हतारको बिहे पछुतो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हतारको बिहे पछुतो


१५ बैशाख २०७६, आइतबार


लम्की । कैलाली टीकापुर–१ एकतानगरकी रुपा विक अहिले २१ वर्षको पुगिन्। २१ वर्षमा उनको तीन सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाले १६ वर्षमा पहिलो सन्तान जन्माइन्, त्यसपछि १८ वर्षमा दोस्रो र २० वर्षमा तेस्रो सन्तान जन्माइन् । हाल रुपाको कान्छो छोरा पनि एक वर्षको पुगिसकेको छ ।

बालविवाहका कारण रुपाले सन्तान राम्ररी स्याहार्न नसकेको बताइन् । ‘सानै उमेरमा विवाह गरेँ, विवाहको अर्थ थाहा थिएन, विवाहलगत्तै १६ वर्षमै पहिलो सन्तान जन्माएँ, त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो’, रुपा भन्छिन्, ‘बालविवाह कसैले गर्नु हुँदैन, सानैमा विवाह गर्दा पढ्न पाइएन, जसको पछुतो सधैँ रहन्छ ।’

रुपाजस्तै १७ वर्षीया उर्मिला परियारले पनि १५ वर्षमा भागी विवाह गरिन् । उर्मिलाको घरको अवस्था दयनीय थियो, खान लाउनकै समस्या भएपछि विवाह गरेको उनको भनाइ छ ।

‘बुवाआमालाई जिम्मेवारी बढी भयो, विवाह गरेमा सहज होला ठानेर विवाह गरे, सानैमा आमा पो बनियो ? ‘ उर्मिला भन्छिन्,’त्यतिखेर दुःख गरेर पढेको भए हुन्थ्यो, गल्ती गरियो । सानै उमेरमा विवाह गरेर जीवन सहज कहिल्यै बन्दैन ।’

रुपाजस्तै एकतानगर शिविरमा १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनिषा सुनारजस्ता किशोरी पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पछुतोमा छन् ।

उनीहरु हतारमा गरिएको बिहेले जीवन कष्टकर भएको बताउँछन् । ‘सानै उमेरमा गरिने विवाहले यी किशोरीको स्वास्थ्य कमजोर छ । साथै यिनका बालबालिका पनि स्वस्थ छैनन् ।’ शिविरका अध्यक्ष रणबहादुर विकले भन्छन्,’युवावस्थामा गरिने गल्तीले जीवनभरि पछुताउनु पर्छ ।’

अधिकांश युवतीले आर्थिक अवस्था कमजोर भएकै कारण विवाह गरेको बताएका छन् । एकतानगरकी भगवती जोशीले आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय जान नसकेको बताउँदै भनिन्,’जवान छोरी विद्यालय नगए विवाह गर्नुपर्छ भन्ने हुन्छ, जसले गर्दा बालविवाह भइरहेको छ ।’

एकता नगरकै ललिता परियार अहिले २१ वर्षको भइन् । उनलका पनि सन्तान छन् । अन्जानमै सानै उमेरमा वालविवाह गरेकी ललिता भन्छिन्, ‘अहिलेका किशोर किशोरी बालविवाह नगर्नुहोला ।’

त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत आफ्नो विद्यालयमा ४/५ बालिकाले हरेक वर्ष बालविवाह गरेकै कारण विद्यालय छाड्ने गरेको बताउछन् ‘यसवर्ष पनि चार किशोरीले भागेर विवाह गरेछन्, विवाहपछि विद्यालय आउन कठिन छ । उनीहरुको पढाइ बिग्रिएको छ ।’ प्रधानाध्यापक कठायत भन्छन्, ‘अभिभावक सचेत नबनेसम्म बालविवाह रोक्न सकिँदैन ।’

महिला अधिकारकर्मी नन्दा विक गरीबीका कारण पनि बालविवाह भइरहेको बताउछन् । उनको भनाइमा यदि रोजगारीका अवसर पाएको भए आर्थिक अवस्था मजबुत हुन्थ्यो, बालबालिका विद्यालय जान पाउँथे र बालविवाहको दर घट्ने थियो ।

दिगो विकास महिला सञ्जाल टीकापुरका अध्यक्ष चन्द्रावती शर्मा २० वर्षमुनिको विवाहलाई कानूनले स्वीकृति नदिएको बताउँदै यदि कसैले विवाह गरेको खण्डमा कानूनी कठघरामा उभिनुपर्ने धारणा व्यक्त गरे ।

टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले नगरपालिकाले बालविवाह गर्ने र गराउने दुवैलाई कारवाही गर्ने कानूनी व्यवस्था रहेको बताए । उनले बालविवाह न्यूनीकरणका लागि अभिभावक, समाज सचेत हुनुपर्ने बताउँदै उमेर पुगेपछि मात्रै विवाह गर्न सबैमा आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस