प्राकृतिक सम्पदा संरक्षण गर्न सबै एकजुट हुनुपर्छ : सभामुख महरा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्राकृतिक सम्पदा संरक्षण गर्न सबै एकजुट हुनुपर्छ : सभामुख महरा


१९ असार २०७६, बिहिबार


घोराही । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङको देउखुरी विभिन्न सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । लमही नगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर आज यहाँ आयोजना गरेको वृहत वृक्षरोपण कार्यक्रममा उनले पछिल्लो समय विभिन्न बहानामा वन जङ्गल मास्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।

वन जङ्गल जोगाउन सामुदायिक वनका उपभोक्ता स्वयम् सक्रिय हुनुपर्ने सभामुख महराको धारणा थियो । उनले संघीय संसद्मा वातावरण परिवर्तनबारे बहस चलिरहेको बताए । प्राकृतिक सम्पदाको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

“सबैको ध्यान वन जोगाउने तिर हुनुपर्छ । अनि मात्र नेपाललाई सधैँ हरियाली देख्न पाइन्छ’, सभामुख महराले भने । सो अवसरमा उनले लोपोन्मुख सतिसालको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सांसद मेटमणि चौधरीले मुलुकलाई हरियालीको रुपमा विकास गर्न देशभर वृहत वृक्षरोपण तथा वनको संरक्षणको आवश्यकता रहेको बताए । लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले जिल्लाका स्थानीय तहलाई संघीय सरकार र प्रदेश सरकारको बजेटले छुन नसकेको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस