कार्यालय प्रमुखकै कार्यकक्षमा तालीम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यालय प्रमुखकै कार्यकक्षमा तालीम


११ जेष्ठ २०७६, शनिबार


सुर्खेत । “काम त अहिले पनि गरिरहेकै छौँ तर के गर्ने, निकै अप्ठ्यारो परिस्थितिबाट । नगरौँ भने नहुने र गरौँ भने आवश्यक पूर्वाधार एवं स्रोत साधनको अभावै अभाव छ”, कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले भने ।

पंगेनी कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयअन्तरगत पशुसेवा तालीम केन्द्र सुर्खेतमा कार्यालय प्रमुखका रुपमा कार्यरत छन् । अभावका बीचबाट काम गर्नुपर्दा सेवाग्रहीलाई भने जस्तो सेवा दिन नसकिएको उनले बताए । १२ कर्मचारी दरबन्दी भएको यस तालीम केन्द्रमा अहिले दुईजनाले काम गर्नुपर्ने बाध्यता छ । “न आफ्नै तालीम केन्द्रको भवन छ नत दरबन्दीअनुसारको कर्मचारी”, उनले भने ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञको अति पुरानो भवनलाई मर्मत गरी आफ्नै कार्यकक्षमा प्रदेशस्तरीय तालीम सञ्चालन गरिएको प्रमुख पङ्गेनीले बताए । उनले अगाडि भने, “एक उपसचिवसहित चार अधिकृत, तीन प्राविधिक सहायक कर्मचारी मात्रै छौँ । प्रदेशस्तरीय तालीम केन्द्रको कार्यालयमा मन्त्रालयको पुराना कुर्ची, सोफासेट ल्याएर काम चलाएको छु । सवारी साधन पनि नहुँदा आवातजावात गर्न त्यतिकै अप्ठ्यारो भएको छ ।”

काम गर्ने अनुकूल वातावरण नभए पनि आफ्नो दायित्व पूरा गरेको उनको भनाइ थियो । उनका अनुसार आफ्नै कार्यकक्षमा भए पनि कर्मचारी र व्यावसायिक किसान गरेर १२४ लाई तालीम प्रदान गरिएको छ । असार पहिलो सातासम्म शतप्रतिशत प्रगति देखाउने उनको दाबी थियो । ज्ञान, सीप र प्रविधि प्रवाह गर्ने तालीम केन्द्रको यो हालतले भने काम गर्न कठिन भएको उनको गुनासो थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्मचारीले गाह्रो परिस्थितिसँग जुधेर पनि काम गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् । प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउँदै गरेको जनाउँदै उनले तालीम केन्द्रको भौतिक आवश्यकता, आगामी चालू आवमा सञ्चालन गर्ने विशेष योजना र कार्यक्रम तयार पारेर जतिसक्दो छिटो दिन उनले कर्मचारीलाई निर्देशनात्मक सुझाव दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस