जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण


२९ जेष्ठ २०७६, बुधबार


गोरखा । जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ, बराम तथा दलित समुदायका लागि घर निर्माणको काम भइरहेको छ । कार्यक्रम शुरु भएको पहिलो आर्थिक वर्षमा कुसुण्डा परिवारका लागि एक घर मात्र निर्माण भएकामा आव २०७३÷७४ मा १८७ घर निर्माण भएको डिभिजन कार्यालय गोरखाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए।

उक्त आर्थिक वर्षमा २०० घर निर्माणको लक्ष्य राखिएको भए पनि १३ घर निर्माणको काम भने पछिल्लो आर्थिक वर्षका लागि सरेको थियो । यस्तै क्रमागत गरी अघिल्लो आवको बाँकीसमेत गरेर कार्यालयले आव २०७४÷७५ मा २६३ घर निर्माण गरेको उनले बताए ।

“गएको आर्थिक वर्षमा ३०० घर निर्माणको योजना रहेको थियो । तीमध्ये २६३ घर निर्माणको काम सम्पन्न भयो, बांँकी ३७ घर चालू आवमा सम्झौता भइसकेका छन्”, उनले भने। प्रमुख थापाका अनुसार चालू आवका लागि गएको आवको क्रमागतसमेत गरी २३७ घर निर्माणका लागि कार्यक्रम आएको छ ।

अघिल्लो वर्ष बाँकी रहेका सबै घर निर्माणका लागि सम्झौता भएको छ । उनले भने, “बाँकी नयाँ २०० घर निर्माणका लागि अहिले छनोटको काम भइरहेको छ ।” यसपटक छनोट गरिने परिवारका लागि चालू आवमै घर निर्माण गर्ने कार्यक्रम आएको भए पनि ढिलो गरी कार्यक्रम आउँदा समस्या भएको उनले बताए । “कार्यक्रम ढिलो गरी आएकाले छनोट प्रक्रिया पनि ढिलो गरी मात्र शुरु भयो”, कार्यालय प्रमुख थापाले भने, “प्राथामिकताका आधारमा छनोट गरेर निर्माण गर्न बाँकी रहेका घर निर्माणका लागि प्रक्रियामा अघि बढेको छ ।” उनले जनता आवास कार्यक्रमअन्तर्गत छनोटमा परेकालाई कार्यालयले चार किस्ता गरेर कूल रु तीन लाख ३२ हजार ५०० उपलब्ध गराउँदै आएको बताए ।

छनोटमा परेकाहरूलाई घरको जग खनेपछि पहिलो किस्तावापत कूल रकमको २५ प्रतिशत, डिपिसीको काम सम्पन्न गरेपछि दोस्रो किस्तावापतको ३५ प्रतिशत, गारोको काम सम्पन्न भएपछि तेस्रो किस्तावापत ३० प्रतिशत र छाना तथा शौचालय निर्माणको काम सम्पन्न गरेपछि अन्तिम किस्तावापतको १० प्रतिशत रकम उपलब्ध गराउँदै आएकोे प्रमुख थापाले जानकारी दिए ।

सरकारले पछिल्लोपटक जनता आवास कार्यक्रमअन्तर्गत एक पालिका एक बस्ती निर्माणको योजना बनाएको उनले बताए । योजनाअन्र्तगत जिल्लाको चुमनुव्री गाउँपालिकामा र धार्चे गाउँपालिकामा दलित, आरुघाटमा बराम, भिमसेन थापा गाउँपालिकामा कुमाल र सहिद लखन गाउँपालिकामा चेपाङ समुदायका लागि घर प्राथमिकतामा राखेर निर्माण गरिनेछ ।

सबै कुसुण्डा र बादी समुदायलाई पनि यसै आर्थिक वर्ष र बराम समुदायलाई आउँदो आर्थिक वर्षमा घरयुक्त समुदाय बनाउने योजनामा कार्यालय रहेको उनले जानकारी दिए । गएको आर्थिक वर्षमा अतिविपन्न र अतिसीमान्तकृत समुदायका लागि मात्र घर निर्माण गरिँदै आएकामा चालू आवदेखि जिल्लाभित्रका कुसुण्डा र बादी समुदायका सबै परिवारका लागि घर बनाउने निर्णय भएको थापाले जानकारी दिए ।

जिल्ला आवास समन्वय समितिले गोरखाको चुमनुव्री गाउँपालिकामा रहेका दलित समुदाय, गोरखा नगरपालिकाभित्र रहेका बादी समुदाय, अजिरकोट र सिरानचोक गाउँपालिकाभित्र रहेका भुजेल समुदायबाट पनि विपन्नताको आधारमा छनोट गरी घर बनाइदिने निर्णय गरेको थियो ।

त्यस्तै पालुङटार नगरपालिका र गोरखा नगरपालिकाभित्र रहेका कुमाल समुदाय, थुमी र ताकुकोटका बराम समुदायमा रहेका विपन्नता भएका परिवारको छनोट गरी घर बनाउने निर्णय भएको प्रमुख थापाको भनाइ छ । कार्यालय प्रमुख थापाले जनता आवास कार्यक्रममार्फत जिल्लाको घ्याल्चोक, मकैसिङ, ताङिलचोक, भुम्लिचोक, ताक्लुङका चेपाङ र माझी समुदायका लागि समेत घर निर्माणका लागि छनोटको काम गरेको जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस