नेपाल बहुसूचक सर्वेक्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल बहुसूचक सर्वेक्षण


प्रशासन विशेष ब्युरो

१५ बैशाख २०७६, आइतबार


तथ्यांक

समाजको हरेक क्षेत्रमा तथ्यांकको महत्त्व दिनानुदिन बढ्दै गइरहेको छ । देशको विकास योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि तथ्यांकहरू नितान्त आवश्यक हुन्छन् । यी सबै कार्यका लागि उत्पादित तथ्यांक गुणस्तरीय, भरपर्दो र विश्वसनीय हुनु जरुरी छ । साथै उत्पादित तथ्यांकको सही उपयोग पनि उत्तिकै आवश्यक हुन्छ । नेपालमा तथ्यांक सङ्कलन तथा प्रकाशन गर्ने प्रमुख सरकारी निकाय केन्द्रीय तथ्यांक विभाग हो । बहुसूचक सर्वेक्षण युनिसेफद्वारा विकास गरिएको सर्वेक्षण ढाँचामा सञ्चालित हो । यो ढाँचा अनुसार नेपाल लगायत विश्वका धेरै देशहरूमा सर्वेक्षण सञ्चालन हुँदै आइरहेको छ र यस सर्वेक्षणबाट प्राप्त नतिजाहरू अन्तर्राष्ट्रियस्तरमा समेत तुलनायोग्य हुन्छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) को प्राविधिक तथा आर्थिक सहकार्यमा सञ्चालन हुने यस सर्वेक्षण अन्तर्राष्ट्रिय सन्दर्भमा छैटौँ चरणको हो । यस सर्वेक्षणको नतिजाबाट बाल मृत्युदर, पोषण, बाल स्वास्थ्य, खाने पानी तथा सरसफाइ, प्रजनन स्वास्थ्य, प्रारम्भिक बाल विकास, शिक्षा तथा साक्षरता, बाल अनुशासन, एच.आई.भी.तथा एड्स, आमसञ्चारमा पहुँच र सूचना तथा प्रविधिको प्रयोग, सुर्ती तथा मदिरा सेवनसँग सम्बन्धित सूचकहरू, आदि तथ्यांकहरू उपलब्ध हुनेछ ।

नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ नेपालका लागि तेस्रो र विश्वव्यापी रूपमा छैटौँ सर्वेक्षण हो । नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ केन्द्रीय तथ्यांक विभाग लैङ्गिक तथा सामाजिक तथ्यांक शाखाबाट सञ्चालित बहुसूचक सर्वेक्षण हो । विश्वव्यापी रूपमा सञ्चालन हुने बहुसूचक सर्वेक्षणको छैटौँ श्रृंखलाबाट विशेष गरी महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, वाल मृत्यु, पोषण, खाने पानी तथा सरसफाइ, प्रजनन, बाल विकास आदिको अवस्था बारेको स्थिति, बालबालिकाका लागि उपयुक्त विश्व तथा दिगो विकास लक्ष्यहरूको सूचकहरू तथा बहुआयामिक गरिबी मापनको सूचक प्राप्त भई अनुगमन तथा मूल्याङ्कनको लागि आधार तयार हुन्छ । यसबाट विशेषतः महिला तथा बालबालिका सम्बन्धी भरपर्दो तथा विश्वासिलो तथ्यांक आपूर्ति हुनेछ ।

सर्वेक्षण विधि
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ नमुना छनौट विधिमा आधारित सर्वेक्षण हो । यसको लागि पहिलो चरणमा वडा वा वडा खण्ड छानिएका हुन्छ । अर्थात्, वडा/वडा खण्डहर यो सर्वेक्षणका प्राथमिक एकाइ हुन् । सर्वेक्षणका लागि नेपालको सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी प्राथमिक एकाइहरू छानिएका छन् । यस सर्वेक्षणमा यी प्राथमिक एकाइलाई क्लष्टर भनिएको छ ।

सर्वेक्षणको गुणस्तरीयता
छनौटमा परेको क्लष्टरभित्र सङ्कलन गरिएका सबै तथ्यांकहरुको स्थलगत सम्पादन पनि त्यहीँ गरिसक्नु पर्दछ । स्थलगत सम्पादनबाट तथ्यांक लिँदा गल्ती भएको वा तथ्यांक लिन नै छुटेको वा विभिन्न मोड्युल/खण्डहरु बिचका  तथ्यांकहरूमा असामञ्जस्यता रहेको भए सो को समयमै जानकारी हुन्छ । कहीँ कतै समस्या वा गल्ती देखिएमा गणकले सम्बन्धित परिवारमा गएर सम्पर्क राखी पुनः तथ्यांक लिनु पर्दछ । फिल्डमा नै विवरण सम्पादन गरेर सच्याउने प्रक्रियाले तथ्यांकको गुणस्तर र विश्वसनीयता बढाउन मद्दत गर्नेछ ।

अवधारणा र सन्दर्भ समय
नेपालको सन्दर्भमा यस सर्वेक्षणमा देशभित्र अक्सर बसोबास गर्ने नमुना छनोटमा परेका परिवार र परिवार भित्रका १५ देखि ४९ वर्ष उमेरका महिला, १५ देखि ४९ वर्ष उमेरका पुरुष, ५ देखि १७ वर्ष उमेरका बालबालिका र पाँच वर्ष मुनिका बालबालिकाको नछुट्ने र नदोहोरिने सिद्धान्त अवलम्बन गरी पारिवारिक तथा व्यक्तिगत विवरणहरू सङ्कलन गरिन्छ । यस सर्वेक्षणमा गणनाको समयमा अक्सर बसोबास गरेको स्थानबाट सङ्कलन विवरण सङ्कलन गरिन्छ । अक्सर बसोबासको स्थान भन्नाले कुनै व्यक्ति धेरैजसो बसोबास गरेको स्थान वा गणनाको समयको ६ महिना वा सो भन्दा धेरै अघिदेखि बसोबास गरिरहेको स्थानलाई जनाउँदछ । नेपाल बहुसूचक सर्वेक्षण छनोटमा परेका प्रत्येक घर दैलोमा गई घरपरिवार मूल वा परिवारको जिम्मेवार जान्ने बुझ्ने व्यक्तिसँग सोधी ट्यावलेटवाटै विवरण भरिने छ । यसमा शिक्षा खण्डको सन्दर्भ समय शैक्षिक सत्र २०७५ र शैक्षिक सत्र २०७६ हुनेछ । त्यसै गरी सामाजिक सुरक्षा कार्यक्रमको सन्दर्भ समय २०७४ श्रावण देखि २०७५ असार मसान्त रहने छ । भने अन्य विवरण गणना टोलीले विवरण लिँदाको दिन नै हुने छ ।

प्रदेशगत वर्गीकरण
प्रत्येक क्लस्टर वाट २५ परिवार यस सर्वेक्षणमा छनौट हुनेछन् र यसरी नेपाल भरी गरी १२८०० परिवार सँग विवरण सङ्कलन हुनेछ । यस सर्वेक्षणको मुख्य स्थलगत कार्यको लागि मिति २०७५।१२।२७ देखिको १ महिनाको तालिम र सो पश्चात् २०७६ जेठ देखि २०७६ कार्तिक सम्म गणना टोली स्थलगत कार्यमा खटिने छ । दुई चरणमा सञ्चालन हुन लागेको यस सर्वेक्षणको आवश्यक तयारी निरन्तर चलिरहेको छ ।

प्रश्नावली
यस सर्वेक्षणमा दोस्रो चरणमा सिस्टोमेटिक स्याम्पलिंग विधि प्रयोग गरी छानिएका हरेक क्लस्टर मध्येका २५ परिवारबाट नै विवरण सङ्कलन गरिन्छ । यस सर्वेक्षणमा ६ प्रकारका प्रश्नावली प्रयोग हुनेछन् । सर्वप्रथम पारिवारिक प्रश्नावली भरिसके पश्चात् क्रमशः पुरुष प्रश्नावली, महिला प्रश्नावली, ५ देखि १७ वर्षका बालबालिकाको प्रश्नावली, पाँच वर्ष मुनिका बालबालिकाको प्रश्नावली र पानी परीक्षण गरिने छ । प्रश्नावलीको महत्त्व र प्रकृतिका आधारमा पुरुष प्रश्नावली, महिला प्रश्नावली क्रमशः पुरुष गणक र महिला गणकबाट नै भरिने छ । यसरी प्रयोग गरिएका प्रश्नावलीहरू नेपाल बहुसूचक सर्वेक्षण २०७० को भन्दा धेरै परिष्कृत र केही मोड्यूलहरु नयाँ पनि रहेका छन् । साथै यस पटकको सर्वेक्षणमा पानीको इ कोलाइ र आर्सनिक परीक्षण पनि गरिँदै छ । विगतको सर्वेक्षणमा भने पानीको इ कोलाइ मात्र परीक्षण गरिएको थियो । प्रश्नावली र नमुना छनोटको विवरण तलको चित्र बाट स्पष्ट पारिएको छ ।

जनशक्ति व्यवस्थापन
नेपाल बहुसूचक सर्वेक्षण सञ्चालनका लागि केन्द्रका जनशक्ति सहित कुल १२० जना खटिने छ । देशका ७५ जिल्लामा कुल १०४ जना सुपरिवेक्षक, गणक र मापन कर्ता रहने छन् । नेपाल बहुसूचक सर्वेक्षण २०१९ को मुख्य तथ्यांकसङ्कलनको लागि जिल्ला स्थित तथ्यांक कार्यालयका सुपरिवेक्षक, खरिदार तथा गणकहरू जम्मा ३६ जना र युनिसेफ नेपालको सहयोगमा ए२ए संस्था मार्फत उपलब्ध गराइएका जम्मा ६८ जना गरी कुल जम्मा १०४ जनाको लागि ३० कार्य दिनको स्थलगत तथ्यांक सङ्कलन तालिम सञ्चालन पश्चात् स्थलगत कार्यमा खटाइने छ । त्यसै गरी नेपाल बहुसूचक सर्वेक्षण, २०७५/७६ को नमुना छनौटमा परेका ५१२ क्लष्टरहरुको स्थलगत कार्यमा संलग्न हुने कर्मचारीहरू विभिन्न १६ वटा टोलीमा बाँडिएका हुन्छन् । प्रत्येक समूहमा ४ जना गणकहरूका अतिरिक्त एक जना सुपरिवेक्षक, तथा एक जना मापनकर्ता रहने व्यवस्था गरिएको छ ।

नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ का प्रमुख विशेषताहरू 
यो महिला, पुरुष एवं बालबालिकाहरूको स्वास्थ्य तथा शिक्षा जस्ता विषयको अति गहन पारिवारिक सर्वेक्षण हो । यो सर्वेक्षणमा पाँच प्रकारका प्रश्नावलीहरू प्रयोग गरिनेछन् – पारिवारिक प्रश्नावली, महिलाहरूको व्यक्तिगत प्रश्नावली, पुरुषहरूको व्यक्तिगत प्रश्नावली, ५ देखि १७ वर्षका बालबालिकाको व्यक्तिगत प्रश्नावली र पाँच वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावली । प्रत्येक प्रश्नावलीमा धेरै मोड्युलहरु रहेका छन् । त्यसैले अरू पारिवारिक सर्वेक्षणको प्रश्नावली भन्दा यो निक्कै लामो छ । ती प्रश्नावलीहरूको साथै खानेपानीको गुणस्तरसम्बन्धी प्रश्नावली तथा पाँच वर्षमुनिका बालबालिकाको तौल र उचाई/लम्बाई मापन पनि यस सर्वेक्षणमा समावेश गरिएको छ ।

 सुपरिवेक्षक र गणक तथा मापनकार्ताको अनुपात १ः५ कायम गरिएको छ, जसले सुपरिवेक्षण कार्य प्रभावकारी बनाउन सघाउने देखिन्छ ।
 छनोटमा परेको देशको सबै भागमा सर्वेक्षण टोली दुई चरणमा परिचालन गर्ने तयारी छ ।
 देशका ७५ वटै जिल्लामा जिल्ला स्थित तथ्यांक कार्यालय, केन्द्रीय तथ्यांक विभाग र राष्टिय योजना आयोग वाट अनुगमन र सुपरिवेक्षण गर्ने योजना रहेको छ ।
 तथ्यांक सङ्कलनमा एकरुपता कायम गर्न मुख्य प्रशिक्षक प्रशिक्षणमा सहभागी निर्देशकहरूबाट मुख्य स्थलगत तथ्यांक सङ्कलन तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
 वीइन्डोज् बेस्ड ट्यावलेटवाट विवरण सङ्कलन भरिने भएको हुँदा धेरै गुणस्तरीय र त्रुटि रहित हुनेमा आश्वस्त हुन सकिन्छ ।
 दुई आर्थिक वर्षमा सञ्चालन हुने हुँदा यस सर्वेक्षणलाई २ चरणमा विभाजन गरी पहिलो चरणमा हिमाली सहित ४३ जिल्लामा सर्वेक्षणको कार्य सम्पन्न हुनेछ भने आ व २०७६/७६ को बाँकी अवधि तराइ लगायतका बाँकी स्थानमा हुनेछ ।

केन्द्रीय तथ्यांक विभाग

 

प्रतिक्रिया दिनुहोस