अमेरिकी गृह सुरक्षा सचिवले दिइन् पदबाट राजीनामा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अमेरिकी गृह सुरक्षा सचिवले दिइन् पदबाट राजीनामा


२५ चैत्र २०७५, सोमबार


काठमाडौं । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी छन् ।

उनले राजीनामा दिनुको कारण भने खुलेको छैन । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘यस विभागमा सहयोगीहरुसँग रहेर सेवा, समर्पण र प्रतिबद्धताका साथ काम गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’

राष्ट्रपति ट्रम्पले निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् ।

उनले ट्वीट गर्दै निलसनको स्थानमा सीमा शुल्क तथा सीमा सुरक्षा आयुक्त केविन म्याकलेनन नियुक्त गरिएको जानकारी दिएका छन् ।

निलसनले ट्रम्प सरकारको विवादास्पद सीमा नीतिको बचाउ गरेको भन्दै आलोचना खेप्दै आएकी थिइन् ।उनी जनवरी २०१७ देखि ट्रम्प प्रशासनमा सामेल भएकी थिइन् । उनी पूर्व गृह सुरक्षा प्रमुख जोन केलीको सहयोगी थिइन् । जब केली ह्वाइटहाउसमा चिफ अफ स्टाफ बने तब निलसन गृह सुरक्षा उपप्रमुख बनिन् । एक वर्ष पछि उनले प्रमुखको जिम्मेवारी पाइन् ।

राष्ट्रपति ट्रम्पसँग उनको त्यति सम्बन्ध सुमधुर नभएको बताइन्छ । यद्यपि निलसनले सार्वजनिक रुपमा ट्रम्प प्रशासनको विरोध गरेको थाहा पाइएको छैन ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाको भ्रमण गरेको केही दिनमै निलसनको राजीनामा आएको छ ।

राष्ट्रपति ट्रम्पले प्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनका लागि मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने बताउँदै आएका छन् ।

अमेरिकामा लागुऔषध भित्राउने तथा अवैधरुपमा प्रवासी प्रवेश गर्ने काम एक वर्षभित्रै रोक्ने ट्रम्पले बताएका छन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस