त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द रहने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द रहने


१९ चैत्र २०७५, मंगलबार


काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनका लागि १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल कालोपत्रे गर्न सुरु गरिएकाले सोमबारदेखि १० घण्टाका लागि बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

चालिस वर्षपछि पहिलोपटक पूर्णरुपमा कालोपत्रे गरिनलागेको विमानस्थलमा धावनमार्गसहित ‘ट्याकसी वे’ को कालोपत्रे सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

आइतबारसम्म बिहान ५ बजेदेखि राति ३ बजेसम्म २२ घन्टा सञ्चालन हुँदै आएको थियो । सोमबारदेखि बिहान ८ बजेदेखि राति १० बजेसम्म १४ घण्टा मात्र सञ्चालन हुनेछ । कालोपत्रको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुनेछ ।

प्रधिकरणले विमानस्थलको कालोपत्रे पुरानो भएकाले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै पूर्णरूपमा नयाँ कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

विमानस्थल कालोपत्रेका लागि गत पुसमा चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार ७० दिनभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि प्राधिकरणले तीन महिनाको समय उपलब्ध गराएको हो ।

कालोपत्रेको काम सुरु भएपछि आन्तरिक तथा बाह्य उडानको तालिकासमेत फेरिएको छ । विशेष गरी विहानको समयमा हुने उडानहरुको तालिका फेरिएको प्राधिकरणले जनाएको छ ।

बिहान काठमाडौंबाट लुक्ला उडान गर्ने सबै तालिका रामेछाप विमानस्थलबाट गर्ने गरी तालिका सारिएको जनाइएको छ ।

३ हजार ५० मिटर लम्बाइको धावनमार्गमा प्रत्येक दिन ७० मिटरका दरले कालोपत्रे हुनेछ ।

प्रतिक्रिया दिनुहोस