मुग्लिन आर्क ब्रिजको ९५ प्रतिशत काम सकियो, जेठबाट सञ्चालनमा आउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुग्लिन आर्क ब्रिजको ९५ प्रतिशत काम सकियो, जेठबाट सञ्चालनमा आउने


३ बैशाख २०७६, मंगलबार


चितवन। जिल्लाको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने निर्माणाधीन मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ ।

पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम केही दिनमा सकेर जेठबाट पुल सञ्चालनमा ल्याउने निर्माण कम्पनीले जनाएको छ ।

मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि ०७१ बाट यसको निर्माण थालिएको थियो ।

निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ । शर्माले भने, ‘९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अब बाँकी काम भनेको रेलिङ, फुटपाथ र वायरिङको मात्र रहेको छ, वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी जिम्मा लगाउनेछौँ ।’

नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको शर्माको भनाइ छ ।

चीनमा पढेर आएका नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । एक सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ ।

प्रतिक्रिया दिनुहोस