वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन


प्रशासन संवाददाता

४ बैशाख २०७६, बुधबार


काठमाडौं । वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा आज ६० वर्षको उमेरमा निधन भएको छ ।

उनको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । श्रेष्ठको करीब साढे ५ महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनमा थप समस्या देखिँदै आएको थियो ।

चिकित्सकहरुले उनलाई Guillain-Barré syndrome (GBS) virus को सङ्क्रमण भएको आशङ्का गरेपछि भारतको हरियाणास्थित मेदान्त अस्पताल ‘रिफर’ गरे पनि उपचार कार्यले सफलता पाउन सकेन ।

काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

यसरी उनको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि १ महिना अघि नेपाल मेडिसिटी अस्पताल पुर्‍याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा उनको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उनको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उनको उपचार हुँदै आएको पब्लिकेसन्सले जनाएको छ ।

सन् १९५९ अगष्टमा जन्मेका श्रेष्ठ सो पब्लिकेसन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए । उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिएका थिए ।

श्रेष्ठले नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकार भई सेवा दिएका थिए । उनले राष्ट्रिय फुटबल खेलाडीसमेत थिए । प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित उनी पत्रकारिताका प्रशिक्षकसमेत थिए । श्रेष्ठको पार्थीव शरीर आज भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले जानकारी दिए । श्रेष्ठका श्रीमती र ३ छोरा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस