उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल


११ बैशाख २०७६, बुधबार


चितवन । आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रतिष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् ।

नेपाल नेत्रज्योति संघले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर जानेको सङ्ख्या घट्न थालेको हो ।

विगतका वर्षमा यहाँका धनाढ्य, व्यावसायिक घरानाका व्यक्तिहरु, पहुँचवाला, उच्च पदमा आसिन व्यक्तिहरु आँखाको उपचारका लागि काठमाडौँ र विदेशसम्म जाने गर्दथे । तर अहिले आँखाको उपचारका लागि भारतसँगै काठमाडौँ लगायतका महत्वपूर्ण शहरबाट यहाँ बिरामी आउन थालेका हुन् ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष के एल भूषण यहाँको सुविधा काठमाडौँभन्दा राम्रो भएपछि यहीँ एउटा आँखाको शल्यक्रिया गरेको बताउछन् । देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रिया काठमाडौँमा गरेका भूषणले दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया चितवनमै गरेका हुन् । उनी जिल्लाका ठूला व्यवसायी छन् ।

प्रदेश नं ३ सदस्य घनश्याम दाहालले दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया यहीँ गरे । यही वैशाख १३ गते देब्रे आँखाको शल्यक्रिया गर्ने तयारीमा छन् । उनले भने, ‘आँखाको उपचारका लागि बाहिर जानुपर्दो रहेनछ ।’

इञ्जिनीयर शरद गोपाल न्याच्यौ आफूले अघिल्लो दिन आँखा देखाएर भोलिपल्टै मोतियाविन्दुको शल्यक्रिया गरेको बताउछन् । आँखाको उपचारका लागि चितवनबाट बाहिर जानु नपर्ने अवस्था भरतपुर आँखा अस्पतालले बनाएको आफूले पाएको उनले बताए ।

कम खर्चमा घरमै बसेर उपचार गर्न पाइने भएपछि सबैको आँखाको उपचारको रोजाइ भरतपुर बनेको उनले बताए । जिल्लाका वरिष्ठ पत्रकार ईश्वर जोशीले हालै मात्र मोतियाविन्दुको शल्यक्रिया भरतपुर आँखा अस्पतालमा गरेका छन् । अस्पतालमै भेटिएका जोशीले घर नजिकै उच्चस्तरको सेवा पाएको बताए ।

निजी क्षेत्रको नभएर समुदायको अस्पतालले विशिष्ट किसिमको सेवा दिन थालेपछि जिल्ला, छिमेकी जिल्ला र भारतीय भूमिबाट आउने बिरामी लाभान्वित भएका छन् । आँखा उपचारमा झण्डै तीन दशकको अनुभव सङ्गालेएका वरिष्ठ रेटिना विशेषज्ञ प्रा डा रघुनन्दन बेन्जुको नेतृत्वमा आठ विशेषज्ञ चिकित्सकले अस्पतालमा उपचार गराउँदै आएका छन् ।

नेपाल नेत्रज्योति संघका प्रदेश नं ३ का संयोजक चीजकुमार मास्के बेन्जु रेटिनाको क्षेत्रमा नेपालको अग्रणी चिकित्सक भएको बताउछन् । उनीसँग उपचार गर्न काठमाडौँ लगायतका क्षेत्रबाट समेत बिरामी भरतपुर आउने गरेको मास्केले बताए ।

डा बेन्जुले भरतपुर आँखा अस्पतालले नानी प्रत्यारोपणसहित सबै खालका विशेषज्ञ सेवा दिँदै आएको बताए । आँखाको उपचारका लागि बाहिर जान नपर्ने उनको दावी छ । संघका सभापति एवं आँखा अस्पतालका अध्यक्ष कृष्णराज धरेल दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, समुदायको सहयोग र सहानुभूति लगायतका कारण भरतपुर आँखा अस्पताल स्तरीय सेवा दिन सक्षम भएको बताए ।

विगतका वर्षमा संघकै सदस्य आँखाको उपचारका लागि बाहिर जाने गरे पनि पछिल्ला वर्षमा बाहिरबाट समेत बिरामी आउने क्रम बढेर गएको उनले बताए । धरेलले आजभोलि उपचारका लागि यहाँका धनाढ्य, सांसद, चिकित्सक, इञ्जिनीयर लगायतका समाजका प्रतिष्ठित व्यक्तिसमेत आउने क्रम बढेर गएपछि आफूहरु उत्साहित बनेको बताए ।

उनका अनुसार अस्पताल र यसका सेवा केन्द्रमार्फत वर्षमा एक लाख ७६ हजार बढी बिरामीको उपचार गरिँदै आएको छ । अस्पतालले झण्डै छ हजार जनाको शल्यक्रिया गर्ने गरेको छ ।

भरतपुर आँखा अस्पताल सञ्चालक समितिका सदस्य केशव अधिकारी अस्पतालले उपचारसँगै अध्यापन, अनुसन्धान र जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस