विशेष अधिवेशनको सामना गर्छु : सभापति देउवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विशेष अधिवेशनको सामना गर्छु : सभापति देउवा


२१ चैत्र २०७५, बिहिबार


नेपाली काङ्ग्रेस

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे ।

सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो भन्नुहुँदै तर आफूले केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताए ।

उनले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीका टिप्पणी नगर्ने प्रष्ट पारे ।

उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गरे ।

उनले संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको हैसियतले आफ्नो पनि सहमति लिनुपर्ने बताउँदै प्रतिपक्षबिनाको एक्लै नियुक्त गर्न पाइँदैन भने ।

उनले संवैधानिक परिषद्को बैठकमा आफूले चिठ्ठी लेखी आउन नसक्ने भएको हुँदा केही समयपछि गर्नु भनेकोमा एक पक्षीय ढङ्गबाट गरिएको नियुक्तिको विरोध गरेको बताए।

सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताए ।

वर्तमान समयमा नेका एकजुट रहेको बताउँदै उनले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे । (रासस)

Tags :
प्रतिक्रिया दिनुहोस