चीनमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)


प्रशासन संवाददाता

१३ बैशाख २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् ।

चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल-चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।’

बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दुरदृष्टिले विशाल सम्भावना बोकेको उनले बताइन् । ‘यो सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षण हो,’ उनले भनिन्, ‘विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।’

विश्वको कुनै एक कुनाको गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्ने बताउँदै उनले अझ बढी सहकार्यको आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ । सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ ।’

लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको स्मरण गर्दै उनले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको जानकारी दिइन् । विकासका चुनौतीहरु सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको उनले बताइन् ।

राष्ट्रपति भण्डारीले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न, न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी नियममा आधारित विश्व व्यवस्था निर्माण गर्न र वेल्ट एण्ड रोड फोरम सक्षम हुने विश्वास समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले गरेको सम्वोधनको पूर्णपाठ :

महिला तथा सज्जनवृन्द,

मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु ।

यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै चिनियाँ जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठका अवसरमा चिनियाँ सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहान्छु ।

विश्व आज गम्भीर परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरिबी घटेको छ । स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ । र धेरै अर्थतन्त्रहरु समृद्ध बन्दै गइरहेका छन् । अभुतपूर्वस्तरका प्रारम्भिक क्रान्तिले सम्भावनाहरुको ढोका खोलिदिएको छ । आपसी सहयोग नभएको भए यी उपलब्धीहरु सम्भव हुने थिएनन् । आपसी सहकार्यविना यी सफलता सोच्न सकिने थिएन ।

यसका बाबजुद नयाँ तथा पुराना चुनौतीहरु स्पष्ट रुपमा देखा परेका छन् । सम्पत्तिको असमान वितरण व्याप्त छ । धेरैका लागि विकासका प्रतिवद्धताहरु पूरा भएका छैनन् । करोडौं मानिसहरु गरिबीको अमानवीय चक्रमा अहिले पनि बाँचेका छन् । संरक्षणवाद र एकांकी प्रवृत्तिहरु सतहमा आइरहेका छन् ।

त्यसप्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धीहरुलाई संकटमा पार्ने मात्र नभइ भावि पुस्तालाई समेत अन्यायमा पार्ने छ । विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ ।

तसर्थ विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ । सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ ।

एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । धेरै समृद्ध सभ्यता भएकाले एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित हुनुपर्दछ ।

बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको छ । यो सहकार्य, सहयोग र सम्पन्नताको लागि एक महत्वपूर्ण क्षण हो । आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामुलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो । यसले कनेक्टिभिटीको प्रवर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवम् बाहिरका देशहरुमाझ बिभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकांकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवर्द्धन गर्दछ ।

विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्दछ । साथै विकासको फलबाट कुनै पनि विचार र कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ । बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ ।

नेपाल चीन सीमाना पार रेलवे लगायत हिमालय वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग समेत कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।

लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ । अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुनु हाम्रो तत्कालको उद्देश्य हो । हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं ।

हाम्रा विकासका चुनौतीहरु सामना गर्न छिमेकीहरु लगायत अन्य मित्र राष्ट्रहरु तथा विकासका साझेदारसँग द्वीपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहान्छौं ।

अन्तमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामुहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो वेल्ट एण्ड र रोड फोरम सक्षम हुने छ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना दिन चाहान्छु ।

धन्यवाद ।

Tags :
प्रतिक्रिया दिनुहोस