आइपीयुमा सभामुख महराको सम्बोधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आइपीयुमा सभामुख महराको सम्बोधन


२५ चैत्र २०७५, सोमबार


दोहा । सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपीयू) को १४० औं सभालाई सम्बोधन गरेका छन् । आइपियूको सभामा सभामुख महराले ‘संसद शान्तिका लागि शिक्षा, सुरक्षा र कानुनी शासन सुदृढ गर्ने मञ्च ‘ विषयमा केन्द्रित रहेर सम्बोधन गरेका हुन् ।

सोमबार सभालाई सम्बोधन गर्दै सभामुख महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार, समानता र कानुनी शासनको संरक्षण र प्रवर्द्धन गर्दै आएको उल्लेख गरे ।

सम्बोधनका क्रममा सभामुख महराले आइपीयूले शान्ति स्थापना र प्रजातान्त्रिक परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले राजनीतिक नेतृत्व र विधायकहरुले आफ्ना देशका विशिष्ट आवश्यकता र विकासको अवस्थालाई ध्यान दिँदै उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिए । साथै सकारात्मक परिवर्तनतर्फ जनप्रतिनिधिहरुको संस्थाको रुपमा रहेको संसदले भूमिका खेल्नेसमेत बताए ।

नेपालले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा पहिचान गरेको भन्दै महराले द्वन्द्व र संकटको समयमा बालबालिकाको शिक्षाको अधिकार कुण्ठित हुनबाट जोगाउने प्रयास गरिएको स्पष्ट पारे ।

उनले सन् २०३० सम्म नेपालले आम नागरिकको न्यून आयबाट मध्यम आयमा रुपान्तरण गर्ने लक्ष्यमा शिक्षालाई प्राथमिकता दिइएको बताए ।

विद्यालय क्षेत्र सुधार योजनाले सबै बालबालिकालाई विभेद नहुने गरी सुरक्षित वातावरणमा सिकाइको अवसर प्रदान गर्ने लक्ष्य लिएको भन्दै सभामुख महराले शिक्षा र सचेतना अभिवृद्धि गर्ने कार्यमा सरकारी संयन्त्र मात्र नभइ अन्य सरोकारवाला र साझेदारहरु समेत लागिपरेको बताए ।

उनले ‘महिला, अल्पसंख्यक वर्ग र अन्य सीमान्तकृत समूहलाई न्याय सुनिश्चित गर्न सरकार र समाजका अन्य क्षेत्रको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै गरिबी, असमानता र असुरक्षाको विरुद्ध लड्न र सांस्कृतिक, धार्मिक तथा वैचारिक विविधताप्रति सहिष्णुता र सम्मान कायम गर्न शिक्षा शक्तिशाली साधन भएको बताए ।

आइपीयूको सभामा गरिएको छलफलले शान्ति र सुरक्षासहितको समतामूलक र न्यायिक समाज निर्माणमा जनप्रतिनिधिहरुको योगदान थप स्पष्ट हुनेमा उनले विश्वास व्यक्त गरे ।

चैत २३ गतेदेखि शुरु भएको आइपीयूको १४० औं सभामा १६७ देशका १ हजार ६ सय प्रतिनिधिहरु सहभागी छन् ।

कतारको दोहास्थित सेराटन होटलमा जारी सभामा विभिन्न अलग–अलग शेसनमा सभामुख, अध्यक्ष तथा सांसदहरुले विविध विषयमा छलफल गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस