खेलकूद मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खेलकूद मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा


२१ जेष्ठ २०७६, मंगलबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मादी गाउँपालिका चिप्ली खेलकूद मैदान निर्माण कार्यमा संलग्न ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

खेलकूद मैदान निर्माणका लागि युवा तथा खेलकूद मन्त्रालयबाट आएको बजेट दुरुपयोग भएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा खर्च भएको रकम खेलकूद मैदान निर्माणको काम नै नगरी जिल्ला समन्वय समिति, कास्कीका प्राविधिक नन्दु राम, मादी गाउँपालिका–७ का वडा सचिव रामकृष्ण बाँस्तोला र सिद्ध युवा क्लब, चिप्लीका अध्यक्ष विशाल गुरुङको मिलोमतोमा हिनामिना भएको भन्ने उजुरी आयोगमा परेको थियो ।

निर्माण समितिका पदाधिकारीले अनधिकृत रुपमा रु १ लाख ८६ हजार २७४ बराबरको रकम हिनामिना गरेको पाइएको छ । आयोगले भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिकामा कार्यरत सव–इञ्जिनीयर नन्दु राम, तत्कालीन जिल्ला विकास समिति, पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इञ्जिनीयर हरिबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख जिल्ला इञ्जिनीयर नारायणप्रसाद बराल, तत्कालीन मादी गाउँपालिका–७ मा कार्यरत रामकृष्ण बाँस्तोला, तत्कालीन जिल्ला विकास समितिको कार्यालय, कास्कीका लेखा अधिकृत पदमा कार्यरत झलकप्रसाद आचार्य, सोही कार्यालयका लेखापाल विष्णुप्रसाद बराल, चिप्ली खेलकूद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङविरुद्ध जनही रु एक लाख ८६ हजार २७४ बिगो दाबी गर्दै आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस