समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी मन्त्रालय फिर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी मन्त्रालय फिर्ता


२३ चैत्र २०७५, शनिबार


समायोजन

काठमाडौं । समायोजन भई स्थानीय तहमा कामकाजका लागि खटिएका कर्मचारी मन्त्रालय फिर्ता भएका छन् । सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी खटाएका कर्मचारीहरुलाई कतिपय स्थानीय तहले हाजिर गर्न नदिँदा मन्त्रालय फिर्ता भएका हुन् ।

सरकारले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर थिमी र भक्तपुर नगरपालिकामा समायोजन गरी पठाएका ३० जनाभन्दा बढी कर्मचारीलाई हाजिर नगराई मन्त्रालयमा फिर्ता पठाइएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराए पछि अन्य कर्मचारी पनि समायोजन भएका कार्यालयमा जान आनाकानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको संयोजकत्वमा रहेको कर्मचारी समायोजन निर्देशक समितिमा हाजिर नगराई फिर्ता पठाएका कर्मचारीको छुट्टै फाइल खडागरी पेश गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

हाजिर नगराउने कर्मचारीमा कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म छन् ।

सरकारले समायोजन गरी पठाएका दरबन्दीमा साबिक स्थानीय निकायका कर्मचारी कार्यरत नै रहेकाले दरबन्दीको अभावमा कर्मचारीलाई हाजिर गराउन नसकिएको काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर र मध्यपुर थिमी नगरपालिले जनाएको छ ।

सरकारले चैत दोस्रो साता तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरेको थियो । सरकारले स्थानीय तहको ६६ हजार ९०८ दरबन्दीमध्ये निजामती र साबिक स्थानीय तहका गरी ४३ हजार १४० कर्मचारी समायोजन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस