‘पाँच वर्षमा सुकुम्वासी समस्या समाधान हुने’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘पाँच वर्षमा सुकुम्वासी समस्या समाधान हुने’


२७ चैत्र २०७५, बुधबार


चिप्लेढुङ्गा । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताएका छन् ।

राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेको बताए ।

राष्ट्रिय भूमी अधिकार मञ्चका केन्द्रीय संरक्षक ल्यामबहादुर दर्जीले पोखराको बसपार्क क्षेत्रमा सुन्दर बसपार्क बनाउने प्रचार गर्दै वर्षौदेखि बसोबास गर्दै आएका ६०० सुकुम्वासी व्यवस्थापन गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।

नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले भूमी अधिकारसम्बन्धी कानूनले कुनै पनि नागरिकलाई बसेको स्थानबाट अन्यत्र सार्न नमिल्ने र सार्नुपर्ने भएमा सरकारले व्यवस्थापन गरेर उनीहरुको सहमतिमा मात्रै हटाउन सक्ने बताए ।

राष्ट्रिय नेपाल भूमीहीन सुकुम्वासी सङ्गठनका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भूमाफियाहरुको चलखेलले सुकुम्वासी समस्याको समाधान गर्न सरकार असफल भएको बताए । उनले वसपार्कबाट सुकुम्वासी हटाउने उद्देश्य मात्रै भएको तर व्यवस्थित गर्ने कुनै योजना नै नभएको भन्दै योजनासहित आउन आग्रह गरे ।

अखिल नेपाल सुकुम्वासी सङ्गठनका अध्यक्ष हर्कबहादुर विक, वडास्तरीय महिला समन्वय समिति पोखरा–९ का संयोजक दिलमाया गुरुङले सुकुम्वासीका माग जुनसुकै सरकार आए पनि वेवास्ता गरिएको टिप्पणी गरे । मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सरोकारवाला निकायले विशेष पहल गरेर भूमीहीनका अधिकार संरक्षण गर्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस