गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रधानमन्त्री ओली


प्रशासन विशेष ब्युरो

१५ जेष्ठ २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।
गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

“विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो ।” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्,“जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले सन्देशमा यस दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गरेका छन् । “गणतन्त्र दिवसले गणतन्त्र र गणतान्त्रिक संस्थाहरुको मर्यादा गर्न सिकाएको छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो” उनकोे सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरेका छन् । “हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्ध केन्द्रीत छ । गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।”

प्रतिक्रिया दिनुहोस