दिगो विकास लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिगो विकास लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । खानेपानीमन्त्री बीना मगरले दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यले आगामी योजना तयार गरी अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई आज सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखलाई निर्देशन दिइन् ।

उनले खानेपानी र सरसफाइ जस्ता विषय जनताका मौलिक अधिकारका विषयसँग जोडिएकाले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औँल्याइन्। मन्त्री मगरले भनिन्, ‘मन्त्रालयको यो दोस्रो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन ।

हामीले लक्ष्य पूरा गर्न धेरै संघर्ष गर्नुपर्नेछ । सबै जनतालाई सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी अगाडि बढ्नुको विकल्प छैन ।’

बजेटमा निर्धारित योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी पूँजीगत खर्च बढाउनसमेत मन्त्री मगरले मन्त्रालय मातहतका निकायलाई निर्देशन दिइन् । मन्त्रालयको हालसम्मको भौतिक प्रगति करीब ६० प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङले पूँजीगत खर्च बढाउने गरी काम अघि बढाउन आग्रह गरे । सरकारको प्रमुख ध्यान दिगो विकासका लक्ष्य पूरा गर्नेतर्फ रहेको बताउँदै आयोगका सदस्य डा.गुरुङले लक्ष्य हासिल गर्ने गरी योजना तर्जुमा गरी आयोजना बैंकमा समावेश गर्न मन्त्रालयका विभागीय प्रमुखलाई निर्देशन दिए ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आगामी समीक्षा बैठकसम्ममा यस मन्त्रालयको भौतिक र वित्तीय प्रगति रफ्तारमा अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिए । सचिव शर्माले सिँचाइमा जस्तै जनताको मौलिक अधिकारको विषयसँग जोडिएको पम्पिङ प्रणालीमा आधारित खानेपानी आयोजनामा लाग्ने विद्युत् शुल्कमा सहुलियत दिनुपर्ने बताए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विभागको हालसम्म भौतिक प्रगति ७४ र वित्तीय प्रगति २९ प्रतिशत रहेको जानकारी दिए ।

महानिर्देशक दासले ३ वर्षभित्र आधारभूतस्तरमा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन पर्याप्त बजेटको आवश्यकता रहेको औँल्याए ।

उनले खानेपानीसँगै ढल प्रशोधन र सरसफाइका कार्यक्रममा समेत उत्तिकै ध्यान दिन जरुरी रहेको बताए । मन्त्रालयअन्तर्गत ३९७ वटा र प्रदेश सरकारअन्तर्गत चार हजार ५७ खानेपानीका आयोजना सञ्चालनका क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस