएको ठाउँमा नदीले कटान गर्न थालेपछि अर्को कुन ठाउँमा गएर बस्ने भन्ने आफूहरूलाई पिरलो छ । भारतमा कमाउन गएका बस्तीका अधिकांश युवा पनि फर्केर आएका छैनन् । बस्ने ठेगान नहुँदा र जीविका चलाउने साधन नहुँदा युवाहरु भारतमै बस्दै आएका उनको भनाइ थियो । उक्त बस्तीमा १२ परिवारको बसोबास छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस