रोजगारीका अवसर सिर्जना सरकारको पहिलो लक्ष्य हो : प्रधानमन्त्री ओली « प्रशासन
Logo १ कार्तिक २०७८, सोमबार
   

रोजगारीका अवसर सिर्जना सरकारको पहिलो लक्ष्य हो : प्रधानमन्त्री ओली


३ बैशाख २०७६, मंगलबार


सुर्खे । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेक थु्रु’ गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजनामार्फत उत्पादकत्व बढाउने गर्ने बताए ।

उनले देशको अर्थतन्त्रलाई छिटोभन्दा छिटो परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

राष्ट्रिय गौरवको यस आयोजनालाई प्रदेश, स्थानीय र संघीय सरकारको ‘मित्रताको कार्यक्रम’ को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले प्रदेश नं ५ र कर्णाली प्रदेशका लागि यो आयोजना सद्भाव र समझदारीको नमूना हुने बताए । उनले भने, ‘अन्तर प्रदेश र स्थानीय तहबीच पारस्परिक सहयोग जरुरी छ ।’

उनले नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशीलताका कारण तोकिएको समयभन्दा एक वर्षअघि नै सुरुङ निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गरे । प्रधानमन्त्रीले सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ (टिबिएम) बटन थिचेर ‘बे्रक थ्रू’ गरे ।

प्रधानमन्त्री ओलीले २०७१ सालको बाढीबाट विस्थापित सुर्खेतका एक हजार परिवारलाई असार अगावै पालबाट छानामुनि ल्याउने प्रतिबद्धता व्यक्त गरे । यस कार्यका लागि प्रदेश र स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै उनले ६० केन्द्र र ४० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए । प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारले आवश्यक सहयोग गर्ने बताए ।

चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने उनको भनाइ थियो । ‘दुई वर्षभित्रै हुम्लामा मोटरबाटो पुर्‍याउँछौँ, चीन सरकारसँग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढाइएको छ’, उनले भने, ‘अब नेपालमा गरीबी रहन दिँदैनौँ, पछ्यौटेपन रहन दिँदैनौँ, कोही पनि जनता भोकले मर्दैनन् ।’

गत वर्ष आफूले रारामा हात समाएर भर्ना गरेकी बालिका कक्षामा पहिलो भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोही पनि बालबालिका विद्यालय बाहिर रहन नहुने बताए । ‘विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गर्न पार्टी कार्यकर्ता, कर्मचारी, सरोकारवाला सबैको कर्तव्य हुनुपर्छ’, उनले भने, ‘अहिलेको युगमा निरक्षर बस्न हुँदैन ।’

कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरी बबई डाइभर्शन आयोजनाबाट कर्णाली प्रदेशले बढी लाभ पाउनुपर्ने बताए । विद्युत् आयोजना उपहारस्वरुप कर्णालीलाई दिन उनको आग्रह थियो । ‘आयोजनाबाट बाँके र बर्दियाका जनताको भकारी भरिने तर कर्णालीका जनताले भोकमरी भोग्नुपर्ने अवस्था आउनु हुँदैन’, उनले , ‘आयोजना प्रभावित क्षेत्रका जनताको आर्थिक अवस्थामा सुधार ल्याउन कार्यक्रम आवश्यक छ ।’ मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रका बासिन्दासँग लालपुर्जा नभएकाले तत्काल उक्त समस्या समाधान गर्नुपर्ने केन्द्र सरकारको ध्यानाकर्षण गराए।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले टनेल बोरिङ मेशिनले नव नेपाल निर्माणका लागि नयाँ उत्साह थपेको बताए । उनले यसलाई दुई प्रदेशबीच मितेरी आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबईमा सुरुङ निर्माणको क्षेत्रमा ऐतिहासिक क्रान्ति भएको बताए । भेरी बबईलाई प्रदेश नं ५ र कर्णालीबीचको एकता र सद्भावको आयोजना भन्दै उनले टनेल एक वर्ष अगावै निर्माण सम्पन्न हुँदा सरकारलाई हौसला मिलेको बताए । मन्त्री पुनले यस्तो प्रविधि नेपालका अन्य आयोजनामा समेत प्रयोग गर्ने बताए ।

उनले यस आयोजनाबाट उत्पादित ४८ मेगावाट विद्युत्लाई ‘जनताको जलविद्युत् आयोजना’ अन्तर्गत समावेश गरिएको जानकारी दिए । ‘कम्पनी निर्माण गरेर प्रदेश सरकार, स्थानीय सरकार र दुवै प्रदेशका जनताको ४९ प्रतिशत शेयरमा जलविद्युत् आयोजना अघि बढाइनेछ’, उनले भने,’आयोजनालाई प्रभावित् हुन नदिन छिटो विद्युत् उत्पादन गरी टनेल सदुपयोग गर्न ८/१० क्युसेक पानी बबईमा मिसाउनेबारे छलफल गर्दैछौँ ।’

चिनियाँ निर्माण कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि र परामर्शदाता कम्पनी जियोडाटा इञ्जिनीयरिङ एसपिए इटाली र सिडेक नेपालका प्रतिनिधिलाई प्रधानमन्त्री प्रशंसापत्र प्रदान गरे । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको थियो । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै भेरी किनारको चिप्लेमा आइपुगेको मेशिन प्रधानमन्त्रीले बे्रक थू्र गरेका हुन् ।

सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ साल चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माण कार्य एक वर्ष अगावै सम्पन्न भएको हो ।

सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेशिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यसअघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो ।

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेशिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ ।

प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र प्रदेश नं ५ का बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना शुरु भएको हो । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ ।

आयोजनाका निर्देशक सञ्जीव बरालले खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताए । उनका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । यस आयोजनाबाट उत्पादन हुने ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

यसका लागि हात्तीखालमा विद्युत्गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करीब रु चार अर्ब ३ करोड र बाह्रै महीना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।

साढे १० अर्बमा सम्झौता भएको यस आयोजनाको सुरुङ निर्माणका लागि फागुन मसान्तसम्म झण्डै रु ८ अर्ब खर्च भएको छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सक्ने लक्ष्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस