मेवाको व्यावसायिक खेतीबाट मनग्य आम्दानी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेवाको व्यावसायिक खेतीबाट मनग्य आम्दानी


२६ चैत्र २०७५, मंगलबार


भद्रपुर । झापामा व्यावसायिक रुपमा गरिएको मेवाखेतीबाट मनग्य आम्दानी हुनथालेको छ । मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती थालेका हुन् ।

यतिबेला दुवैको बगैँचामा मेवा पाक्न थालेको छ । पाकेको मेवा किन्नका लागि व्यापारी घरमै आउन थालेका उप्रेतीले बताए । उनले भाडामा लिएको १० कठ्ठा जमीनमा १ हजार विनायक जातको बिरुवा हुर्काएका छन् । उनले ‘डिएन्डडी बायोप्लानटेक’ नामक संस्थामार्फत मेवाखेती गरेका हुन् । उप्रेतीको खेतमा मेवा लटरम्म फलेर पाक्न थालेको छ ।

दैनिक १०० किलो मेवा प्रतिकिलो रु ५० का दरले बोटबाटै बिक्री भइरहेको उप्रेतीले बताए । उनले हालसम्ममा ७ हजार किलो मेवा बिक्री गरिसकेको बताए । ‘अब ४ हजार किलो बिक्री गर्न बाँकी छ’, उनले भने । रोपेको ८ महीनामै आम्दानी दिने गरेको मेवाखेतीबाट खर्च कटाएर रु ५ लाख आम्दानी हुने गरेको उप्रेती बताउछन् । उनले उत्पादन गरेको मेवा घरबाटै दमकस्थित अधिकारी फलफूल पसलका सञ्चालकले खरीद गर्दै आएका छन् । उनले भने’माग धान्नै गाह्रो भयो, परीक्षणका लागि थोरै मात्र खेती गरेका थियौँ ।’

आधा दशकदेखि नर्सरी र कृषि क्षेत्रमा सक्रिय उप्रेतीले पहिलोपल्ट परीक्षणका लागि मेवाखेती गरिएको बताए। ‘मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो’, उनी भन्छन्, ‘जन्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने गुण भएका कारण बजारमा यसको माग बढेको हो ।’मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा मेवाको व्यावसायिक खेती शुरु गरेको उप्रेतीले बताए । ‘यस वर्ष १० कठ्ठामा लगाएको छु, एक बिघा जमीनमा थप खेती गरेको छु’, उनले भने ।

यस्तै प्रेमसागर सापकोटाले वार्षिक रु ४० हजार प्रतिबिघाको दरले तीन बिघा जमीन भाडामा लिएर मेवाको सात हजार बिरुवा हुर्काएका छन् । उनले हुर्काएको मेवाको बोटमा एउटै मेवा ३ किलोसम्मको फलेको छ । ‘बिरुवा रोपेको छ महीनामै फल्न थाल्यो’, उनले भने, ‘९ महीना भएपछि पाक्न शुरु भयो, बेच्न थालेका छैनौँ ।’ उनका अनुसार मेवा किन्नका लागि काठमाडौँ र पोखराका व्यापारी आउने गरेका छन् ।

एउटै फल तीन किलोसम्मको हुने, एउटा बोटमा वर्षेनी १७५ किलोसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवाखेतीबाट मनग्य फाइदा हुने सापकोटाले बताए । उप्रेती र सापकोटाले प्राविधिक समस्या भने प्रशस्तै झल्नुपरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस