कुखुरापालन व्यवसायमा रमाउँदै युवा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कुखुरापालन व्यवसायमा रमाउँदै युवा


९ जेष्ठ २०७६, बिहिबार


बेझाड । वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहुँदै पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रममा छ ।

पाल्पा रामपुरका तीन युवाहरुले भने एक उदाहरणीय कामको थालनी गरेका छन् । रामपुर नगरपालिका क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउन रामपुर एग्रोफार्म दर्ता गरी समूहमा व्यवसाय चलाउँदैछन् । रामपुर नगरपालिका–८ बस्ने युवा भुवन अर्याल, आशीष अर्याल र गणेश अर्यालले एक वर्षअघि देखि रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन् ।

यो व्यवसाय रामपुर नगरपालिका क्षेत्रकै ठूलो लगानीमा सञ्चालन भएको नमूना व्यवसाय हो । वार्षिक रु ५० हजार बुझाउने गरी २७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय चलाएको सञ्चालक भुवन अर्याल बताउँछन् । “गाउँमै बसेर कृषिमा काम गर्ने योजनाका साथ साथीसँग सहकार्य गर्दै व्यवसाय सञ्चालन गरेका छौँ, राम्रै भइरहेको छ” उनले भने । बाहिरबाट उत्पादित अण्डा दिनहुँ रामपुर बजारमा भित्रँदा स्थानीय उत्पादनले बजार पाउन सहज नभएको आशीष अर्याल बताउँछन् । फार्ममा हाल पाँच हजार कुखुरा रहेका छन्, अबको पाँच वर्षभित्र पन्ध्र हजार कुखुरा पुर्‍याउने लक्ष्य रहेको अर्यालले बताए ।

युवाहरुले सरकारले उपलब्ध गराएको सहुलियत ऋण लिएर व्यवसायमा लगानी गरेका हुन् । व्यवसायमा ऋण सहयोग पाएपछि उनीहरुमा उत्साह र हौसला बढेको छ । अहिले दुई हजार कुखुराबाट दैनिक दुई हजार ४०० अण्डा उत्पादन भइरहेको छ । मासिक रु चार लाख ८० हजार बराबरको आम्दानी र एक लाखभन्दा बढी खर्च भइरहेको गणेश अर्यालले बताए ।

“लगानी ठूलो रहेकोले व्यवसाय शुरुआतको चरणमा छौँ, अहिले नै आम्दानीभन्दा पनि लगानी गर्ने क्रममा नै छौँ र यस क्षेत्रलाई अण्डा उत्पादनको क्षेत्रका रूपमा पहिचान गराउने योजनाका साथ काम गरिरहेका छौँ”, उनले भने । यस व्यवसायबाट यहाँका दुई युवाले रोजगारी गर्ने अवसर पाएका छन् भने अर्कोतर्फ बाझिएका जमीन सदुपयोगमा आएको छ । दीर्घकालीन सोच बनाएर यही व्यवसायमा रमाउने योजनाका साथ शुरुमै ठूलो लगानी गरेको युवाको भनाइ छ ।

युवालाई यही बसेर व्यवसाय गर्ने वातावरण सिर्जना गर्न युवा स्वरोजगारका कार्यक्रममा जोड दिइएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए । “व्यवसायका लागि प्रशस्त जमीन, सिँचाइ, यातायातको राम्रो सुविधा भएको यस क्षेत्रमा कुखुरापालनलगायत विभिन्न कृषि तथा पशुपालन व्यवसायबाट आर्थिक लाभ लिन सकिन्छ”, उनले भने ।

युवालाई सकेसम्म विभिन्न सरसामान दिनुभन्दा व्यवसायमा ऋण सहयोग गर्न सकियो भने उपलब्धिमूलक हुने प्रमुख प्रशासकीय अधिकृत अर्याल बताउँछन् । यस क्षेत्रकै ठूलो र नमूना व्यवसाय भएकाले पनि फार्म अवलोकन गर्र्नेको चहलपहल दिनहुँ बढ्दो छ । यहाँ उत्पादित अण्डा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका विभिन्न बजारमा खपत भइरहेको छ । उत्पादित वस्तु गुणस्तरको भए पनि स्थानीय उत्पादनलाई उपभोक्ता र व्यापारीले महत्व नदिँदा बजार पाउन समस्या परेको छ । बाहिरबाट बजारमा भित्रिएका कमसल खालका वस्तुले बजार पाइरहेको छ ।

पाल्पा जिल्ला अण्डामा आत्मनिर्भर भए पनि उपभोक्ता र व्यापारीले गुणस्तरभन्दा पनि सस्तो वस्तु खरीद गर्ने परपाटीले स्थानीयले उत्पादनले बजार लिन नसकिरहेको अवस्था छ । उत्पादित वस्तुको बजार व्यवस्थापनमा स्थानीय तहले भूमिका खेल्न सक्यो भने कृषकलाई ठूलो राहत मिल्नेछ । स्थानीय तहले व्यवस्थापन गरिदिएको खण्डमा युवाहरुले व्यवसायलाई बढाउँदै जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस