‘निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ’


प्रशासन संवाददाता

७ बैशाख २०७६, शनिबार


काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताए । नेपाल पश्मिना उद्योग सङ्घको शुक्रबार ललितपुरमा भएको १८औँ वार्षिक साधारणसभामा उनले पश्मिनालगायत निर्यातजन्य वस्तुको निकासी बढाउन निजी क्षेत्र सशक्त रुपमा लाग्नुपर्ने सुझाउँदै त्यसमा सरकारले भरमग्दुर सहायता गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घजस्ता निजी क्षेत्रका सङ्गठित सङ्घसंस्थालाई निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गर्दै निर्यातका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।

वाणिज्य सचिव केदारबहादुर कार्कीले विश्वभर निजी क्षेत्रलाई औद्योगिक विकासको वाहक मानिएको र उक्त क्षेत्रलाई व्यापार–वाणिज्य वृद्धिमा सहजकर्ताका रुपमा सरकारले सघाउँदै आएको सुनाए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका सरकारले अधिक निकासीकर्ता, करदातालगायतलाई सम्मान गर्दै आएको तर त्यो अहिले टुटेकामा चिन्ता व्यक्त गरे । उनले आफूहरू सरकारसँग काँधमा काँध मिलाएर देशको आर्थिक उन्नयनमा लागिपरेको बताए।

सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले सन् २०१८ मा तीन अर्बको पश्मिना निर्यात भएको जानकारी दिँदै ४७ देशमा च्याङ्ग्रा पश्मिनाको व्यापार चिह्न दर्ता गर्न सङ्घ सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस