जितगढीमा आज विजयोत्सव कार्यक्रम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जितगढीमा आज विजयोत्सव कार्यक्रम


प्रशासन संवाददाता

७ बैशाख २०७६, शनिबार


बुटवल । बुटवल उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जितगढीमा मनाइने विजयोत्सव समारोह विशेष कार्यक्रम गरी मनाइने भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै छन् । त्यस्तै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री शङ्कर पोखरेल पनि यहाँ आउने बुटवल उपमहानगरपालिकाले जनाएको छ । बुटवल उपमहानगरपालिकामा रहको यो ऐतिहासिक सम्पदा जितगढी करीब दुई सय वर्षअघि तत्कालीन नेपाली सेनाले अङ्ग्रेज सेनालाई बहादुरीसाथ लडेर पराजित गरेको खुशियालीमा विजयोत्सव मनाइँदैछ ।

दुई सय चार वर्षअघि फागुन ७ गतेका दिन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको सम्झना गर्दै विजयोत्सव मनाउन लागिएको हो । उपमहानगरपालिका–१ तिनाउ नदी किनारमा अवस्थित जितगढी किल्लालाई विशेषरुपमा सजाइएको छ । नेपाली सेना, प्रहरी र जनप्रतिनिधिको सक्रियतामा किल्लामा विशेष सरसफाइ गरिएको छ । उत्सवका लागि आकर्षक प्रवेशद्वार र मञ्च तयार गरिएको छ । सेना, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले विजयोत्सवको भव्य तयारी गरेका छन् । गत वर्षदेखि प्रदेश ५ को राष्ट्रिय पर्वका रुपमा जितगढी विजयोत्सव मनाउन थालिएको हो ।

विजयोत्सवको दिन आज प्रधानमन्त्री ओलीले जितगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्नुहुने र सालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फहराइने कार्यक्रम रहेको उपमहानगरपालिकाकाले जनाएको छ । नौ फिट उचाइको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक र ४२ फिट उचाइको झण्डा प्रधानमन्त्री ओलीले अनावरण गर्ने कार्यक्रम रहेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जनाकारी दिए ।

उजिरसिंहको पूर्ण कदको सालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।

नेपाल–अङ्ग्रेज युद्धलाई सम्झाउँदै नेपाली सेनाले त्यतिबेलाकै युद्ध सामग्री र पोशाक प्रदर्शनसहित युद्ध कौशल प्रदर्शन गर्नेछ । विजयोत्सव मनाउन युद्धसँग सम्बन्धित विशेष झाँकीसहित र्‍याली पनि निकालिने कार्यक्रम रहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी विक्रम संवत् १८७२ वैशाख ७ गते यस किल्लाबाट अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । बुटवलको तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जितगढी किल्ला छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । रासस

प्रतिक्रिया दिनुहोस