आर्थिक विकासका संवाहकहरुः सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आर्थिक विकासका संवाहकहरुः सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र


खगेन्द्र साउद

२८ चैत्र २०७५, बिहिबार


आर्थिक विकास

पृष्ठभूमि
आर्थिक विकास बहुआयामिक तथा जटिल प्रक्रिया हो । मुलुकको कूल गार्हस्थ्य उत्पादन, कुल राष्ट्रिय उत्पादन, प्रति व्यक्ति आयको सकारात्मक वृद्धिका साथै सामाजिक, र संस्थागत विकास भई आमजनताको जीवनस्तरमा आएको बढोत्तरी आर्थिक विकास हो । यसले आर्थिक वृद्धिका साथै सामाजिक मूल्यमान्यता, सोच, संस्थाहरूको सबलीकरण, प्राविधिक सुधार र उन्नयन, विकासका विभिन्न पात्रहरूसँगको साझेदारी, प्राकृतिक स्रोतको महत्त्व उपयोग, मानव संसाधनको रणनीतिक परिचालन र प्रयोग, सबल र प्रभावकारी आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका तमाम विषयहरूको माग गर्दछ । यस्तो बहुविषय र बहुपात्रसँग जोडिएको आर्थिक विकासको कार्य सरकार एक्लैले गर्न, वर्तमान सन्दर्भमा सम्भव हुँदैन । यसैले मुलुकलाई आर्थिक विकासको बाटोमा हिँडाउन सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संघसस्था, गैरसरकारी संस्था, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आमजनताको सक्रिय भूमिका रहन्छ ।

(क) सार्वजनिक क्षेत्र
आर्थिक विकासमा सार्वजनिक क्षेत्रको भूमिका
आर्थिक विकासमा सरकारको सक्रियता, संलग्नता र भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालजस्तो आर्थिक रूपमा कमजोर मुलुकमा विकासका हरेक पक्षहरूमा सरकारको भूमिका अझै बढी रहन्छ । जसलाई देहायका बुँदाहरूबाट उल्लेख गर्न सकिन्छ ।
 आर्थिक विकासको नेतृत्व गर्ने, सहजकर्ता, समन्वयकर्ता,
 सार्वजनिक स्रोतको परिचालन गर्ने,
 रणनीतिक महत्त्वका पूर्वाधारहरूको विकासद्धारा उच्च र दिगो विकासको आधार निर्माण गर्ने ,
 समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,
 नीतिगत, प्रक्रियागत, कानुनी र नियामक सुधार गरी आन्तरिक र बाह्य लगानीको वातावरण तयार गर्ने ,
 सामाजिक सुरक्षा र संरक्षण सुदृढ गर्ने ,
 सरकारी, निजी, र गैरसरकारी तथा सामुदायिक क्षेत्रलाई विकास प्रक्रियामा अघि बढाउने ,
 योजना तथा नीति उत्पादन र कार्यान्वयन गर्ने,
 मानव स्रोतको महत्त्व उपयोग र विकास गर्ने,
 वैदेशिक सहायताको व्यवस्थापन गर्ने,
 आधारभूत क्षेत्रमा आर्थिक सामाजिक पूर्वाधार निर्माण गर्ने,
 कानुनको शासन, शान्ति सुव्यवस्था तथा अमन चयन कायम गर्दै सुशासनको प्रत्याभूति गराउने,
 अनुसन्धान तथा विकासमा जोड दिने,
 आर्थिक कूटनीतिको प्रवर्द्धन गर्ने,
 सामाजिक न्यायसहितको आर्थिक प्रणालीको निर्माण गर्ने,
 अर्थतन्त्रको दूर दृष्टि तयार गर्ने,
 वित्तीय संस्थाहरूको सञ्चालनमार्फत वित्तीय सेवा प्रदान गर्ने (नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान)
 आर्थिक सामाजिक रूपमा विपन्न , सीमान्तकृत गरिब वर्गको जीवनस्तर सुधारका लागि लघु वित्तीय सेवाहरू प्रदान गर्ने,
 व्यापारिक औद्योगिक पूर्वाधारहरूको विकासमा लगानी गर्ने( निर्यात प्रवर्द्धन क्षेत्र, विशेष आर्थिक क्षेत्र, व्यापार अवरोध हटाउने, सुख्खा बन्दरगाहको निर्माण)
 कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, वैज्ञानिकीकरण र बजारीकरण गर्ने,
 निजी क्षेत्रको विकास र लगानी अभिवृद्धि गर्न आवश्यक नीतिगत, संस्थागत, र कानुनी व्यवस्था गर्ने,
 मुलुकको विकास निर्माणका कार्यक्रमहरूको समन्वय, अनुगमन, तथा मूल्याङ्कन र दिशा निर्दिष्ट गर्ने ,
 प्राकृतिक साधन स्रोतका संरक्षण, संवर्द्धन र उपयोग गर्ने,
 विकासमा जनसहभागिताको लागि प्रोत्साहन गर्ने ।

(ख) निजी क्षेत्र
कुनै व्यक्ति वा समूहद्धारा स्थापित र सञ्चालित नाफा कमाउने उद्देश्यसहितका व्यापारिक वा व्यावसायिक संस्थाहरू नै निजी क्षेत्र हुन् । निजी क्षेत्र आर्थिक वृद्धिको आधारशिला हुन् । निजी क्षेत्रसँग उद्यमशीलता, सृजनशीलता, नवीनतम प्रविधि, जोखिम वहन गर्ने क्षमता हुन्छ । यो नाफामुखी हुन्छ । निजी व्यवसाय, निजी उद्यम तथा निजी उद्यमशीलताको नामले निजी क्षेत्र चिनिन्छ ।

निजी क्षेत्रका पक्षहरु/निजी क्षेत्रभित्र के के पर्छन् ?
 व्यक्तिगत व्यवसायहरू,
 एक उद्योग समूहभित्रका पर्ने सबै उद्यमहरू,
 एक आर्थिक क्षेत्रभित्रका सबै उद्यमहरू,
 निजी क्षेत्रको परिधिभित्र सिर्जना भई कार्यान्वयनमा रहेका सबै उद्योगी व्यवसायी समुदायहरू,
 कृषिजन्य वा गैरकृषिजन्य व्यापारिक क्रियाकलापहरू,
 व्यक्ति वा समूहद्धारा स्थापित एवं व्यवस्थित उद्योग व्यवसायहरू,
 साना तथा घरेलु, मझौला र ठुला उद्योग व्यवसायहरू,
 बहुराष्ट्रिय कम्पनीहरू,
 समग्रमा निजी क्षेत्रभित्र औद्योगिक, व्यापारिक र सेवाजन्य उद्योग व्यवसायहरू पर्दछन्।

निजी क्षेत्रका चरित्र/विशेषताः
१. उद्यमशीलता
 कार्यक्षेत्रको पहिचान,
 पुँजीको लगानी,
 लगानी गरिएको पुँजीको सही उपयोग,
 लगानीको उचित प्रतिफल हासिल र
 नाफाबाट थप लगानी ।

२. प्रतिस्पर्धा र व्यावसायिक वातावरण
 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा,
 रणनीतिक कदम ।

३. नाफामखीः
 नाफा हुने उद्यममा मात्रै लगानी ।

४. कार्यकुशलता
 स्रोतसाधनको कुशल व्यवस्थापन गर्ने नीति र कार्यक्रम अवलम्बन ।

५. प्रभावकारिता
 लगानी र प्रतिफल बिच सन्तुलन हुने गरी काम गर्ने ।

६. मितव्ययी
 थोरै खर्चबाट धरै उत्पादन र वितरण गर्ने प्रयास ।

७. रणनीतिक योजना
 रणनीतिक रूपले लगानी गर्ने र प्रतिफल हासिल गर्ने कार्यशैली ,
 रणनीतिक योजना निर्माण र सोही आधारमा लगानी ।

८. कार्यसम्पादन व्यवस्थापनः
 लगानी र उपलब्धिका बिचको अन्तरलाई मापन गर्ने सूचकहरूको निर्माण,
 कर्मचारीहरूको मूल्याङ्कन गर्ने,
 तलब र अन्य सुविधा कामको परिणामको आधारमा दिने ।

९. बजारोन्मुखः
 वस्तु तथा सेवाको उत्पादन वा वितरण गर्दा बजारको माग र र्पूिर्तको अवस्थाको आकलन ।

१०. नतिजामुखी कार्यशैली
 कति लगानी ग¥यो भने कति उत्पादन गर्न सकिन्छ र कति नाफा कमाउन सकिन्छ भनी अनुमान गरी साधनस्रोतको प्रयोग ।

११. सेवाग्राहीमुखीः
 उत्पादनमा विविधता ।

१२. खोजमूलक कार्यशैली
 नयाँ मोडल, नयाँ मूल्य, नयाँ आकर्षणको खोजी,
 उपभोक्ताको मन जित्न चाहने ।

१३. लगानी, स्वामित्व, जोखिम, रोजगारीको व्यवस्था, संस्थागत सामाजिक दायित्व ।

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका
नेपालमा आठौँ योजनादेखि विकासमा निजी क्षेत्रको भूमिकालाई आत्मसात् गरिएको हो । विकास प्रक्रियामा निजी क्षेत्रको संलग्नता र लगानीलाई प्रोत्साहन गरिएको हो । नेपालको वर्तमान संविधानले पनि निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको सम्भोगका रूपमा लिएको छ । संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने कुरा उल्लेख गरिएको छ । साथै अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्त्व दिँदै उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी समृद्धि हासिल गर्ने कुरा पनि उल्लेख छ।

खुल्ला र उदारवादी अर्थव्यवस्थालाई आत्मसाथ गरेको कुनै पनि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ ।

 व्यावसायिक मूल्य र मान्यताको आधारमा व्यवसाय सञ्चालन गर्ने,
 वस्तु तथा सेवाहरूको गुणस्तर अभिवृद्धि र सेवा सर्वसुलभ रूपमा जनतालाई उपलब्ध गराउने,
 लगानीकर्ता र श्रमिकबिच सुमधुर सम्बन्ध विकास गर्ने,
 नविनतम् सोच र प्रविधिसहितको लगानी वृद्धि गरी आय तथा रोजगारी बढाउने,
 प्रतिस्पर्धाको माध्यमबाट उत्पादकत्व वृद्धि गर्ने,
 निजी क्षेत्र समग्र आर्थिक वृद्धिको संवाहकको रूपमा रहने,
 कृषि औद्योगिक क्षेत्रसँग अन्तरसम्बन्ध बढाउँदै आर्थिक रूपान्तरणमा सहयोग गर्ने,
 निजी क्षेत्रसँग सम्बन्धित नीति नियम तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने,
 भौतिक एवं सामाजिक क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग गर्ने,
 उपभोक्ता हितलाई ध्यानमा राख्ने,
 मुलुकको आर्थिक वृद्धि, राजश्व परिचालन र उद्यमशीलता वृद्धिमा योगदान गर्ने,
 उद्योग, व्यापार, पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन गर्ने,
 तुलनात्मक लाभका वस्तु र सेवाको उत्पादन र विविधिकरण मार्फत आर्थिक परनिर्भरता, व्यापार घाटा कम गर्ने,
 निजी क्षेत्रसँग भएको आर्थिक साधन, ज्ञान, सीप, प्रविधि र अनुभवको आदानप्रदान गर्दै सार्वजनिक क्षेत्रसँग सहकार्य गर्ने (सार्वजनिक निजी साझेदारी)
 सार्वजनिक सेवाप्रवाहमा सहभागी भएर,
 सामाजिक कार्यमा उपस्थित भएर,
 व्यावसायिक नैतिकता र सुशासन कायम गर्ने(कर तिर्ने, उचित क्षेत्रमा लगानी, लगानीको पारदर्शिता, मूल्यको पारदर्शिता, सिन्डिकेट, कार्टेलिङ, वस्तु तथा सेवा वितरणमा स्वच्छ प्रतिस्पर्धा, कानुनको परिपालना)
 व्यावसायिक सामाजिक दायित्व पूरा गर्ने,
 वित्तीय कार्यहरू सञ्चालन गर्ने ।

नेपालमा निजी क्षेत्रको विकासका अवरोधकहरु/चुनौती/बाधाहरुः
 राजनीतिक तथा सामाजिक स्थायित्व,
 भौतिक पूर्वाधारको विकासमा कमी,
 ऊर्जा सङ्कट, औद्योगिक असुरक्षा, लगानी मैत्री वातावरणको अझै तयार हुन नसक्नु,
 बृहत् आर्थिक स्थायित्वमा कमी मुद्रास्फिति बढेको, करका दरहरू अनिश्चित र अस्थिर, वैदेशिक विनिमय दर अस्थिर रहेको ।
 वित्तीय प्रणालीको अस्थिरता निजी क्षेत्रको बचत परिचालन तथा लगानीको सुनिश्चिततामा अन्योल ।
 प्रतिस्पर्धी बजार संयन्त्रको अभाव एकाधिकार, कार्टेलिङ, कालोबजारी, कृत्रिम अभाव ।
 विद्यमान कानुनी प्रावधानको परिपालनाको कमी,
 नीतिगत निरन्तरताको अभाव,
 निजी क्षेत्रको विकासका लागि शिक्षा तथा तालिमको अभाव सीपमूलक व्यावसायिक तालिमहरूको अभाव, उद्योग व्यवसायमा उपयुक्त ज्ञान, सीप, भएको जनशक्तिको कमी।
 कामदार र उद्यमीबिचको सम्बन्ध,
 प्रभावकारी नियमनको अभाव
 निजी क्षेत्रप्रति जनताको विश्वास घट्दो ।

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी कसरी बनाउने ?
 राजनीतिक प्रतिबद्धता, सहमति तथा सामाजिक स्थिरता कायम गर्ने,
 भौतिक पूर्वाधार तथा आधारशिलाको विकासका जोड दिने,
 मुलुकको बृहत् आर्थिक स्थायित्वमा सरकार र राजनीतिक दलहरूले जोड दिने,
 सरकारले उपयुक्त नीतिको अवलम्बन गरी वित्तीय प्रणालीमा स्थिरता कायम गर्नुपर्छ ,
 सरकार र निजी क्षेत्र दुवैले प्रतिस्पर्धी बजार संयन्त्रको विकास गर्ने कार्यमा सहकार्य गर्नुपर्छ ,
 विद्यमान कानुनी प्रावधानको परिपालनामा सरकार र निजी क्षेत्र दुवैले कडाइ गर्नुपर्छ ,
 निजी क्षेत्रको विकासका लागि सरकारले नीतिगत स्पष्टता र निर्मित नीतिमा निरन्तरता र सुधार गर्नुपर्छ ,
 सरकारले लगानी मैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने नीति अवलम्बन गर्नुपर्छ ,
 सरकारले औद्योगिक सुरक्षाको वातावरण सिर्जना गर्नुपर्छ,
 निजी क्षेत्र र सरकारले संयुक्त रूपमा शिक्षा तथा तालिमको विकासमा जोड दिनुपर्छ ,
 सरकारले निजी क्षेत्रको कामकारबाहीमा आवश्यकताअनुसार उचित र प्रभावकारी सुपरीवेक्षण र नियमनको व्यवस्था गर्नुपर्छ ,
 निजी क्षेत्रप्रति जनतामा विश्वास अभिवृद्धि गर्न निजी क्षेत्रले गर्ने आचारसंहिता बनाई इमान्दारितापूर्वक पालना गराउने जिम्मा लिनुपर्छ,
 निजी क्षेत्रका संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्वको धर्मलाई निभाउनु पर्छ ।

सहकारी क्षेत्र
सहकार्य, सहअस्तित्व र सहमतिका मान्यतामा रहेर एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तमा आधारित तथा स्थापित संस्था नै सहकारी हो । यो स माजका सदस्यहरूको सामूहिक एकता, प्रयत्न, सहमति, सद्भाव, मानवता, भातृत्व जस्ता मूल्यहरूमा रहन्छ ।

बेलायतका रोबर्ट ववेन सहकारी संयन्त्रका जन्मदाता हुन् । सन् १८४४ मा उनले सर्वप्रथम एक उपभोक्ता सहकारी समाजको स्थापना गरेका थिए । आपसी सहयोग, बन्धुत्व र एकता नै सहकारिताको मूल मर्म हो ।

सहकारीताका सात सिद्धान्त
 स्वैच्छिक तथा खुला सदस्यता,
 प्रजातान्त्रिक नियन्त्रण,
 सदस्यहरूबाट आर्थिक सहभागिता,
 स्वायत्तता र स्वतन्त्रता,
 शिक्षा, तालिम र सूचना,
 अन्तर सहकारी सहयोग,
 सामुदायिक चासो

आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका
समाजमा छरिएर रहेको सानो पुँजी , स्रोत, सीप, श्रम, प्रविधिलाई सङ्कलन गरी आर्थिक, सामाजिक रूपान्तरणमा लगाई आर्थिक उन्नयन गर्नमा सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ । संविधानमा पनि सहकारी क्षेत्रलाई आर्थिक विकासको प्रमुख पात्रको रूपमा लिइएको छ । यसरी समुदायमा रहेको साधन स्रोतको सङ्गठित संस्थामार्फत परिचालन गरी सामाजिक रूपान्तरण, समावेशी आर्थिक वृद्धि/समुदायको सशक्तीकरणमा सहकारीको भूमिका रहन्छ ।

सरकार उपस्थित हुन नसक्ने र निजी क्षेत्र आकर्षित नहुने सामाजिक व्यवसायको मर्मअनुसार आधारभूत क्षेत्रमा वस्तु तथा सेवा प्रवाहलाई सुनिश्चित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । यसका साथै
 समुदायमा छरिएर रहेको सानो पुँजीलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने,
 स्थानीय जनतालाई बचत गर्ने बानीको विकास गराउने,
 समुदायको ससानो पुँजीलाई समुदायमै लगानी गर्न प्रोत्साहन गर्ने,
 सामूहिक आर्थिक हित तथा नेतृत्व विकास र घरेलु तथा लघु उद्यमको प्रवर्द्धन गर्ने,
 आय आर्जन, रोजगारी र सामाजिक आवश्यकता पूर्ति गर्ने,
 सहकारी अभियान सञ्चालनमार्फत गरिबी निवारण, सामाजिक सुरक्षा र सामुदायिक विकास गर्ने,
 उपभोग्य वस्तुको सरल आपूर्ति तथा वितरण गर्दै सुपथ मूल्य कायम गरी उपभोक्ता हित प्रवर्द्धन गर्ने,
 आन्तरिक उत्पादनमा बढोत्तरी भई आर्थिक परनिर्भरता कम हुने,
 व्यापार घाटा कम गर्नमा,
 आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग,
 सहकारी बैङ्किङ सेवा,
 आर्थिक आधारशिलाको निर्माण, सामाजिक रूपान्तरण, र सम न्यायिक विकास गर्ने ।

समग्रमा, सहकारी क्षेत्रले ग्रामीण तथा स्थानीयस्तरमा समुदायलाई सङ्गठित गरी उनीहरूको आर्थिक सामाजिक रूपान्तरण गर्न र समावेशी आर्थिक वृद्धिमा सघाउ गर्छ ।

सहकारी क्षेत्रका समस्या/विकृतिः
 नियमन तथा व्यावसायिक ताको कमी,
 सहकारी सम्बद्ध ऐन कानुनको समय सापेक्षिक सुधार नहुनु,
 सहकारीलाई व्यावसायिहरुले कर छल्ने माध्यम बनाएको,
 सहकारीका नाममा बढ्दो वित्तीय कारोबार र सहकारीलाई ठुला उद्यममा लगानी गर्ने माध्यम बनाइएको,
 सहकारीताको सिद्धान्त, मूल्य मान्यताको भावना विपरीत सहकारीहरू काम गरिरहेका,
 सहकारी संस्थाहरूको आन्तरिक लेखा परीक्षण प्रणाली चुस्त र पारदर्शी नहुनु,
 सहकारी क्षेत्रको विकासका लागि पर्याप्त बजेट र जनशक्तिको कमी हुनु,
 सहकारी सञ्चालनमा परिवारवाद हाबी हुनु,
 सहकारीको लाभ समूहका निश्चित सदस्यले बढी उठाउनु ।
 सहकारी क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा हिस्सा
 प्रत्यक्ष रूपमा रोजगार ५७,८८३ जना
 अप्रत्यक्ष रूपमा संलग्नः करिब १० लाख

प्रारम्भिक सहकारी संस्था   ३४,३०३
राष्ट्रिय सहकारी सङ्घ  १
राष्ट्रिय सहकारी बैङ्क  १
संलग्न सदस्य सङ्ख्या  ६१,०२,६६५
महिला ५१.२
पुरुष ४८.८
पूर्ण रूपमा महिलाद्धारा सञ्चालित सहकारी संस्था ४,११३
बचत परिचालन २ खर्ब ९८ अर्ब ६८ करोड
ऋण लगानी २ खर्ब ९२ अर्ब ७२ करोड

टुङ्गो
स्थानीय श्रम, सीप, प्रविधि र पुँजीलाई परिचालन गरी स्थानीय समुदायका सदस्यहरूको आर्थिक सामाजिक हित अभिवृद्धि गर्नमा सहकारीको भूमिका महत्त्वपूर्ण रहन्छ । मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रूपमा नेपालको संविधानले पनि सहकारी क्षेत्रलाई स्वीकार गरिसकेको सन्दर्भमा सहकारी क्षेत्रको अझै विकास, नियमन र विस्तार आवश्यक छ । जसको लागि सरकारले आवश्यक नीति, कानुन तयार गर्नुपर्छ । सहकारी क्षेत्रले पनि आफ्नो आधारभूत मूल्यमान्यतामा रहेर सहकारीको सञ्चालन गर्नुपर्छ । तब मात्रै स्थानीय समुदायका सानो पुँजी भएका, आर्थिक अवस्था न्यून भएका, वित्तीय पहुँच नभएका जनताले सहकारीको लाभ लिन सक्छन् । यसले मुलुकको आर्थिक वृद्धिमा टेवा पुग्दछ ।

साउद आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिम प्रदेश, कैलालीका शाखा अधिकृत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस