कुरा भित्री यात्राको « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुरा भित्री यात्राको


२६ चैत्र २०७५, मंगलबार


यात्रा

यात्रा भन्ने बित्तिकै जापान, अमेरिका, अस्ट्रेलिया, युरोप नै होला, त्यति नभएपनि चीन, दुबई, सिंगापुर वा भारतको गोवा, मुम्बई होला भन्ने जोकोहीको मानसपटलमा आउने गर्दछ । तर यहाँ चर्चा गर्न खोजिएको यात्रा भनेको घर बाहिर वा देशबाहिरको यात्रा नभएर आफूभित्र वा अन्तर्मनको यात्राको हो, चिन्तनको हो अनि सन्त विचारकहरूको भनाई, जीवनी र मार्गदर्शनको चित्रण हो । झन्डै १ महिना लगाएर अध्ययन गरिएका मौन उत्सव (रवीशंकर) र जितै जित (गोविन्द टण्डन) नामक दुई पुस्तकबाट प्राप्त आध्यात्मिक जानकारीलाई आफ्नो बुझाइमा अन्तरघुलन गर्दा आएको परिणामबाहेक यो लेख अरू थप केही होइन ।

जति ज्ञानी भयो त्यति स्वतन्त्र हुने सम्भावना हुन्छ किनकि संस्कृत भाषामा ‘स्व’ को अर्थ आफू र ‘तन्त्र’ को अर्थ व्यवस्थित पार्नु हुन्छ। तर ज्ञान प्राप्ति सैद्धान्तिक मात्र छ कि व्यवहारमा वा जीवन र जगतमा उतार्न मिल्ने र सक्ने हो वा हैन त्यसको विशेष अर्थ हुन्छ । नयाँ नयाँ ज्ञान प्राप्ति हुनु भनेको आफू र समाजलाई उज्यालोतर्फ लैजानु हो । अन्धकारलाई सराप्नु भन्दा मैन बत्ती बाल्नु राम्रो हो भन्ने जापनिज भनाई रहेको छ भने अप्प दिपो भव: भनेर संस्कृत साहित्यमा उल्लेख छ ।

विद्या भनेको ज्ञान हो, विद्या भनेको वेदलगायतका शास्त्रबाट प्राप्त हुने ज्ञान रस हो, विद्या भनेको अध्यात्मवाद पनि हो । अव के लाई विद्या भनेर निर्क्यौल गर्ने ? गुरु कसलाई मान्ने अनि ज्ञानशाला हुनका लागि के के पूर्वशर्त हुन सक्ला ? विचार मन्थन आवश्यक छ ।

जीवनमा सुख प्राप्तिका दुई मार्ग भनेका अध्यात्म र भौतिक मार्ग हुन् । यी दुवै आफैमा अपुरा छन् तर उचित संयोजन हुँदा मात्र जीवन सार्थक बन्दछ अनि सन्तुलित हुन्छ । उसो भए हामीले के कति हिस्सा भौतिक मार्गको र के कति भाग अध्यात्मतर्फको समेटेका छौँ भनेर हिसाबकिताब गर्नै पर्दछ । जे होस् हामीहरू आफ्नो शरीरभित्र रहने चित्त वा आत्माको अनुभूति गरेका छौँ कि छैनौँ ? वा सो का लागि चासो राखेका पो छैनौँ कि !

मानिसको जीवनमा कति स्वतन्त्रताको प्रयोग गर्ने र कति अनुशासन कायम हुनुपर्दछ भन्ने कुरामा उचित सन्तुलन अपेक्षित हुन्छ । सही कुरामा र मात्रामा अनुशासनसहितको ज्यादा स्वतन्त्रता भए मात्र काम राम्रो बन्ने देखिन्छ । लगानीको कुरामा होस् वा कामको लागि स्वायत्तताको कुरामा किन नहोस् स्वतन्त्रताको अंश बढी हुनुपर्दछ भने कानुन वा मापदण्डको माध्यमबाट निश्चित अनुशासनको घेरा तयार हुनुपर्दछ । यसलाई थप प्रस्ट पार्नका लागि अनुशासन र स्वतन्त्रता भनेको जमिन कति राख्ने र कति पर्खाल वा गेट लगाउने भनेजस्तै हो । अवश्य पनि कुनै व्यक्ति वा संस्थाको जग्गा प्रयोगका लागि केही मात्र क्षेत्र कम्पाउन्ड वालले लिन्छ भने मुख्यगरी कुन प्रयोजनका लागि प्रयोग हुने हो सो मा लगाइएको हुन्छ ।

भनिन्छ कि मन चंगा त लोटामा गङ्गा । हुन पनि हो दिमागसँगै मन वा चित्त पनि उत्तिकै जिम्मेवार हुन्छ हामीलाई खुसी राख्नका लागि । यति मात्र हैन हाम्रो आत्मा पनि हलुका हुनु जरुरी छ । अर्को के पनि भनिएको छ भने मनमा सहजता, हृदयमा प्रेम र कर्ममा पवित्रता हुनुपर्दछ । आफ्नो मन र चित्त के कस्तो छ ? सन्तुलित छ कि छैन ? भड्केको छ कि छैन ? सो कुराको निरीक्षण वा परीक्षण गर्ने प्रथम कर्ता हामी आफै हौँ अरू कोही आइदिएर जादु गर्ने वाला छैन ।

भनिन्छ कि वास्तविक प्रेममा निर्जीव वस्तुहरू पनि जीवित जस्तै बन्दछन् । ढुङ्गा र रुखहरूले समेत हामीसँग सम्वाद गर्दछन् । मात्र जरुरी छ प्रेमको शाश्वत चिन्तन र अभ्यास । यदि हामीहरू निष्काम भएर खुला हृदयले चिन्तन गर्‍यौँ भने कुनै चिज अप्रिय लाग्दैन । कुनै चिज खराब लाग्दैन । मात्र कर्ताको रूपमा कसैले गरेको व्यवहार खराब लाग्न सक्छ । नमिलेको लाग्न सक्छ ।

यो संसारमा काम गर्दा गल्ती वा त्रुटि नै हुँदैन भन्ने छैन । तथापि गल्तीबाट सिक्ने र पुन: उही गल्ती नदोहोर्याउनु नै बुद्धिमानी हो । भनिएको छ कि मृत्युको भयले जीवन रक्षा गर्छ भने गल्तीको भयले सही कार्य गराउँदछ । व्यक्तिमा जिद्दिभाव हैन, स्वीकार्यभाव आवश्यक पर्दछ । गल्तीको सफाइ दिनका लागि समय खर्च गर्नुको सट्टा केवल स्वीकार गरेर अगाडि बढ्नुपर्दछ ।

जीवन समग्रमा एक युद्ध हो । व्यक्ति जीवनमा अरूसँग मात्र हैन आफैसँग पनि ठुलो युद्ध लडिरहेको हुन्छ । जस्तो कि डाक्टरहरू रोग विरुद्ध लड्छन्, वकिलहरू अन्याय विरुद्ध र शिक्षकहरू अज्ञानता विरुद्ध । आ-आफ्नो क्षेत्रअनुसार लडाइ लड्दा मात्रै उपलब्धि भएको महसुस हुन्छ, यदि लड्ने इच्छा त्याग्यौँ भने निराशा छाउँछ । तसर्थ अर्थपूर्ण युद्धका लडाकु बन्नुपर्दछ र विजय हासिल गर्नुपर्दछ ।

व्यक्ति आफूले देखेको बुझेको जानेको कुरा कत्तिको प्रयोग गर्दछ अनि कत्तिको होस पूर्वक कर्म गर्दछ, यसको विशेष महत्त्व रहने गर्दछ । अनुभवले देखाएको छ कि ज्ञान वा सजगताले दुखलाई आत्मातर्फ बढाउँछ । ज्ञान नहुँदा त्यही दुख धेरै गुणा विस्तार हुन्छ र कहिल्यै पूर्ण हुँदैन । यसका साथै तप, वैराग्य र शरणागतिले हाम्रो मनलाई शुद्ध गर्छ र आनन्दित बनाउँछ ।

मन मिल्ने वा साच्चिकै साथी हुनका लागि नजिक रहिरहने गुणहरू आवश्यक पर्दछन् । घनिष्ठता छुटाउने केही कारणहरू भनेका हठ वा अहङ्कार, आकाङ्क्षा वा चाहना, असंवेदनशिलता, मूल्याङ्कनयुक्त धारणा, घनिष्ठतालाई महत्त्व नदिनु, आफूमा वा अरूमा अपूर्णता देख्नु, असन्तुष्टि वा कृतज्ञताको अभाव र विवेक एवं वैराग्यको अभावले नजिक भएका नाता सम्बन्ध र व्यक्तिहरू पनि क्रमशः टाढिन पुग्दछन् । संयोजन भन्दा पनि वियोजन वा विखण्डन गर्ने क्रियाकलापले सम्बन्धलाई बनाउने नभै बिगार्दछन् । व्यक्तिको एउटा राम्रो काम वा एउटा नराम्रो कामकै भरमा समग्र मूल्याङ्कन गरी धारणा बनाउनु गलत हुन्छ । असल पक्षको वढावा गर्नका लागि समेत गलत पक्षको पहिचान र चिरफार आवश्यक छ ।

प्रेम तीन प्रकारको हुन्छ : आकर्षणले पैदा हुने, सुविधाको कारणले उत्पन्न हुने र दिव्यताप्रति जागृत हुने । तर के हामी साँचो प्रेम अर्थात् दिव्यताप्रति जागृत भएको प्रेम गरिरहेका छौँ त ? यो नै अहम प्रश्न हो । अर्कोतर्फ हामीले के कस्तो चाहना राख्दछौँ हामी त्यस्तै बन्न पुग्दछौँ । भनिएको छ कि आरामको चाहनाले अल्छी, पूर्णताको चाहनाले क्रोधित र धनी हुने चाहनाले लोभी बनाउँदछ । आदर्श जीवन कस्तो हुनुपर्दछ त भनेर गुरुहरूलाई प्रश्न गर्दा कामनारहित सेवा बुद्धिरहित ज्ञान निष्काम प्रेम काल र घटनाभन्दा परको जीवन नै तिमी हुनुपर्दछ भनेर भनिएको छ ।

उच्च सजगताका लागि प्राण शक्ति आवश्यक छ । प्राण शक्ति बढाउने उपायहरू भनेको उपवास बस्ने चिसो पानीले स्नान गर्ने पूर्ण विश्राम गर्ने किर्तन वा जप गर्ने प्राणायाम क्रिया र ध्यान गर्ने दाताभावरहित दान र कर्ताभावरहित सेवा गुरुको सानिध्यता र मौन हुन् । यी सबैको समष्टि भनेकै यज्ञ हो ।

हामीहरू यो संसारलाई अर्थपूर्ण बनाउनका लागि निरन्तरको साधना गर्न जरुरी छ । साधना सफल हुनका लागि मानवमात्रको ह्रदयभाव असल हुन जरुरी छ । असल साधकका ६ लक्षण हुने भनिएको छ : कम जान्दछु वा जान्नुपर्ने कुरा धेरै छ भनेर मान्नु । केही सिक्ने चाहना । अनिर्णयात्मक भाव र खुला मन । आफ्नो पथप्रति पूर्ण श्रद्धा । सत्य र सेवालाई सदैव सुखलाईभन्दा प्राथमिकता दिनु । धैर्यपूर्वकको प्रयत्नशिलता ।

शिक्षाका पाँच पक्षहरू जानकारी, धारणा, प्रवृत्ति, कल्पना र स्वतन्त्रताको समुचित प्रयोग भएमा मात्र जीवनमा शिक्षाको सकारात्मक प्रभाव पर्दछ । यदि कुनै लेभलको ज्ञान प्राप्त गरेपछि कुनै व्यक्तिले आफूलाई विशेष हुँ भन्ने भाव दिन्छ भने जीवनमा समाहित हुँदैन भने जीवनमा आनन्द ल्याउँदैन भने र मुक्त गर्दैन भने ज्ञान फगत बोझ हो । ज्ञानलाई बोझपूर्ण बनाउने कि नबनाउने भन्ने छनौट हामीले गर्नुपर्दछ, आफ्नै मनलाई सोधेर गर्नुपर्दछ ।

हाम्रो मन विभिन्न परिस्थिति र अभ्यासको दास हो । मनलाई प्रभावित पार्ने ५ तत्त्वहरू : स्थान, समय, आहार, पूर्व संस्कार तथा संगति र कार्यहरू । यी तत्त्वहरूको संयोजन जहाँसम्म असल र उचित कायम गर्न सकिन्छ त्यति हदसम्म मात्र हाम्रो मन असल स्थानमा बस्दछ ।

जीवनलाई उर्जावान बनाउने भनेको हामीमा उत्पन्न हुने भावना र कामप्रतिको सक्रियताको उचित संयोजनको विषय हो । हामीमा जागृत हुने इच्छा, कार्य र सजगता मध्ये एक समयमा कुनै एउटा चीज प्रबल रहन्छ । इच्छाहरूको सूचि लामो बनाइयो भने प्राप्ति कम हुन्छ जसले नैराश्यता ल्याउन सक्छ । तसर्थ कम अपेक्षा र बढी प्राप्तिबाट खुसी रहने बाटो अपनाउनुपर्दछ । इश्वरमात्रको अनुभूति ल्याउनु र उनीमा भएका गुण अरूमा अनुभूत गर्नु जरुरी छ । भनिएको छ कि स्वयंमा ईश्वरलाई देख्नु ध्यान हो, अरूमा ईश्वरलाई देख्नु प्रेम हो र सर्वत्र ईश्वरलाई देख्नु ज्ञान हो । प्रेमको अभिव्यक्ति सेवा हो, आनन्दको अभिव्यक्ति मुस्कान हो, शान्तिको अभिव्यक्ति ध्यान हो, ईश्वरको अभिव्यक्ति सचेत कार्य हो । सचेत कार्यका लागि हाम्रो हरेक कार्य होसपूर्वक हुनुपर्दछ र अन्तर्मनलाई सोधेर मात्र गरिनुपर्दछ अर्थात् बाह्य मात्र हैन आन्तरिक यात्रा समेत आवश्यक पर्दछ ।

आध्यात्मिक ज्ञान आर्जन नगरी व्यक्ति शान्त र धैर्यवान् रहन असंभवप्राय छ । आध्यात्मिक पथ भनेको सेवा, साधना र समर्पणको पथ हो । जब अरूलाई दिनमा व्यक्ति खुसी हुन थाल्दछ तब उसले आफ्नो स्वार्थलाई तिलाञ्जली दिएर अरूको खाँचो पूरा गर्ने साधनामा तल्लीन हुन्छ । खुसीको स्रोत आफूभित्रै भेटिन्छ न कि बजारमा वा कथित स्वर्गमा । हामी मौन हुन र मनलाई अध्ययन गर्न सक्नुपर्दछ । भनिएको छ कि तिम्रो आत्मा मौनको सघन अवस्था हो । यही सघन मौन नै साँचो विवेक र ज्ञान हो । विवेकयुक्त ज्ञान साधनाबाट प्राप्त हुन्छ र यस्तो ज्ञान जुन कुनै कानुन र विधिभन्दा उच्च हुन्छ ।

कडा मिहेनतभन्दा पनि बुद्धिमत्तापूर्वक मिहेनत भन्ने नयाँ मान्यतालाई वास्तविक जीवनमा अवलम्बन गर्नु जरुरी छ । त्यति मात्र हैन व्यक्तिगत जीवन र व्यावसायिक जीवनका आवश्यकताहरूबिच सन्तुलन कायम गर्न समेत अभ्यासको खाँचो पर्दछ । जीवन जिउने कला अर्थात् आर्ट अफ लिभिङले यी विषयहरूलाई सम्भव तुल्याइदिन्छ । क्षमाशिलता, जागरुकता, आत्मीयता, सामूहिक जिम्मेवारी नेतृत्वककलाको विकास गर्नु अहिलेको आवश्यकता हो, जुन कुरा यो मार्गले पूरा गर्ने देखिन्छ । यस्तो कलाको विकासका लागि पनि व्यक्तिको आन्तरिक पक्ष वा चित्त वा ह्रदयको कुरा अध्ययन गर्ने सीप वा कौशल पनि आवश्यक पर्दछ ।

योगाभ्यासमा सुदर्शन क्रियाको विशेष महत्त्व रहने गर्दछ । सुदर्शन क्रियाले मन र शरीरलाई एउटै लयमा आबद्ध गरिदिन्छ । स्वास्थ्य सुधार, आनन्द, एकाग्रता, उत्साह तथा सुमधुर सम्बन्ध विकास आदि सुदर्शन क्रियाबाट हुने परिणामहरू हुन् । भित्री यात्रालाई सफल तुल्याउनका लागि शारीरिक अवस्था स्वस्थ र मानसिक अवस्था सन्तुलित हुनु जरुरी छ । प्रमुख कुरा त अरूलाई हेर्ने वा व्यवहार गर्ने कला विकासको लागि सर्वप्रथम आफू नै जीवन र जगत् तथा आफ्नो उपस्थिति सम्बन्धमा भित्रैदेखि प्रस्ट हुन जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस