सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा


२ बैशाख २०७६, सोमबार


काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पुर्‍याइएको छ ।

असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पुर्‍याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौं महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जनाए ।

सोमबार बेलुकी ४ः३० बजे रथ तानेर लगन पुर्‍याइने छ । रथ लगन पुर्‍याएपछि आजै जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराउन लगिने कार्यक्रम रहेको उनले बताए । चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पुर्‍याइएको थियो । रथ असनमा पुर्‍याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेका थिए । प्राचीनकालदेखि नै सेतो मच्छेन्द्रनाथको रथ यात्रा असन पुर्‍याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ ।

सोमबार दिउँसो २ः३० बजेसम्म हनुमानढोकामा पूजा एवं दर्शन गर्नका लागि रथ राखिन्छ । त्यसपछि रथ यात्रा शुरु गरी लगन पुर्‍याइनेछ । १७ औँ शताब्दीमा शुरु भएको रथ यात्रा काठमाडौं उपत्यकाको प्राचीन सभ्यता मानिन्छ ।

रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ । वैशाख ३ गते रथ लगन टोलमा रहेको सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ । वैशाख ४ गते मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएपछि यो जात्रा समाप्त हुन्छ ।

सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने स्थानीयवासीको विश्वास छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस