सभामुख महरा र कतारका उपप्रधानमन्त्री बीच शिष्टाचार भेट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सभामुख महरा र कतारका उपप्रधानमन्त्री बीच शिष्टाचार भेट


२४ चैत्र २०७५, आइतबार


कतार । कतारका उपप्रधान र सभामुख महराबीच भेटवार्ता भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद अब्दुलरहमान विन जस्सिनबीच दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता भएको हो ।

अन्तर व्यवस्थापिका संघ इन्टर पार्लियामेन्ट्री युनियन(आइपियू)को १४० औं सभामा सहभागी हुन सभामुख महरा कतार पुगेका हुन् ।

भेटवार्तामा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक सम्बन्धलागायत जनस्तरसम्म प्रगाढ रहेको बताए । उनले समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने उल्लेख गरे ।

दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्दै सभामुख महराले आफूहरुले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराए ।

उनले छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको बताए । नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै सभामुख महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरे ।

नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै सभामुख महराले परराष्ट्रमन्त्री अल थानीलाई नेपाल भ्रमणका लागिसमेत निम्तो गरे । साथै सो अवसरमा सन् २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटबलको सफलताका लागि शुभकामना पनि व्यक्त गरेका थिए ।

अल थानीले आइपियूको १४० औं सभाको सन्दर्भमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणले कतार–नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिलेको बताए ।

थानीले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे ।

कतारमा रहेका जनशक्तिको सुरक्षा, सुविधाका बारेमा आफूहरु सचेत रहेको थानीले स्पष्ट पारे ।

शिष्टाचार भेटवार्तामा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्यको तर्फबाट प्रतिनिधि सभाका सदस्यहरु शान्ता चौधरी, पुष्पा भुसाल, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, राष्ट्रिय सभाका सदस्य हरिचरण शिवाकोटी, संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, कतारस्थित नेपाली राजदूत रमेश कोइराला र सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस