अछामको रामारोशनमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अछामको रामारोशनमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो


१ बैशाख २०७६, आइतबार


अछाम । पर्यटकीय क्षेत्र रामारोशनमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गतेमा सुन्दर र रमणीय स्थानको भ्रमण गरेर वर्षको सुखद शुरुवात गर्ने हेतुले अछाम जिल्लाभित्र र जिल्लाबाहिरका आन्तरिक पर्यटक रामारोशन क्षेत्रमा पुगेका हुन ।

नयाँ वर्षमा रामारोशन घुम्नका लागि अछामको मङ्गलसैन, साँफेबगर, विनायकसहित विभिन्न स्थान, छिमेकी जिल्ला डोटी, कालीकोट र कैलालीबाट समेत आन्तरिक पर्यटक रामारोशन आएका छन् ।
उनीहरुले रामारोशनका विभिन्न ताल, सुन्दर फाँट र थरिथरिका फुलेका लालीगुराँसको अवलोकनका साथै त्यस क्षेत्रको प्राकृतिक सुन्दरतासँग रमाएको रामारोशन गाउँपालिका योजना शाखा प्रमुख दलबहादुर साउदले बताए ।

नयाँ वर्षको अवसरमा रामारोशन घुम्न आएका काठमाडौँका रवीन श्रेष्ठले प्राकृतिक रुपमा निकै सुन्दर र रमणीय रहेको रामारोशन घुम्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए । रामारोशनको मनमोहक दृश्यले आफूलाई लोभ्याएको समेत श्रेष्ठले बताए।

रामारोशनको रामेसम्मै जीप तथा मोटरसाइकल जस्ता सवारी साधनको पहुँच भएकाले नयाँ वर्ष मनाउनेका लागि थप सहज भएको बताइएको छ ।

बाह्र बण्ड र अठार खण्डका नामले समेत परिचित सुदूरपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र रामारोशन घुम्न र त्यहाँ रमाउनका लागि यतिबेलाको मौसम समेत अनुकूल रहेका कारण यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या समेत अरु बेला भन्दा बढेको जनाइएको छ ।

नयाँ वर्षको पहिलो दिन मात्रै रामारोशन घुम्नका लागि एक हजार बढी पर्यटक रामारोशन पर्यटकीय क्षेत्रमा प्रवेश गरेको रामारोशन गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस