‘संक्रमण हटाउन कर्मचारी आवश्यक’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘संक्रमण हटाउन कर्मचारी आवश्यक’


१५ बैशाख २०७६, आइतबार


भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर कर्मचारीले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, शिक्षा विभागीय कार्य समितिले सङ्गठनको स्थापना दिवसको अवसरमा आज सानोठिमीमा आयोजना गरेको कार्यक्रममा उनले देशमा प्रशासनिक र कानूनी संक्रमण रहेको बेलामा कर्मचारीले सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

बदलिदो अवस्थाअनुसार कर्मचारी ट्रेड युनियनले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले गुणात्मक शिक्षालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने औँल्याए । उनले सरकारले विसं २०७६ देखि २०८५ सम्म सार्वजनिक विद्यालय रुपान्तरण अभियान भनेर घोषणा गरेको उल्लेख गर्दै यसलाई सफल पार्न पनि कर्मचारी, जनप्रतिनिधि, अभिभावक र सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा शिक्षा सचिव खगराज बरालले सरकारले कर्मचारीलाई उत्साहपूर्वक तथा ऊपयुक्त ढङ्गले नतिजा दिने किसिमले प्रयोग गर्नुपर्ने बताए । उनले कर्मचारी समायोजन गर्दा सकेसम्म कर्मचारीको पिरमर्का बुझेर समस्या सुल्झाउने कोशिस सरकारले गरेको उल्लेख गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शिक्षा क्षेत्रबाट नेपाल सरकारको सचिव पदमा पुग्नु यस क्षेत्रमा काम गर्नेका लागि गौरवको विषय भएको बताए ।

नेपाल निजामती सङ्गठन केन्द्रीय कार्य समितिका अध्यक्ष केदारप्रसाद देवकोटा, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, केन्द्रीय कार्य समितिका अध्यक्ष पुण्यप्रसाद ढकाल, शिक्षा विभागीय कार्यसमिति नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष भिमा कोइराला लगायतले कर्मचारी समायोजनमा सङ्गठनले सहयोग गर्ने तर कर्मचारीका अप्ठ्यारालाई सरकारले बुझिदिनुपर्ने बताए ।

हाम्रो सम्पर्क डायरी २०७६ विमोचन गर्नुका साथै गत वर्षको अभियानमा भर्ना भएका विद्यार्थीलाई निरन्तरता दिन अक्षय कोष स्थापनाको घोषणा गरिएको थियो । साथै शिक्षा सेवाबाट नेपाल सरकारको विशिष्ठ श्रेणी (सचिव)को पदमा बढुवा भएकालाई सम्मान गरिएको थियो ।

सचिव बराल, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम, निर्वाचन आयोगका सचिव देवकुमारी गुरार्गाइं, गण्डकी प्रदेशका पूर्वप्रमुख सचिव लक्ष्मीराम पौडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस