खानेपानीका लागि रिचार्ज पोखरी निर्माण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खानेपानीका लागि रिचार्ज पोखरी निर्माण


२ बैशाख २०७६, सोमबार


बैतडी । खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् ।

सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी दिए । नवज्योति महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाले मिलेर पानीको मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय तारा कार्कीले जानकारी दिए ।

पछिल्लो समय जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोगलगायतका कारणले पानीका मुहान सुक्न थालेपछि मुहान संरक्षणमा महिला सक्रिय छन् । पानीको मुहानबाट माटोको ढिस्कोले ड्याम बनाएर रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी चुनाराले बताए। ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाजले तटीय क्षेत्रका बासिन्दालाई पानीको मुहान संरक्षणका बारेमा जानकारी दिएपछि स्थानीय महिलाले रिचार्ज पोखरी निर्माण गरेको कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस