गुगलको सामाजिक सञ्जाल ‘गुगल प्लस’ बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुगलको सामाजिक सञ्जाल ‘गुगल प्लस’ बन्द


प्रशासन संवाददाता

१९ चैत्र २०७५, मंगलबार


काठमाडौं । गुगलको सामाजिक सन्जाल ‘गुगल प्लस’ मंगलबार बिहानबाट बन्द भएको छ । गुगलले आफ्नो इमेल एप इनबक्स पनि बन्द गरेको छ । प्रयोगकर्तालाई नोटिफिकेसन पठाएर यी विषयमा पूर्वजानकारी दिइएको थियो ।

फेसबुक र ट्वीटरलाई चुनौती दिने उद्देश्यले सन् २०११ मा गुगल प्लस खोलिएको थियो । यसमा अरु सामाजिक सन्जालमा जस्तै फोटो र टेक्स्टसेयर गर्न सकिन्थ्यो । तर, यसलाई प्रयोगकर्ताले सुरुदेखि नै मन पराएका थिएनन् । त्यसमाथि झन् यसका डाटाहरु चोरी भएको खुलासा भयो र गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो ।

त्यसअघि यसलाई जोगाउने उपाय गुगलले ननिकालेको होइन । युट्युबमा प्रतिक्रिया लेख्न गुगल प्लस एकाउन्ट हुनैपर्ने नियम बनाइयो । त्यतिमात्रै होइन, गुगल प्लसमा उपनाम राख्न बर्जित थियो । यो नियम उल्लंघन गरेमा जिमेल नै बन्द हुने व्यवस्था मिलाइएको थियो ।

तर, पनि यो प्रयोगकर्ताको रुचिमा परेन र आलोचनाबाट पनि मुक्त भएन । त्यसैले गुगल प्लस बन्द गर्ने निष्कर्षमा गुगल पुग्यो ।

गुगलले अब आफ्नो इमेल एपका खास विशेषतालाई जीमेल एपसँग जोड्ने छ ।

त्यसअघि गुगलले ३० मार्चबाट युआरएल शर्टनर सर्भिस बन्द गरेको थियो । सन् २००९ बाट सुरु भएको शर्टनर टुलबाट कुनै पनि लामो लिंकलाई सजिलै छोट्याउन सकिन्थ्यो । तर यसलाई पनि प्रयोगकर्ताले रुचाएनन् । सेवा बन्द गर्नुअघि गुगलले आफ्ना प्रयोगकर्तालाई एफडीएल, बिट्ली जस्ता लिंक शर्टनर टुल प्रयोग गर्न सुझाव दिएको थियो ।

गुगलका झण्डै एक दर्जन सेवाहरु असफल भएर बन्द भइसकेका छन् । गुगल बज, गुगल डिक्सनरी, गुगल ल्याब्स, पिकनिक, जाइकू, गुगल रिडर, अर्कुट, पिकासा, क्रोमबुक पिक्सेल, गुगल अल्लो लगायतका सेवा बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस