जापानी नागरिकद्वारा विद्यालयमा अक्षयकोष स्थापना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जापानी नागरिकद्वारा विद्यालयमा अक्षयकोष स्थापना


१७ बैशाख २०७६, मंगलबार


जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गरेका छन् । यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले झोला अक्षयकोष शीर्षकमा ८० हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

सो रकम विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको शैक्षिक पठनपाठनमा खर्च गर्ने सहमतिअनुसार ओकेबाजेले अक्षयकोष स्थापना गरिदिएका छन् । दुर्गम र विकट क्षेत्रमा सञ्चालित यस विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्था देखेर अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोषदाता ओकेबाजले बताए ।

ओकेबाजेले स्थापना गरेको अक्षयकोषबाट सबै विद्यार्थीलाई मिलाएर विभिन्न शैक्षिक सामग्री, कापी, कलम, झोला, छात्रवृत्ति वितरण गरिने प्रधानाध्यापक हुमबहादुर सुनारीले बताए । यस विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । हाल १६० विद्यार्थी भर्ना भएका छन् भने भर्ना हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । गत वर्ष विद्यलायमा १८१ विद्यार्थी अध्ययनरत थिए ।

करीब दुई दशक पाल्पालाई कमर्थलो बनाएर ओकेबाजेले सामाजिक क्षेत्रमा तल्लीन भएर काम गरिरहेका छन् । उनले जापानका विभिन्न सङ्घसंस्था, व्यक्तिसँग सहकार्य र समन्वय गरी आर्थिक रकम जुटाएर शिक्षा, स्वास्थ्य, खानेपानी, विपन्नको आर्थिक उपचारलगायतका क्षेत्रमा ठूलो रकम खर्च गर्दै आएका छन् ।

शैक्षिक सामग्री सहयोग

माथागढी गाउँपालिकाले मगर मातृभाषामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । वडा नं १ मा अवस्थित जाउपोखरा आधारभूत विद्यालय र नवजागृत प्राविमा अध्ययनरत ८३ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए ।

“मगर समुदायका बालबालिकालाई नियमित विद्यालयमा जाने बानी बसाल्न र कोही अतिविपन्न परिवारका बालबालिका रहेको हुँदा पठनपाठनमा सहयोग पुगोस् भनेर विभिन्न शैक्षिक सामग्री प्रदान गरेका हौँ”, उनले भने ।

झोला, सिसाकलम, किताब, कापीलगायतका विभिन्न शैक्षिक सामग्री पाएपछि यहाँका विद्यार्थी खुशी भएका छन् । मगर समुदायको बाक्लो बस्ती रहेको यस गाउँपालिका दुर्गम र विकट क्षेत्रमा पर्छ । शैक्षिक सामग्रीको अभावकै कारण केही बालबालिका नियमित विद्यालयमा जाने गरेको पाइँदैन । नियमित विद्यालय नजाने, बीचमै विद्यालय छाड्ने अतिविपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री पाएपछि पठनपाठनमा ठूलो राहत मिलेको छ । रासस

प्रतिक्रिया दिनुहोस