छ महीनादेखि बन्द ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

छ महीनादेखि बन्द ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा


प्रशासन संवाददाता

१ बैशाख २०७६, आइतबार


दमौली । जनशक्ति अभावले छ महीनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ । गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित तीन जना कर्मचारी नियुक्त गरेपछि आजबाट अस्पताल सञ्चालनमा आएको हो ।

समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन भएसँगै अस्पताल बन्द भएको थियो । अस्पतालको सेवा शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।

उनले बन्द अस्पतालमा सरकारको तर्फबाट दरवन्दी सिर्जना नभएपछि आन्तरिक स्रोतबाट नै तलब खुवाउने गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नगरको आन्तरिक स्रोतबाट एक मेडिकल अधिकृत, एक स्टाफ नर्स र एक ल्याव असिस्टेन्ट नियुक्त गरिएको बताए । उनका अनुसार अस्पतालमा १५ शैय्यामा सञ्चालनमा छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दलबहादुर थापाले लामो समयदेखि अस्पताल बन्द हुँदा सर्वसाधारणलाई समस्या भएकोले नगरपालिकाको तर्फबाट दरवन्दी सिर्जना गरी अस्पतालमा सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘अझै पनि दरबन्दी अभाव नै छ तर केही कर्मचारी नियुक्त गरेर भएपनि सेवा शुभारम्भ गरेका हौं ।’

छ महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य उपचारबाट वञ्चित भएका थिए । सोही वडाका स्थानीयवासी भिमबहादुर थापाले अस्पताल सञ्चालन भएसँगै उपचारका लागि अन्यत्र धाउनु नपर्ने भएकोले सहज हुने बताए । अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।

जर्मनी स्वंयमसेवी संस्था इभी कासेलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । विसं २०५५ फागुनमा कासेलकोे सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस