मुआब्जा विवादले रोकियो सडक विस्तारको काम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुआब्जा विवादले रोकियो सडक विस्तारको काम


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । मुआब्जा विवादका कारण ललितपुरको सबैभन्दा व्यस्त सडक विस्तारको काम अघि बढ्न सकेको छैन ।

लगनखेलदेखि सातदोबाटोसम्मको सडकमा स्थानीयबासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक विस्तारको काम रोकिएको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतमात्रै काम भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेका कारण सडक निर्माण अघि बढ्न सकेको छैन । अदालतको अर्को आदेश नआउँदासम्म सडक विस्तारको काम अघि बढाउन नसकिने  आयोजनाले जनाएको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका अन्यत्रका सडकमा जस्तै उक्त सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका छन् । पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो नदिएको आयोजनाले बताएको छ । विद्युतको पोललगायतका संरचना हटाउन सकिएको छैन ।

त्यस्तै, स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम रोकिएको छ ।

उक्त सडकको निर्माण वि.सं. २०७३ जेठमा शुरु भएको थियो ।

पहिलोपटकको ठेक्का सम्झौताअनुसार वि.सं. २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो ।

ललितपुरमा पाँच सडकमा विस्तारको काम मुआब्जाकै कारण रोकिएको छ । उपत्यकाभित्र काठमाडौंमा पाँच र भक्तपुरको एक सडकमा विस्तारको काम शुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस